पोखरा/ संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरा उपत्यकाबीचको दूरी २ सय किलोमिटर रहेको छ । काठमाडौं र पोखरालाई पृथ्वी राजमार्गले जोड्छ । राजमार्गको अवस्था सामान्य हुँदा यो दूरी सार्वजनिक यातायातको साधनले ६ घण्टामा छिचोल्थे । तर,अवस्था त्यस्तो छैन । अहिले यो दूरी छिचोल्न झण्डै १२ घण्टा लाग्छ । बर्खा लागेर हैन, राजमार्गको स्तरोन्नतिको क्रममा उत्पन्न अवरोधले यो अवस्था आएको हो ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा स्न १९६७ मा निर्मित सडक खण्डमध्ये मुग्लिन–पोखरा सडक खण्डको स्तरोन्नतिको काम थालियो । एसियाली विकास बैंकको तर्फबाट १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध भएसँगै नेपाल सरकार थप ५ अर्ब ९० करोड लगानी गर्न तयार भयो । कुल ८४३ मिटर लामो मुग्लिन–पोखरा सडक खण्डलाई ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन गुडाउन मिल्ने गरी ४ लेनको सडकको ठेक्का दुई चिनियाँ कम्पनीले पाए ।
मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भयो । २०८१ साल वैशाखसम्म निर्माण सक्ने प्रतिवद्धतासहित कम्पनीले २०७८ साल वैशाख २ गतेदेखि निर्माण कार्य सुरु ग¥यो ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले पायो । २०७८ जेठ २ गते सात अर्ब ४० करोड ४६ लाखमा गरिएको सम्झौताको म्याद २०८१ साल भदौसम्म कायम गरिएको छ । तर, सम्झौता अनुसारको समयावधि नजिकिँदै गर्दा पनि निर्माणले गति लिन सकेको छैन । पूर्वी खण्डमा ३१.५ र जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा लगभव ५ प्रतिशत प्रगति भएको मुग्लिन– पोखरा सडक परियोजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनियर सीडीइ नरेन्द्र सुवेदीको भनाइ छ ।
निर्माणले गति नलिँदा यात्रुले पाउने सास्ती छ छँदैछ, ढुवानीमा लागत पनि बढेको छ । यसको प्रत्यक्ष मार पोखरा र समग्र गण्डकीले भोगिरहेको यस क्षेत्रका व्यवसायीहरुले गुनासो गरिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघले गण्डकीका उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्रीलाई भेटेर राजमार्ग स्तरोन्नतिको गति बढाउन माग गरेको छ भने पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले राजमार्गको अवलोकनसहित समस्या समाधानमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग पु¥याउने, काठमाडौं–पोखराको यात्रा अवधि छोट्याउने र यो क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि कोषेढुंगा सावित हुने अपेक्षासहित सुरु भएको निर्माणले गति नलिँदा पोखराको पर्यटन उद्योग नै धरापमा परेको छ ।
‘सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक पक्ष हुँदाहुँदै पनि निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तार कार्यबाट सेवाग्राहीले थुप्रै कठिनाइ र झन्झटहरु भोग्दै आउनु परेको छ,’ साउने झरीबीच नै तनहुँको दमौलीमा आइतबार आयोजित पत्रकार सम्मेलन तथा छलफल कार्यक्रममा उनले भने,‘समयमा बाटो नबन्दा निजी क्षेत्रले बिक्रीयोग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको छ । भूकम्प र नाकाबन्दीपछि कोभिड– १९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिसाप बन्न पुगेको छ ।’
सडक सञ्जालको दुरावस्थाले औपचारिक रुपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि नकारात्मक असर परेको पनि उनले बताए । मुग्लिन–पोखरा सडक खण्डको विस्तार र स्तरोन्नति पर्यटन व्यवसायीहरुको मुख्य चासो रहेको बताउँदै उनले सडक विस्तारको शैली परिवर्तन गर्न, एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारी साधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न र विभिन्न सिफ्टमा काम गर्नुृपर्नेमा पनि जोड दिए । ‘संभव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरुको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके झनै उत्तम हुने थियो,’उनले भने ।




