बेनी /म्याग्दीको बेनी नगरपालिका वडा नं –४ स्थित थामडॉडा सामुदायिक वन देशभरकै उत्कृष्ट सामुदायिक वन घोषित भएको छ । सामुदायिक वन दिवसको अवसरमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा दोस्रो पुरस्कार प्राप्त गरेको हो ।
देशभरका २२ हजार ५ सय सामुदायिक वनहरूमा थामडॉडा सामुदायिक दोस्रो भएको डिभिजन वन प्रमुख मनोज रानाभाटले जानकारी भने । ‘यो म्याग्दीका लागि खुसीको खबर हो, हरेक सामुदायिक बन नमूना बनाउनुपर्छ,’ प्रमुख रानाभाटले भने । । सो समूहले नगद रु ७५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यसबीच सोही अवसरमा डिभिजन वन कार्यालय म्याग्दी सम्मानित भएको छ । वन तथा भूसंरक्षण विभागले डिभिजन वन कार्यालय म्याग्दीलाई बिहीबार सम्मानित गरेको हो ।
वनको संरक्षण, सम्बर्धन,दीगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा वन उपभोक्ता समूह परिचालनमार्फत् उत्कृष्ट ढंगले कार्य सम्पादन गरी आर्थिक वर्ष २०९०÷८० मा जिल्लाअन्तर्गतका समूहलाई पुरस्कृत गराउन भूमिका खेले बापत डिभिजन वन कार्यालयलाई सम्मानित गरिएको हो । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा डिभिजन वन प्रमुख रानाभाटलाई सम्मान पत्र प्रदान गरिएको छ । डिभिजन वन कार्यालयले लगातार उत्कृष्ट सम्मान पाइरहेको छ ।





