धन भन्ने कुरै कस्तो कस्तो, नभई नहुने, भएर पनि जोगाउन गाह्रो, छ सबैको प्यारो, छैन आफ्नाको पनि तारो, जीवन धनकै पछि दौडदा दौडदै मेटाउन पर्नी, धन भए आफन्त इष्टमित्र सबै परिपुरक नै बन्ने, समाज सारा उसैको पक्षमा, निर्णय जति धनकै शरणमा बास बस्ने, धन अनौठो, अजिव र अपार महत्वको सांसारिक तत्व रहेछ । धनले साराका सारा ऐश आराम, सहयोग, सद्भाव र सत्कार किनिन्छ । हुँदाहुँदा बाबुआमा, आफन्त र प्रेमिप्रेमिकाको मायासमेत किनिने, के धन यी सबै सबैको पर्याय हो ? म छक्क पर्या छु ।
शब्दकोषले वस्तु विनिमय गर्ने प्रमुख साधन मान्या छ । धनको पछि लाग्नु हुँदैन । सत् कर्म गर्नुपर्छ । धनको मुख कालो हुन्छ भनेर जत्ती रटाए पनि आफैं धनको पछाडि दौडिएका परमात्माहरु देख्दा अनौठो लाग्छ । कसैले जीवनमा इमान ठूलो भन्छन् । कसैले विद्या, धनै ठूलो हो भनेर व्याख्या गर्ने मदिरा पान गरेका जड्याहा मात्रै भेटे । जस्ले जत्तिसुकै दर्शन दिए पनि धन बिना न कोहि हाँस्न सक्छ न कोहि बाँच्न नै, तसर्थ यो एक्काइसौं शताब्दीमा महत्वपूर्ण र गौरवशाली तत्व बन्न सफल भएको छ । यसलाई परिश्रमको मुल्य भनौं या, पुँजी, मूल्यवान् पदार्थ भनौं या जग्गा जमिन, गरगहना, इमान, कृति र ख्याती जे भने पनि जस्तो परिचयले बुझाए पनि सम्पत्ति भन्या सम्पत्ति हो । यसर्थ पनि मानव जीवनको अपरिहार्य तत्व धन बन्या छ । धनकै आडमा मानिसले अनगिन्ती खुशी पाएको छ । सबै आवश्यकताको चित्त बुझाएको छ ।
यो ब्रह्माण्डमा मानिस मात्रै यस्तो प्राणी हो । जस्ले धन देखेपछि संसारका सबै खुशी र सुख परित्याग गर्छ । जत्तिसुकै अप्ठ्यारो परे पनि धनको पिछा छोड्दैन । हुनतः धन देखेपछि देवाधिदेव महादेवका पनि तेस्रा आँखा खुल्छन रे । अब अरुको कुरै छाडौं । धनको अपेक्षा नगर्ने व्यक्ति यो भुमण्डलमा छैनन् । त्यसैले सबै मानिस धनकै सहजकर्ता बनेका हुन्छन् । संसार सबै धनकै पारखी, परिचित अपरिचित, आफन्त र साथीभाई जुधाउने पनि धन, यो धन भन्ने चिजै नहुँदो हो, त पृथ्वी कस्तो हुन्थ्यो होला ?
पहिले पहिले विद्याले मानिस सम्पन्न हुन्थ्ये । ‘पुस्तक बिनाको कोठा आत्मा बिनाको शरीर जस्तै हुन्छ’ भन्थे ‘विद्या धनं सर्व धनम् प्रधानम्’ भनेर विद्यालाई नै सबैभन्दा ठूलो धन मान्थ्ये । विद्वान व्यक्तिको चारैतिर प्रशंसा गरिन्थ्यो । तर अहिले जो संग धन छ । उसैले शासन गर्छ । न्यायालय उसैको पञ्जामा रहन्छ । ‘जहाँ धनको बोलवाला चल्छ त्यहाँ सत्य शिर निहुँराउँछ ।’ भन्या झै यहाँ धनका अगाडि सत्य मौन रहने परिवेश छ । देशमा सबै आफ्नै आफ्नाको राज चल्छ । कोहि मानिसको धरातल कसैलाई थाहा हुँदैन । धनले नै शुद्ध हुने, निर्धनी युवाहरुले सम्मान नपाएर विदेशिएका होलान् । नीतिशास्त्रले ‘जुन देशमा सम्मान हुँदैन त्यहाँ एकछिन पनि नबस्नु’ भन्ने प्रस्तुती राखेको छ । त्यो नियम अहिले नेपालमा लागू भएको छ ।
धन कै परिचयमा हाम्रो नजिकको संसार हेरौं, बच्चाको जन्मदेखि धन, बच्चाको भरणपोषण र संरक्षणमा धन, न्वारनदेखि मृत्युपर्यन्त धन महत्वपूर्ण हुन्छ । बिना धन न पास्नी न जन्मोत्सव हुन्छ । ब्रतबन्ध, विवाह, सन्तान प्राप्ती, चाडपर्व, रितिरिवाज र परम्परा थाम्नै पर्यो । सन्तानलाई शिक्षादीक्षा दिनै पर्यो । अनेकौं खुशी र प्रसन्नताका भावहरु किन्नै पर्यो । साराकासारा काममा धन पैसाले वर्चस्व गरिरहँदा पनि मानिसले किन विकल्पको खेती गरेर बसिरहेका छन् ? किन भ्रम छरिरहेका छन् ? शिक्षाको महत्व बुझाउन हरपल प्रयत्न गर्ने गुरुजनका महान वाणीहरुलाई चुहिने घरको धुरीबाट कुरिकुरी गरे जस्तो लाग्छ ।
जति पढ्छौँ, जत्ती बढ्छौँ, सबै धन कै लागि हो । जीवनमा जहाँ गए पनि, जत्ती दर्शन छाटे पनि, धन बिना हातमुख जोर्ने कल्पना नगरे हुन्छ । जीवनमा कहिल्यै ढाट्छल गर्नु हुन्न, धन भनेको हातको मयल हो । कहिल्यै लोभ गर्नु हुँदैन, धनको पछि लाग्यो भने मति भ्रष्ट हुन्छ भन्ने सन्तहरुका भनाइहरु अहिले आएर उल्टो भए जस्तो लाग्छ । म धन नभएर भ्रष्ट बाटोमा लागेका हजारौं मानिसहरुको भिडमा छु । ती भरपुर सम्पत्ती कमाएर प्रवचन दिन थालेका गुरुको सिद्धान्त कस्ले सुन्ने ? यहाँ भोकले छटपटिएका सन्तानको चित्कार छ । जस्ले सत् कर्मका लागि कहिल्यै बाटो पाएनन् । यो पापी र स्वार्थी शरीरका दर्जनौं इच्छाहरु पूरा गर्न म जस्ता लाखौं युवाहरू विश्व ब्रह्माण्डमा सिँगौरी खेलिरहेका छन् । के ति शरीरले सुख पाउलान् ? के उनीहरुका इच्छाहरु फक्रिएलान् ? फेरि सोचिरहे छु जीवन धनबिना चल्थ्यो भने कस्को पो अस्तित्व रहन्थ्यो होला र ?
पहिलेका मानिसले लक्ष्मीको उपासना मज्जाले गर्थे । बिहे गरेर ल्याएकी बुहारी लक्ष्मी, छोरी जन्मिए लक्ष्मी भनेर पुजा गर्थे । तर अहिले चाडवाड आए लक्ष्मी, काम धन्दा गर्नुपरे लक्ष्मी, सबै सबै कार्यका लागि पैसै अघि लाउनु पर्ने त्यसैले पैसा महत्वपूर्ण छ ।
म सानो छदा एक पटक बाबासंग पोखरा गएको थिए । कुश्मबाट पोखराको गाडीमा चढ्यौ । चुवाबाट बसमा चड्नु भएको एकजना वृद्धले तोकिएको भाडादर भन्दा कम भाडा दिएर अरु छैन भन्दा गाडी साहु भनौं या कन्टक्टरले पातिचौरमा ओरालेको थियो । त्यत्ती बेला त्यो दृश्य देखेको मलाई किन पैसा ठूलो भन्ने लागेन ?
उमेर बढ्दै जादा आवश्यकताहरु थपिदै गए । म अभावको बिचमा बाँची रहे । सधैँ छैन । म यो किन्न, खान, लाउन, दिन र आफ्नो बनाउन सक्दिन । किनकी मसंग पर्याप्त रुपैयाँ छैन, भनेर परम्परागत प्रवृत्ती अङ्गालेको मलाई किन कसैले धन ठुलो हो भन्दिएनन् ? किन धन ठूलो भन्ने लागेन ? जीवन भरी रगत र पसिनासंग खेल्नु भएको बाबाले किन परिवारको खुशी किन्न सक्नु भएन ? आफू सधैं धनको लागि काम गर्ने उहाँले किन विद्या ठूलो भनेर ढाट्नु भो ? हिजोआज पढाइ नै सर्वोपरि हो, भनेर दर्शन दिने गुरुहरुका महान वाणीहरुलाई बर्खे भेलले बगाए जस्तो लाक्छ । यत्तिका भाव सङ्गालेर अनुभवी भएको म अझै सुध्रिएको छैन ।
पल्ला घरे काकाले साउदीमा दुख गरेर पठाएको पैसा किन सन्तानको पढाइमा लगानी गरेका होलान् ? विद्याले सबथोक पाइन्थ्यो भने काका किन सर्टिफिकेट छोडेर विदेशिए ? काकीले किन क्याम्पसबाट चारित्रीक प्रमाण पत्र नझिकेकी ?
स्कुल पढ्दा धेरै वादविवादमा सहभागी भइयो । बढाबढा पुस्तक घोकियो ‘तरवारभन्दा कलम ठूलो’ भनेर गाउँ नै उचालियो । २/४ ठाउँमा पुरस्कार नै थापियो । धनभन्दा विद्या ठूलो त प्रतियोगितामा मात्रै हुँदो रहेछ । पुरस्कार किन्नलाई त धनै चाहिदो रहेछ । तरबारको काम कलमले कहाँ गरोस् । तरबार र कलमलाई दाज्नै नमिल्ने रहेछ । एउटा अनिवार्य र वैकल्पिकलाई कसरी दाज्नु ? जीवन भर कलम नभेटेकाले जिन्दगी बिताए । कर्मको फुटानी गरे । कोहि टाठा भए कोहि लाटा, शिक्षित र अशिक्षितको के मतलब धन भए चोखो र राम्रो नभए कुरुप, यहाँ त्यस्तै त्यस्तै छ ।
धन आखिर धनी नै रहेछ । धन बिना कोहि ठूलो र सम्पन्न हुन नसक्ने अवस्था आएछ । त्यसैले धन नभएको मानिस परिचयविहिन हुन पुगेको रहेछ । त्यो म आफैले भोगेको छु । उमेरले औसत जीवनको पुर्वार्ध समय व्यतीत गरिसक्दा पनि कहिल्यै बुद्धि फिरेनन् । धनका पछि कहिल्यै लागिएन ।
‘सादा जीवन उच्च विचार’ भनेर ठुल्ठुला विचार राखियो ।
‘पढेर ठूलो बन्नुपर्छ’ भन्ने, महान उक्तिलाई चौबीसै घण्टा स्मरण गरियो । उमेरले ठूलो बनायो । हातखुट्टा पाका भए, दाह्ीकपालले रुप परिवर्तन गर्ने तरखरमा लागे । लाखौंका कपडा ज्यानले फटाल्यो । तर मेरो जीवनस्तर कहिल्यै परिवर्तन भएन । त्यसैले त जीवनमा पछुतो शिवाय केही बचेन ।
विद्याकी देवि सरस्वती हुन् भनेर पुजा गरियो, मनमा राखियो, हरेक दिन बिहान जप गरियो, त्यत्ती गर्दा पनि नभएपछि घरमै मन्दिर बनाइयो । वर्षौ पुजा गर्दा पनि उनले देखिन् देखिनन् थाहा भएन तर मैले कहिल्यै देखिन । संसारको सबैभन्दा ठूलो चिज विद्या हो भनेर रातदिन रटान लगाइयो । पढ्दापढ्दै ब्रम्हा र पृथ्वीको उत्पत्तिमा पुगियो । तर पनि जीवनमा उहीँ दुख, उहीँ निराशा र उहीँ परिबन्धको फन्दामा परिरह्यो । त्यसैले त यो जिन्दगीदेखि, यो देशदेखि, यो नियती अनि नियमदेखि दुख लागेर आउँछ ।





