पोखरा/ भारतीय पिता र नेपाली आमाका जेठा सन्तान सुरज हजारे दाहालसँग ‘नेपाली परिचय’ छैन । अर्थात् उनी नागरिकताबाट बञ्चित छन् । प्रयास नगरेर हैन,राज्य अनुदार हुँदा उनी ३३ वर्षदेखि ‘अनागरिक’ बनेका हुन् ।
सुरजकी आमा मैया दाहाल दोलखा चरिकोटकी हुन् । वंशजको आधारमा नेपाली नागरिकता भएकी उनी भारतीय नागरिक नितिन हजारेको प्रेममा परिन् । दोलखा घुम्न आएका नितिनसँग बिहेवारी भयो । सो दम्पतिले पोखरालाई कर्मथलो बनाए । सन्तान जन्मे । बढ्दै र पढ्दै जाँदा उनीहरुलाई नागरिकता चाहियो । तर, पिता भारतीय भएको कारण देखाउँदै सुरजलाई नागरिकता दिइएन । उता, मुम्बइका नितिनसँग भारतीय नागरिकता पनि थिएन ।
सुरजले १७ वर्षको हुँदा नै नागरिकताको लागि प्रयास गरे । तर, २०४७ सालको संविधानले विदेशी पिता र नेपाली माताबाट जन्मेको सन्तानलाई नागरिता दिने व्यवस्था गरेको थिएन । सुरजले नागरिकता पाएनन् । २०७२ सालको संविधानले चाहिँ आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने प्रावधान राख्यो । आमाको नामबाट नागरिकता पाउनको लागि उनले वडादेखि जिल्ला प्रशासनसम्म चहारे । नेपालको संविधानको धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ । तर,सुरजलाई त्यस्तो नागरिकता दिइएन । उनले अंगिकृत नागरिकता प्राप्तिको बाटो खोजे । नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ ले ‘विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरी (निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने)’ निजलाई नेपाली नागरिकत दिन सकिने व्यवस्था गरेको छ ।
तर, यो प्रक्रिया झन्झटिलो भएको र आफूले अहिलेसम्म नागरिकता नभएको सुरजको गुनासो छ । नेपाली नागरिकले विदेशीसँग विवाह भइ जन्माएका सन्तानको नागरिकता प्राप्तिको लागि नेपालमा जन्म भइ स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित पालिकाको सिफारिस, सिफारिस तथा आमाको नागरिकता र बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकतानलिएको निस्साका साथ प्रमुख जिल्ला अधिकारीसमक्षनिवेदन दिनुपर्छ । प्रमुख जिल्ला अधिकारीले निवेदनमा संलग्न प्रमाणहरू तथा सम्बन्धित स्थानीय निकायका प्रतिनिधिसँग आवश्यक जाँचबुझ गरी आफ्नो रायसहित गृह मन्त्रालय पठाउने प्रावधान पनि त्यसमा राखिएको छ । जिल्ला प्रशासनले पठाएको पत्रलाई गृहले छानबिन गर्छ र सही ठहरिए नागरिकता प्राँपत गर्ने व्यक्तिलाई नेपाली नागरिक बनाउन सपथ गराउँछ र बल्ल नागरिता प्रदान गर्छ ।
सुरजले अंंगिकृत नागरिकताको लागि गृह मन्त्रालयमै निवेदन दिएका छन् । ‘म नेपालमै जन्मेको हो, मेरी आमा नेपाली हुन्, बुबाको १३ वर्ष अगाडि निधन भयो, म नेपालमै छु तर म अनागरिक भएँ,’ उनले भने,‘ नागरिकता प्राप्तिको लागि गृह मन्त्रालयलाई निवेदन दिए पनि त्यहाँ हामीलाई छिर्न दिइँदैन ।’ सुरज नेपाली नागरिकले पाउने सेवा–सुविधाबाट बञ्चित छन् । उनका भाइ र बहिनीहरुको व्यथा पनि उस्तै छ । उनको व्यथाबारे संसदमा पनि कुरा उठ्यो । सांसद कलिला खातुनले यो संसदमा यो विषय उठान गरेकी थिइन् । तर, सुरज अहिले पनि अनागरिक हुनुको व्यथा बोकेर पोखराको सडक नाप्छन् ।
राज्यले परिचय नदिए र के भो त ? पोखरामा उनले शिक्षकसँगै फोटो पत्रकारको परिचय बनाएका छन् । उनी फुर्सदमा फोटो खिच्छन् । उनको फोटो पोखराबाट प्रकाशित हुने आदर्शसमाज दैनिकका प्रकाशन हुन्छ ।
चर्चामा उनकै फोटो
भर्खरै पोखराको न्यूरोडमा सडक बत्ति र सिमेण्टको डिभाइडर राखिएको छ । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाइ र इञ्जिनियर पदमबहादुर क्षेत्रीको योजनामा बनेको न्यूरोड १८ मिटर चाक्लो न्यूरोडको डिभाइडरमा फूल र वृक्षहरु रोपिएका छन् । बत्ति भने बलेको छैन । यता, ‘ग्रिन पोखरा,क्लिन पोखरा’ भन्ने नारासहित त्यहाँ रहेको बुटिक चौतारामा मेयर धनराज आचार्यले पनि साउन १९ गते विरुवा रोपेका थिए । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बुटिक चौताराको वृक्षरोपणको लागि स्थानीयको ३ र वडाको ७ लाख खर्च भएको जानकारी गराएका थिए । १० लाख खर्चेर तामझामका साथ वृक्षरोपण त गरियो तर बारबेर गरिएन । अनि त के थियो ? छाडा चौपायाले विरुवाहरु च्यात्न थालिहाले । सुरज साउन २२ गते लेकसाइडबाट महेन्द्रपुलतिर जाँदै थिए । पोखराको सभागृह चोकबाट न्यूरोडतिर लाग्नासाथ उनलाई एउटा दृष्यले तान्यो । एउटा माउ गाई र बाच्छोले डिभाइडरमा रोपिएको फूल र विरुवा खाँदै थिए । उनले हत्तपत्त स्कुटर साइड लगाए । क्यामेरा थिएन, मोवाइलबाटै सिंगो न्यूरोडको दृष्य समेटिने गरी माउ चाहिँले विरुवा खाँदै गरेको फोटो खिचे ।
‘मलाई गाई र न्यूरोडको दुबैको दृष्य देखाउनु त थियो नै,विरुवा रोपिएको तर संरक्षण नभएको सन्देश पनि दिनु थियो,’उनले भने,‘मैले जे गर्नुपर्ने थियो,त्यो काम गरें, फोटो आदर्श समाज दैनिकको अनलाइन संस्करणमा छापियो ।’
फोटो सार्वजनिक भएसँगै प्रतिक्रियाहरु आउन थाले । धेरैले सो फोटो कपी गरेर आफ्नो एकाउण्टमार्फत् महानगर,मेयर र वडाध्यक्षमाथि प्रश्न उठाए । महानगरले विरुवा रोपेको तर संरक्षणको पहल नगरेको, दुई साइडमा फेन्सिङ बार नलगाएर कमजोरी गरेकाजस्ता आरोप लगाए । यसै त पोखराको सडकको फोहोर नउठेको बेला,त्यसमाथि संरक्षणमा देखिएको लापर्वाही,मेयर र वडाध्यक्षलाई लक्षित गरी टिप्पणीहरु बर्सिन थाले । तस्वीर ‘भाइरल’ बन्यो । तस्वीर भाइरल बनेसँगै वडा नम्बर ८ का वडाध्यक्ष दीपेन्द्र मर्सानी प्रतिरक्षामा उत्रिए । उनले आफ्नो फेसबुकमा त्यही फोटो राख्दै लेखे,‘खाएको टुलुटुलु हेर्ने कि लखेट्न जाने ?’
उनको त्यो प्रतिक्रियामा सयभन्दा बढी कमेण्ट आएका छन् । तस्वीरमा एकातिरमात्र तारजाली लगाइएको र गाईले खुलातिरबाट विरुवा खाएको प्रष्ट देखिन्छ । बालीको सुरक्षाको लागि बार बार्नुपर्छ । बार नबारेपछि पशुले त खाने नै भयो । त्यसैले त्यहाँ वडाध्यक्ष मर्सानीको समर्थनभन्दा आलोचना बढी भएको छ । केहीले छाडा पशु नियन्त्रण गर्न सुझाएका छन् । धेरैले भने लापर्वाही र गाई धपाउने काम फोटो पत्रकारको नभएको भन्दै आलोचना गरेका छन् ।
वडाध्यक्षले नबुझेको सत्य

फोटो पत्रकारको काम गाई धपाउने हैन । आफ्नो कमजोरी छोप्न उनी प्रतिकारमा उत्रेको प्रष्ट देखिन्छ उसको काम फोटो खिच्ने नै हो । सन् १९९३ मा दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले खिचेको विश्वप्रसिद्ध तर विवादित फोटो नै उदाहरणको लागि काफी छ । खानाको खोजीमा भौंतारिरहेकी बालिका र बालिकालाई नै सिकार बनाउन खोज्ने गिद्धको सो फोटोले विश्व हल्लायो । पुलित्जर प्राप्त तस्वीरले सुडानको समस्यालाई विश्वव्यापी बनाउँदा फोटो पत्रकारको पनि आलोचना चाहिँ भयो । तर, त्यो बेला पनि पत्रकारको पहिलो काम फोटो खिच्नु नै हो भन्ने मत बलियो बन्यो । भला,केभिनले आलोचनाकै बीच मृत्यु रोजेकै किन नहुन् ! भियतनाम युद्ध अर्थात सन् १९७२ मा आगोले पोलेको पीडामा नाङ्गै र चिच्याउँदै भागिरहेकी किम फुक फान्टीको फोटोबारे पनि त्यस्तै टिप्पणी गरिएको थियो । त्यो फोटो निक युट नामक पत्रकारले खिचेका थिए । उनले पनि यो विवादित फोटोबाट पुलित्जर पुरस्कार जिते । फान्टी बाँचिन्, युद्धको तस्वीरले संसारको ध्यान तान्यो । पत्रकारले उपचारमा सघाउनुपर्ने र बालिकाको नग्न फोटो छाप्न हुने कि नहुने भन्ने विवाद त्यो बेला पनि उठेको थियो ।
अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार विपत्तिको बेला फोटो खिच्ने कि मानवता प्रदर्शन गर्ने भन्ने प्रश्नको पक्ष र विपक्षमा बहस कायमै छ । तर, रञ्जितको विचारमा पत्रकारको पहिलो काम सत्य–तथ्य बाहिर ल्याउनु नै हो ।
‘पोखराको सन्दर्भमा पनि त्यही हो, यो फोटो विवादित पनि छैन । पत्रकारले फोटो खिचेपछि फूल रोपिएको र बार नलगाइएको तथ्य बाहिर आयो, छाडा चौपायाको समस्या पनि उजागर भयो,’उनले भने,‘ त्यसैले पत्रकारको कामलाई सकारात्मक तरिकाले नै लिनुपर्छ, किन फोटो खिचिस् र गाई किन धपाइनस् भन्ने प्रश्न व्यर्थ छ ।’
भाइरल फोटो खिचेका सुरजको मत पनि उस्तै छ । उनी भन्छन्,‘ मैले त फोटो खिचेँ । विभिन्न टिकाटिप्पणी भएको थाहा पाएँ, गाई थपाउने हाम्रो काम हैन, सम्बन्धित निकायले गर्ने काम हो ।’ सामाजिक सञ्जालमा आएको कमेण्ट पढ्दा विरुवा रोपिएको क्षेत्रमा फेन्सिङ र छाडा चौपाया नियन्त्रण दुबै हुनुपर्ने महसुस गरेको उनले बताए ।





