पोखरा/ २ जना विदेशीसहित १० जना दृष्टिविहीनले प्याराग्लाइडिङ गरेका छन् । जीवनको उचाइ र सफलता चुम्नको लागि अपांगता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देशका साथ उनीहरुले सोमबार पोखरामा प्याराग्लाइडिङको अनुभव बटुलेका हुन् । प्याराग्लाइडिङ गर्दा निकै खुसी भएका उनीहरुले एक १७ सय ५० मिटरको उचाइबाट उडान भरे ।
प्याराग्लाइडिङ गरेपश्चात बोल्दै ब्लाइन्ड रक्स नेपालकी संस्थापक अध्यक्ष सृष्टि केसीले ऐतिहासिक उडान भएको प्रतिक्रिया दिइन् । आखाँले नदेखे पनि मनबाट सबै देखेको उनले बताइन् । ‘हामी आज उड्याँै । जीवनको उचाइ र सफलतामा पुग्नका लागि अपाङ्ता, दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देशका साथ हामी उडिरहेका थियौं,’ उनले भनिन्, ‘पाइलट सरले त्यो हरियाली वर्णन गरिरहनुभएको थियो । तल हर्पन खोला बगिरहेको छ भन्नुभयो । उहाँले गरेको वर्णनबाट मैले दृष्यको अनुभूति, हल्का मधुरो घाम , शितल हावालाई मनमा कैद गरेको छु । त्यो सुन्दरतालाई मैले विशेषगरी मनबाट महसुस गरेकी छु । मैले सुन्दर दृष्य देखिरहेको थिएँ ।’ प्यारापाइलटले मौसमका कारण हिमाल देखिएको छैन् भनिरहँदा बादलले छेकिरहेको हिमाल पनि मनको आँखाले तानितानी हेरेको उनले सुनाइन् ।
दश कक्षामा अध्ययन गदैगर्दा गलत उपचारका कारण सृष्टिले दृष्टि गुमाएकी थिइन् । हाल दृष्टिविहीनको क्षेत्रमा काम गर्दै आएकी उनले पाइलटले बादल छुवाउन लैजाँदा निकै खुसी लागेको बताइन् । बादल छुने मनको सपना पूरा भएको उनको भनाइ छ । ‘म एकदम खुसी तब भएँ, जब मलाई कृष्ण सर (प्यारापाइलट कृष्ण सुनार) ले बादल छुवाउन लैजानुभयो । एउटा सपना हुन्छ नि ! जीवनमा एउटा बादलमाथि उड्ने, उचाईमा पुग्ने, आज मैले त्यो उचाई हासिल गरें । बादल छोइरहेको थिएँ, बादलभित्र हराएरहेका थियौं । म एकदमै खुसी छु,’ उनी रोमाञ्चित सुनिइन् ।
प्यारापाइलट कृष्ण सुनारका अनुसार बर्खामा बादल तल आउँछ । १८ सय मिटरको उचाइमै श्रृष्टिले बादल छोएको उनले जानकारी दिए । हाल पाइलटहरु १८ सय ६४ मिटर माथि जाँदैनन् ।अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै यो सीमा निर्धारण भएको हो ।

सृष्टिका अनुसार ब्लाइन्ड रक्सले विभिन्न साहसिक खेलहरुको अनुभव लिने गतिविधि गर्दै आएको छ । उनीहरुको साहसिक खेलको अनुभव लिने उपक्रम चलिरहेको छ । उनीहरुले यसअघि रक क्लाइम्बिङ, ¥याफ्टिङ गरिसकेका छन् । प्याराग्लाइडिङ भने व्यक्तिगत रुपले दोस्रो अनुभव रहेको र त्यो अनुभव एक्लै गर्न नचाहेकाले सबैलाई सहभागी गराएको सृष्टिको भनाइ थियो । पछिल्लो समय १८ सय ७५ मिटरभन्दा माथि प्यारापाइलटहरु पुग्दैनन् ।
अष्ट्रियाबाट आएका ब्लाइन्ड रक्स अन्तर्राष्ट्रियका सदस्य थोमसले पहिलो पटक प्याराग्लाइडिङको अनुभव गरेको बताए । ‘यो मेरो पहिलो अनुभव हो । निकै रमाइलो अनि निकै शानदार रह्यो । मैले सेन्सले महसुस गरिरहेको थिएँ । मैले मेरो मनबाट हेरिरहेको थिए । यो अविस्मरणीय रह्यो,’ उनले भने, ‘हामी दृष्टिविहीन भएर के भयो त ? हामीले पनि त अरुले जसरी हरेक कुरा गर्न सक्छौँ ।’
बागलुङ जैमिनी नगरपालिकाकी चाँदनी शर्माको पनि प्याराग्लाइडिङ पहिलो अनुभव थियो । उनले उडानको अनुभव शब्दमा वर्णन गर्न नसक्ने बताइन् । ‘आजको अनुभव शब्दबाट बयानै गर्न सक्दिन । फ्लाई एकदमै रमाइलो भयो । यो रमाइलोसँगै खुसी लाग्यो,’ उनले भनिन्, ‘आकाशमा उड्ने कुरा कस्तो होला भन्ने लाग्थ्यो पहिला तर आज आफंैले अनुभव गर्न पाएँ । बसमा यात्रा गरेको मान्छे आज त्यो फ्रेस हावामा बसको जस्तै यात्रा गर्ने अवसर पाएँ ।
प्याराग्लाइडर राम गुरुङले पहिलोपटक दृष्टिविहीनलाई उडाएको बताए । उनले उडान भर्दा र ल्यान्ड गर्दा सामान्य व्यक्ति र दृष्टिविहीनमा कुनै फरक नहुने बताए । ‘हामीले उडान भर्दा र ल्यान्ड गर्दा सबै एकै महसुस ग¥यौँ । फरक यतिमात्र रह्यो कि सामान्य व्यक्तिले आँखाले हेरेरै सबै अनुभव गर्नुहुन्थ्यो । उहाँहरुलाई हामीले भनिरहेका थियौं,’ गुरुङले भने । आकाशमा उडिरहँदा जे देख्या,े त्यहि कुरा सुनाउँदा चाँदनीले निकै चाख मान्दै प्रश्न सोध्ने गरेको उनले सुनाए । प्याराग्लाइडिङमा सामेल सृष्टिसहित सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, अमिता खड्का, वसिम अन्सारी, सावाज अन्सारी, मीना भुजेल, चाँदनी शर्मा, मोम्सरा सुनार, रोजिना घिमिरे तथा अमेरिकी नागरिक क्रिष्टोफर जे जोन्स र अष्ट्रियाका थोमस साइलिङलाई हौसला दिन पोखराका मेयर धनराज आचार्य उडान स्थल पुगेका थिए । जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ । आत्मबललाई सबल पक्ष मानेर अघि बढ्नुपर्छ । यसो भयो भने कुनै पनि पक्षमा हामी पछि पर्दैनौं र पर्नु पनि हुँदैन,’ सृष्टि आत्मविश्वासी सुनिइन् ।
अप्ठेरै–अप्ठेरो : प्याराग्लाइडर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको प्याराग्लाडिङको भविष्य अन्योलमा परेको थियो । पोखराको मुख्य आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ पहिला पोखरा र फेवातालको मनोरम दृष्य नजिकबाट नियाल्न पाउनेले अब भने त्यो अवसर गुमाएका छन् । अवसरमात्र गुमाएका छैनन् ,प्याराग्लाइडिङ चाहनेले निकै कष्टसमेत खेप्न बाध्य भएका छन् । पहिला एक हजार चार सय ५० र एक हजार छ सय मिटरको उचाइबाट उडान भर्ने पोखरामा अब भने उचाइ बढेर एक हजार सात सय ५० मिटर पुगेको छ ।
प्याराग्लाइडर भुवन गाहमगरले अहिले उडान भर्ने ठाउँ पुग्ने बाटो अप्ठेरो हुँदा समस्या परेको बताए । हिँड्न पर्ने हुँदा प्याराग्लाइडिङ गर्न आउने पर्यटकलाई अप्ठेरो भएको पनि उनले बताए । बाटोमा शौचालय तथा प्रतीक्षालय नहुँदाको अर्को सास्ती झन पीडादायी भएको उनको भनाइ छ । हाल पोखरामा ३५० जना पाइलट रहेका छन् । पछिल्लो समय प्याराग्लाइडिङलाई सुरक्षित बनाउन प्रविधिको प्रयोग गरिएको छ । रेडियो कम्युनिकेशन, रुट ट्रयाकलगायत प्रविधिले यो क्षेत्रलाई सुरक्षित बनाएको गाहामगरले बताए । अर्का प्याराग्लाइडर सन्तोष राईले बाटो अप्ठेरो हुँदा समय धेरै खर्च भएको सुनाए ।





