पोखरा / नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद चल्न नदिनुमा सरकारको हात रहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्टले संसद अवरोध एमालेले नभई सरकारले गरेको बताएका हुन् ।
उनले राज्यको सुशासनमै प्रश्न खडा भएको र एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिनुमा सरकारको लापरवाहि देखिएको बताउँदै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने भएपनि त्यसो नभएकाले संसद अवरोध भएको प्रतिक्रिया दिए ।
‘हामीले छानविन समितिमा सांसद हुनुपर्छ भनेका छैनौं । तर छानविन समिति उच्च स्तरीय हुनुपर्छ जसले वास्तविक योजनाकारलाई बाहिर ल्याउन’ उनले संसद अवरोधको पूर्ण जिम्मा सरकारले निर्वाह गर्नुपर्ने बताए । यस्तै एमाले अब एकताबद्ध भएर अघि बढ्ने समेत उनको भनाइ छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राज्यले जनतालाई करको मारमा पारेको र यसमा एमालेको आपत्ती रहेको बताए ।
साउन २२ गते एमाले गण्डकीको पूर्ण बैठक सम्पन्न भएको थियो । उक्त बैंठकले प्रदेशको प्रथम अधिवेशन असोज १५ गते गर्ने भएको छ । यस्तै प्रदेशको आफ्नै भवन निर्माणका लागि प्रदेश अध्यक्ष नवराज शर्माको नेतृत्वमा १९९ सदस्यी कार्यालय भवन निर्माण समिति गठन भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए ।





