सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राखेपले कानुन मानेन : सदस्य सचिव

राखेपले कानुन मानेन : सदस्य सचिव


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८०, मंगलबार

पोखरा/ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४९ को उपदफा १ मा खेलकुद पूर्वाधारहरुको विकास र व्यवस्थापन तथा प्रतियोगिता संचालनमा संघ, प्रदेश र स्थानीय तहबीच सापसमा सहकार्य र समन्वय गर्नुपर्नेछ भनि स्पष्ट उल्लेख गरेको छ ।

दफा २ ले खेलकुद क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य तोकिए वमोजिम हुनेछ भनि स्पष्ट उल्लेख गरेको छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने ऐनको कार्यान्वयन गरेको छैन् । देश संघीयतामा गएको छैटौं वर्ष पुग्दासमेत खेलकुदमा संघीयता आउन सकेको छैन् । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले राखेप संघीयताको विरोधी जस्तै भएको बताएका छन् ।

१९ औं एसियाली खेलकुद तयारीका लागि पोखरामा बन्द प्रशिक्षणमा रहेका आर्चरीका खेलाडीका माझमा उनले राखेप संघीयतामा जान नखोजेको गुनासो गरे । नेपाल आर्चरी संघले पोखराले आभ्या क्लबलाई सम्मान गरिएको कार्यक्रममा बोल्दै उनले रंगशालाको जिम्मा प्रखेपलाई दिनुपर्ने भनाई राखे । ‘खेलकुदमा कोही संघीयता विरोधी जस्तै देखिएको छ भने त्यो राष्ट्रिय खेलकुद परिषद नै हो । जसले कानुनको पालना गरेको छैन,’ उनले भने, ‘हामीले सबै कुरा मागेका होइनौं । कम्तिमा पनि रंगशालाको संरक्षणको जिम्मा हामीलाई दिइयोस् ।’

खेल क्षेत्रमा मेडलको मात्रै आशा गर्ने तर खेल व्यवस्थापनमा ध्यान नदिने गरेको उनको भनाइ थियो । खेल क्षेत्रमा हेर्ने नजर गलत भएको बताउँदै उनले खेल क्षेत्रको गरिमालाई जोगाई राख्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । उमेर समूहका खेलाडीहरुलाई मैदानमा ल्याउने चुनौतीको विषय रहेको उनको भनाई छ । ‘प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदबीच तालमेल भयो भने मात्रै खेलाडी उत्पादन हुने हो,’ उनले थपे, ‘सरकारले मात्रै चाहेर मात्रै खेलको विकास सम्भव छैन । हामी सबैको इमान्दारिता उत्तिकै खाँचो छ ।’

नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले नेपाली राष्ट्रिय आर्चरी खेलाडीहरुलाई आभ्या क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै १९ औं एसियाडमा नेपाली खेलाडीहरुको प्रदर्शन उच्च रहनेमा आफू विश्वस्त रहेको बताए । सो अवसरमा संघका उपाध्यक्ष एवं नेपाल आर्चरी संघ गण्डकीका अध्यक्ष बसन्त थकाली, आभ्या क्लवकी दुर्गा खोर्जा पुन, १९ औं एसियाडमा सहभागि हुने खेलाडी योगेन्द्र शेरचनले आफ्ना भनाइ राखेका थिए ।

१९ औं एसियाली खेलकुदका लागि गत साउन १ गतेबाट ४ जना खेलाडीहरु शन्द प्रशिक्षणमा रहेका छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा योगेन्द्र शेरचन, तिलक पुन मगर, इमायुङ राई र मञ्जु बजगाई रहेका छन् । उनीहरुलाई बसन्त थकालीले प्रशिक्षण दिइरहेका छन् । उनीहरुलाई आभ्या क्लब पोखराले निशुल्क रुपमा फिजिकल फिटनेशलगायतको प्रशिक्षण दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->