सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सर्वोच्चको आदेशपछि गण्डकीको ७२ करोड बजेट अब के हुन्छ ?

सर्वोच्चको आदेशपछि गण्डकीको ७२ करोड बजेट अब के हुन्छ ?


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८०, सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय। तस्वीर: ढोरपाटन

पोखरा/चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रममा पूर्वाधार विकास कार्यक्रमको लागि गण्डकी सरकारले ७२ करोड बजेट विनियोजन गरेको छ । अर्थ विविध शिर्षकमा पूर्वाधार विकास कार्यक्रमको लागि भनेर छुट्याइएको रकम कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयमा कर्मचारीतन्त्र र मन्त्रीले फरकफरक मत दिएका छन ।

आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले वार्षिक विकास कार्यक्रममा राखिसकिएको कार्यक्रम कार्यान्वयन हुने र कार्यविधी बनाउने तयारी गरिएको बताए ।

तर, मन्त्रालयकै कर्मचारीहरु भने सर्वोच्चले जारी गरेको अन्तरिम आदेश यस्तै प्रकृतिको कार्यक्रमको लागि रहेको बताउँछन ।
गत बुधबार सर्वोच्च अदालतले संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

’संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था,’ आदेशमा भनिएको छ, ’र सातवटै प्रदेशका व्यवस्थापिकाहरूको आर्थिक वर्ष २०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू÷नगराउनू ।’

सर्वोच्चकको यही अन्तरिम आदेश पछि नै गण्डकीमा पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अन्योलता देखिएको हो ।
गण्डकीको यो कार्यक्रम अन्तर्गत यसअघि ३६ वटा निर्वाचन क्षेत्रलाई प्रतिनिर्वाचन क्षेत्र २/२ करोडका योजना वितरण गरिन्छ । त्यही २ करोडको समयसीमाभित्र रहेर त्यहाँबाट प्रतिनिधीत्व गर्ने प्रत्यक्ष÷समानुपातिक सांसदले ६०/४० प्रतिशतका आधारमा योजना छान्छन । छानिएका योजनाको कार्यान्वयन भने योजनाको प्रकृति हेरेर सम्बन्धित मन्त्रालयका कार्यालयबाट हुने गरेको छ ।

प्रदेशसभाको निर्वाचनपछि पुष २५ गते बनेको नयाँ सरकारले आफूखुसी योजना छान्नकै लागि भनेर कार्यविधी नै संशोधन गरेको थियो ।
अहिले पनि सोही कार्यविधीलाई परिमार्जन गरेर कार्यक्रम अगाडि बढाउन खोजिएको छ ।

कार्यक्रम कार्यविधी अनुसार सांसदले छान्ने योजनाको न्यूनतम लागत नै २५ लाख रुपैयाँ तोकिएको छ । सांसदहरूले २५ लाखभन्दा कमका योजना छान्न नै पाउँदैनन् ।

यो वर्ष पनि कार्यविधीलाई परिमार्जन गरेर कार्यक्रमलाई अगाडि बढाइने र त्यसमा सर्वोच्चको अन्तरिम आदेश नलाग्ने मन्त्री आलेले बताए ।
“हाम्रो पूर्वाधार विकास कार्यक्रम हो, जुन रुपमा संघले छुट्याएको छ, त्यो होइन । बजेट बनाउने बेलामा अलिक हतार पनि भयो । हामीले एक महिनामा तयार गर्नुपर्ने भएकोले कहिँकतै दुइचारवटा कुराहरु बजेट, नीति तथा कार्यक्रममा उल्लेख गरेका महत्वपूर्ण कार्यक्रम छुट्छन कि भनेर राखेको हो ।” उनले भने ।

७२ करोड बजेट राखिएतापनि ३६ निर्वाचन क्षेत्रलाई २/२ करोड भन्ने नरहेको उनले बताए । यो कार्यक्रम कार्यान्वयन गर्नको लागि नयाँ कार्यविधी बनाउने र मन्त्रालयले तयारी गरिरहेको उनले बताए ।

तर, मन्त्रालयकै एक अधिकारीले भने सर्वोच्चको अन्तरिम आदेशले पूर्वाधार विकास कार्यक्रमलाई पनि छुने बताउँछन ।
“सबै प्रदेशमा नाम जे राखेपनि कुरा त्यही हो, जिल्लाबाट योजना आएपछि छनोट गर्ने सांसदहरुले नै हो । सर्वोच्चको गरेको आदेश यही प्रकृतिका कार्यक्रमलाई नै हो, अन्तिम फैसला कुरौँ ।” ती अधिकारीले भने ।

सर्वोच्चको आदेशका कारण अन्योलता देखिएको हुँदा कार्यविधी बनाउने प्रक्रिया पनि सुरु नभएको ती अधिकारीले बताए ।
“एउटा निर्वाचन क्षेत्रलाई २ करोडका दरले ७२ करोड हो, अब मन्त्रिपरिषदले के निर्णय गर्छ, त्यही हुने हो ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->