सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरामा किन हुन्छ शालिक राजनीति ?

पोखरामा किन हुन्छ शालिक राजनीति ?

पृथ्वीनारायणको प्रतिमा हटाइएकोमा तीव्र रोष,कांग्रेसको आपत्ति,राप्रपा सडकमा ।


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

पोखरा/ केही दिनयता पोखराको पृथ्वीचोक शान्त छैन् । दिनहुँजसो आन्दोलन भइरहेको छ । सातायता चर्किएको आन्दोलनले राष्ट्रिय रुपमा नै तरंग पैदा गरेको छ ।धेरैलाई थाहा नहोला, पृथ्वीचोकमा देखिने मूर्ति पृथ्वीनारायण शाहको नभइ लखन थापामगरको हो । शाहलाई राष्ट्रनिर्माता भनिन्छ भने थापा चाहिँ नेपालको प्रथम शहीद हुन् ।यी दुईको नाममा विवाद गर्ने चाहिँ दुइथरी पक्षधरताका व्यक्ति र संस्था छन् ।

१० वर्षे सशस्त्र जनआन्दोलनताका पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक थियो । सशस्त्र द्वन्द्व सकिएर नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भएको कुरा अन्तरिम संविधान २०६३ को प्रस्तावनामा उल्लेख गरियो ।

त्यसपछि नै २०६४ साल वैशाख १८ गते मजदुर दिवस मनाउने क्रममा पृथ्वीनारायण शाहको शालिकमाथि फलामे हतियार बज्रियो । उनको शालिक ढालियो । शालिक तोडफोडपछि त्यहाँ अर्को शालिक उभ्याइयो । उक्त शालिक थियो, प्रथम शहीद लखन थापाको । त्यसपछि चोकको नाम नै लखनचोक तोकियो ।

तर, आजपर्यन्त लखन थापाको शालिक रहेको चोकलाई धेरैले पृथ्वीचोककै नामबाट चिन्छन । पृथ्वी राजमार्गले पोखरा जोडेपछि पृथ्वीनारायण शाहको शालिक बनाइएको थियो । तर, उक्त तोडफोडको एक दशकपछि पोखरा महानगरले पोखरा १८ जामुनबोटमा रहेको शहीद तथा विभूति पार्कमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक उभ्याएको छ । पृथ्वीचोकमा भने लखन थापाकै शालिक रहेको छ ।
लखनको शालिक हट्यो, फेरि ठड्याइयो

स्थानीय तहको पहिलो निर्वाचनपछि पोखरा महानगरपालिकाको मेयरमा चुनिएका थिए, नेकपा एमालेका मानबहादुर जिसी । कार्यपालिकादेखि नगरसभासम्म एमालेको एकल बहुमत थियो । जिसी नेतृत्वको पोखरा महानगरले २०७४ को असोज ९ गते मध्यरातमा थापाको शालिकमाथि डोजर चलायो । अघिल्लो दिनसम्म लखन थापाको शालिक देखेका पोखरेलीले असोज १० गते पृथ्वीचोकको संरचना नै फेरिएको देख्न पाए ।

जब शालिक गायब भयो, अनि सुरु भयो आन्दोलन । महानगरले थापाको शालिक हटाउनुको कारणबारे त्यतिबेला ट्राफिक कार्यालयले जवाफ दिएको थियो । लखन थापाको शालिकले ओगटेको आइल्याण्डका कारण सडक साँघुरो भएको हुँदा हटाइएको जानकारी ट्राफिक कार्यालयले जनाएको थियो ।

महानगरले पनि सडकको मापदण्ड अनुसार आइल्याण्ड साँघुरो बनाउन शालिक झिकेर सुरक्षित ठाउँमा राखिएको प्रष्टोक्ति दियो । तर, नेपाल मगर संघले अगुवाइ गरेको आन्दोलन चर्कियो । आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरुले शालिक निकालेकोमा भत्सर्ना गरे । आन्दोलन चर्किएपछि महानगर, जिल्ला प्रशासन कार्यालय र मगर संघबिच भोलिपल्ट नै १० बुँदे सहमति भयो । माफी माग्दै सोही ठाउँमा शालिक स्थापना गर्ने र लागत पनि आफैले व्यहोर्ने गरी महानगरले सम्झौता ग¥यो ।

उक्त सहमतिको निर्णय नं. ९ मा भनिएको छ, ‘ट्राफिक व्यवस्थापनका दृष्टिकोणले रात्रीकालीन समयमा लखन चोकको ट्राफिक आइल्याण्ड व्यवस्थापन गर्ने क्रममा आम नागरिक र सरोकारवालाको भावनामा अन्जानवश चोट पुग्न गएको भए त्यसप्रति क्षमायाचना गर्दछौँ । लखन थापाको शालिक लखनचोकमा केन्द्र राखिने विषयमा विश्वस्त रहन तथा सम्बन्धित सबै नागरिक र सरोकारवालाहरुले संयम कायम गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

मेयर जिसीको अर्को सम्झौता

जब मेयर जिसीसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी र मगर संघबीच लखन थापाको शालिक बनाउने र सोही दिन नै महानगरसँग सम्झौता गर्ने सहमति भयो । त्यसपछि, पुनः अर्को जातीय आन्दोलन सुरु भयो ।

राप्रपाका नेता शंकर खराल संयोजक रहेको पृथ्वीनारायण शाहको शालिक पुनस्थापना संघर्ष समितिदेखि लिएर विश्व हिन्दु महासंघ, क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी परिवार, रानाभाट समाज, विश्वकर्मा समाज, परियार समाज, दशनामी समाज, राष्ट्रिय धर्मसभा नेपाल, जलारी समाज लगायले आन्दोलन गरे । आन्दोलन चर्किएपछि मेयर जिसीले उनीहरुसँग पाँच बुँदे सहमति गरे ।उक्त सहमतिमा महानगरपालिकाले लखन थापाको शालिक निर्माण कार्य रोक्ने बुँदा पनि उल्लेख छ ।

‘पृथ्वीचोकमा भैरहेको लखन थापाको शालिक पुनस्र्थापनको कामका लागि निर्माणस्थलमा लगाइएको टिनको बार तथा त्यहाँ राखिएका निर्माण सामग्री आजै हटाइ निर्माण कार्य बन्द गर्न महानगरपालिकाले पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ जिसीले हस्ताक्षर गरिएको सहमतिपत्रमा भनिएको छ । त्यसबाहेक पोखरा १८ जामुनबोटमा रहेको १०० रोपनी जग्गामध्ये आवश्यक जग्गा छुट्याएर पृथ्वीनारायण शाहको पूर्णकदलको शालिक स्थापना गर्ने पनि सहमति भएको छ ।तत्कालीन मेयर जिसीले दुई पक्षसँग दुईथरि सहमति गर्दा झनै आन्दोलन चर्किएको थियो ।

मध्यरातमा उभिए लखन थापा

आइल्याण्ड घटाएर सडक फराकिलो बनाउने, शहीद तथा विभूतिका शालिकहरु पोखरा १८ जामुनबोटस्थित शहिदपार्कमा व्यवस्थापन गर्ने भनेर पृथ्वीचोकबाट लखन थापाको शालिक हटाएका जिसीले भोलिपल्टै शालिक पुनस्र्थापित गर्ने सहमति गर्न बाध्य भए ।असोज ९ गते हटाइएको शालिक २०७५ फागुन १ गते मध्यरातमा पृथ्वीचोकमा उभ्याइयो । यसका लागि महानगरपालिकाले १८ लाख रुपैयाँ खर्च ग¥यो ।त्यहाँ उनको पूर्णकदको शालिक राखिएको छ ।

सम्झौताअनुसार नै शालिक राखियो । शालिक मगर संघले बनायो र त्यसको आर्थिक भारको जिम्मा महानगरले लियो, जिल्ला प्रशासनले सुरक्षा दियो र शालिक ठडियो । जनयुद्ध दिवस, फागुन २ गते लखन थापा स्मृति दिवसको अवसर पारेर शालिक पुनस्र्थापित गरिएको हो । लखन थापालाई नेपालकै प्रथम शहीदको रुपमा सरकारले पनि मान्यता दिइसकेको छ । गोरखा काउले भंगाराका थापाले तत्कालीन राणाशासनविरुद्ध आवाज उठाउँदा शहादत प्राप्त गरेका थिए ।

२०६४ साल वैशाख १८ गते शाही शासनविरुद्ध मुलुकमा आन्दोलन चर्केको बेला पृथ्वीनारायण शाहको शालिकमा घन र ईट्टा वर्षेको थियो । घन र ईट्टाले पृथ्वीनारायण शाहको शालिक ढलाउनेहरु तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठन वाइसीएलसँग आवद्ध थिए ।

बल्झिएको विवाद

गएको साउन २४ गते २९ औँ अन्तर्राष्ट्रिय जनजाति दिवस मनाइयो । ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ ’ नारासहित पोखरामा पनि महासंघले विभिन्न कार्यक्रम ग¥यो । सोही क्रममा आदिवासी जनजाति संघले विभिन्न ¥याली, प्रदर्शन लगायतका विविध कार्यक्रम ग¥यो । दिवस मनाउने क्रममा ¥यालीसहित पृथ्वीचोक पुगेका सहभागीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राखेको पृथ्वीनारायण शाहको प्रतिमा फालिदिए । यही घटनापछि पोखरामा पुनः शालिकको विवाद बढेर गएको छ ।राप्रपाले गत पुस २७ गते ३०१ औँ पृथ्वीजयन्तीको अवसरमा पृथ्वीचोकमा लखन थापाको शालिकमुनि पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो । प्रतिमा हटाइएपछि सुरु भएको विवाद झनै बढेर गएको छ । आइतबार पनि राष्ट्रप्रेमी नेपाली नागरिक अभियानका तर्फबाट पृथ्वीचोकमा नाराबाजी गरियो । तर, प्रहरीले त्यहाँ ब्यानर पनि राख्न दिएन ।

महानगरले पनि प्रतिमा फालिदियो

आदिवासी जनजातिको कार्यक्रममा पृथ्वीनारायण शाहको प्रतिमा फालिदिएपछि राप्रपासहित राष्ट्रप्रेमी नेपाली अभियानका तर्फबाट भोलिपल्तै पुनः प्रतिमा पृथ्वीचोकमा राखियो । तर, सोही दिन (बिहीबार) पोखरा महानगरपालिकाले विवाद बढ्ने ठानेर सर्वदलीय बैठक राख्यो । सर्वदलीय बैठकबारे महानगरले दिएको जानकारी र त्यहाँ सहभागी दलका प्रतिनिधिहरुबीच पनि विवाद छ ।
महानगरले सर्वदलीय बैठकको निर्णय भनेर शनिबार बिहानपख राप्रपाले राखेको प्रतिमा आफैले हटाइदियो । त्यसको विरुद्धमा पोखरा महानगरका मेयर धनराज आचार्यविरुद्ध नाराबाजी नै भयो । उनको शनिबार उनको पुत्लादहन पनि गरिएको छ । प्रतिमा हटाइएको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले मध्यरातमा महानगरले शाहको प्रतिमा हटाउनु दुखद र निन्दनीय भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुखद् र निन्दनीय छ ।’अध्यक्ष लिङदेनले पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त ग¥यौं । तिनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो । पोखराको पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका थिए । तर, उनीहरू फर्किएपछि महानगरपालिकाले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको थियो ।

कांग्रेसको आपत्ति

साउन २७ गते पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले ध्यानाकर्षण पत्र जारी गरेका छन । उक्त पत्रमा शनिबारको सर्वदलीय बैठकले सहरका मुख्य सडकहरूमा रहेका सबै सालिकको स–सम्मान व्यवस्थापन स्थानान्तरण गर्ने निर्णय गरेको जनाइएको छ ।

पत्रमा उनले भनेका छन, ‘प्रथम शहीद लखन थापाको शालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्विर तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको शालिकसहित सडकमा रहेका शालिकहरूलाई एक महिना भित्र व्यवस्थापन÷ स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको महानगरपालिका स्मरण गराउँदछ ।’

तर, यो बैठकमा त्यस्तो कुनै निर्णय नभएको कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिए । कांग्रेसका तर्फबाट उनी सर्वदलीय बैठकमा सहभागी थिए । ढकाल आफैंले पनि सर्वदलीय निर्णयप्रति घोर निन्दा तथा भत्सर्ना गरेका छन ।

महानगरका प्रवक्ता तिम्सिना आफैं पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन । तर, उनले जारी गरेको ध्यानाकर्षण पत्रमा कांग्रेसकै अन्य वडाध्यक्षले विरोध जनाएका छन । विरोध मात्रै नभई, मेयर आचार्यलाई आइपर्ने परिणामको सामना गर्न चेतावनी पनि दिएका छन ।

कांग्रेस पोखरा महानगरपालिका संसदीय दलका नेता दिवसमान प्रधानांगले पनि सर्वदलीय बैठकमा उक्त निर्णय नभएको जनाएका छन ।
यता, कास्की कांग्रेसले पनि विज्ञप्ति निकालेर सर्वदलीय निर्णय भनेर महानगरले निकालेको ध्यानाकर्षण पत्रको विरोध जनाएको छ ।

सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी गर्दै पोखरा सहरका मुख्य सडकहरुमा रहेका शालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकावाट मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली कांग्रेस कास्कीको ध्यानाकर्षण भएको बताएका छन ।

‘पोखराको सहरी सौन्दर्यीकरण हामी सबैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनितीक पार्टीहरुको धारणाले मात्रै सम्वोधन गर्न सक्दैन,’ बरालले भने,‘यसैले पोखरालाई सुन्दर सहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।’

बरालले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकावाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली कांग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेको बताएका छन । नेविसंघ कास्कीले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गरेको छ ।

बाजागाजा बजाएर व्यवस्थापन गर्छौं : मेयर

पोखरा महानगरका मेयर धनराज आचार्यले भने सडकका बीचमा कुनैपनि शालिक नराखिने बताएका छन । सम्बन्धित सबैसँग छलफल गरेर शालिकहरुको व्यवस्थापन विभूति तथा शहिद पार्कमा गरिने उनले जानकारी दिए ।

“पोखरा मुग्लिङ सडक बन्दैछ, बिचमा अमरसिंह थापाको शालिक छ । त्यसको व्यवस्थापन गर्नैछ । त्यो लगायतका अन्य शालिकहरुको पनि व्यवस्थापन गर्ने, हाम्रो महानगरले बनाएको विभूति पार्कमा बाजागाजासहित सम्मानपूर्वक व्यवस्थापन गर्न समय माग्यौँ । साथीहरुले त्यसमा सहमति जनाउनुभएको छ,’आचार्यले भने ।

गत शनिबारको सर्वदलीय बैठकमा एक महिनाभित्र सडकमा रहेका सबै शालिकहरुको व्यवस्थापन गर्ने निर्णय भएको उनले जानकारी दिए ।सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण÷व्यवस्थापन गर्ने निर्णय गरियो ।’

बढ्दैछ विवाद

शालिकभित्रको राजनीतिमा विस्तारै दलीय र जातीय द्वन्द्व पनि देखिन थालेको छ । २०७५ मा तत्कालीन मेयर मानबहादर जिसीले गरेको सहमतिपत्रलाई केलाउने हो भने पनि पृथ्वीचोकमा कसको शालिक राख्ने भन्ने विषयमा प्रष्टरुपमा दुई जातीय धार देखिन्छ ।
आदिवासी जनजातीहरुले लखन चोकमा लखन थापाको शालिक हुनुपर्छ भन्ने पक्षमा छन । पृथ्वीनारायण शाहको प्रतिमा राख्ने विषयमा भने क्षेत्री समाज, ब्राह्मण समाज लगायतका १० समुदायको संलग्नता देखिन्छ ।

जातीय रुपमा दुई समुदाय देखिएतापनि अहिलेको विवादमा भने राजनीतिक पक्षधरता समेत देखिएको छ । महानगरले सर्वदलीय बैठकको निर्णय भनेर सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा कांग्रेसले प्रष्ट विमति राखेको छ भने राप्रपाले त झन्डासहित नै प्रदर्शन र नाराबाजी गर्दैै आइरहेको छ ।

आदिवासी जनजातीहरुले फालिदिएको प्रतिमा राप्रपाले भोलिपल्टै राखेतापनि महानगरले शनिबार बिहानै फालिदियो । यही विषयलाई लिएर राप्रपा मेयर आचार्यसँग असन्तुष्ट छ भने पुत्ला दहन देखि दिनहुँ प्रदर्शनका कार्यक्रम गरिरहेको छ ।

आइतबारको प्रदर्शनमा सहभागी अरुण गिरीका अनुसार थप कार्यक्रमको घोषणा गर्ने र आन्दोलनलाई अझै अगाडि बढाउने तयारी भइरहेको छ ।
प्रदेशसभा सदस्य तथा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ पनि पृथ्वीनारायणको प्रतिमा राख्ने पक्षमा उभिएका छन ।

“यो ठाउँमा शहिदको शालिक होइन, मिल्छ भने पृथ्वीनारायण शाहको शालिक राखौँ, होइन भने कसैको नराखौँ ।” उनले भने । तत्कालीन मेयर मानबहादुर जिसी हुँदा पनि पृथ्वीचोकमा कसैको शालिक नराख्ने भन्ने सहमति भएको तर, कार्यान्वयन नभएको उनले बताए । लखन थापाको शालिक नहटेपछि आफूहरुले नै पृथ्वीजयन्तीको दिन प्रतिमा राखिएको बताए ।

सर्वदलीय बैठकमा मेयर आचार्यले एक महिनाभित्र दुवै प्रतिमा र शालिक हटाउने बताएको हुँदा आफूहरु त्यसलाई विश्वास मानेर फर्किएको बताए । तर, रातमा नै मेयरले कुरा फेरेर प्रतिमा मात्र हटाइएको हुँदा राप्रपा अब सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । सोमबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पोखरा आउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->