सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आज पोखरामा ड्रुक एयर आउने

आज पोखरामा ड्रुक एयर आउने

रोयल भुटानको उडानबाट पहिलोपटक एक लाख २६ हजार कमाउनेछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

पोखरा/ शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैैछ । दोश्रो अन्तर्राष्ट्रिय उडानको रुपमा डु्रक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्नेछ ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट केही नेपालीसहित पोखरामा सम्पन्न भइसकेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको उक्त चार्टर्ड विमान रित्तै फर्किएको थियो ।

चिनियाँ विमान रित्तै फर्किँदा डु्रकले भने पोखराबाटै यात्रुहरु लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्नेछ ।पोखराबाटै भुटानका लागि उडान हुँदा विमानस्थलले भने अन्तर्राष्ट्रिय उडानबाट पहिलोपटक आम्दानी गर्नेछ ।

विमानस्थल सञ्चालनको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो । बिहान ६ः४५ बजे अवतरण गर्नेछ ।नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार डु्रक एयरले चार्टर्ड अवतरण गर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीन जना सदस्य मात्र हुनेछन ।

करिब १ घण्टामा पोखराबाट ४२ जना यात्रुहरु लिएर विमानले पारोको लागि उडान भर्नेछ । ती ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी हुनेछ । कर्ण भन्छन,‘एक जना उड्दा तीन हजार बुझाउँछन । अर्को चाहिँ ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो ।’

पोखराबाट पारोका लागि उडान भर्दा यात्रुहरु भने सबै विदेशी हुनेछन । विभिन्न युरोपेली देशका यात्रुहरु भुटानका लागि उडान भर्नेछन् ।
विमानस्थलले एकवर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्याण्डिङ, पार्किङलगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने हुनेछैन ।

भुटानको वायुसेवा कम्पनी रोयल भुटान (ड्रुक एयर)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानका लागि गत भदौ ११ गते प्राधिकरणसँग अनुमति मागेको थियो । प्राधिकरणले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो–पोखरा–पारो दैनिक नियमित उडान गर्ने जनाएको छ । साथै नियमित सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने कम्पनीको योजना रहेको छ ।

नियमित उडान भएको खण्डमा भुटानबाट आएको विमानले पोखरा आएर यात्रु थपघट गर्न सक्छ र दिल्ली एयरपोर्टसम्म जान सक्छ । त्यस्तै, दिल्लीबाट उडान थालेको विमानले पोखरा आएर यात्रु थपघट गरेर भुटानको पारोसम्म जान पाउँछन ।एयरलाइन्सले हाल पारो–काठमाडौं सातामा सातवटा नियमित उडान गर्दै आएको छ ।यता, पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्ने बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदैछन ।

प्रधानमन्त्रीको उक्त भ्रमण कार्यक्रममा पोखराका उद्योगी व्यवसायीहरुले चीनको ऋण सहयोगमा बनेको विमानस्थललाई नै प्राथमिकता दिएर नियमित उडान गराउनुपर्ने तर्फ पहल गर्नुपर्ने बताएका हुन ।

गत साता पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्रीलाई व्यवसायीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा नै भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले प्रधानमन्त्रीले चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो एजेण्डामा राख्नुपर्ने बताएका छन ।चीन भ्रमणका बेला पोखरा विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए । उनले भने,‘विमानस्थल सञ्चालनको विषय प्रधानमन्त्रीले एजेण्डा बनाउनुपर्छ भन्ने हाम्रो माग हो । विमानस्थलको ऋण तिर्न मात्र होइन, हाम्रो पर्यटन बजार जोगाउन पनि पोखरा–चीन सिधा उडान आवश्यक छ ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको हो । विमानस्थल बनाउँदा लागेको ऋण तिर्न सरकारले वार्षिक झण्डै एक अर्ब रुपैयाँ किस्ता तिर्नुपर्ने मुल्मीले बताए । ऋण सम्झौताअनुसार २६ किस्तामा ऋण तिरिसक्नु पर्नेछ ।चिनियाँ पर्यटक र लगानीकर्ता पोखरामा आकर्षित गर्न पनि विमानस्थल सञ्चालन गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराईले बताए । सरकारले विमानस्थल सञ्चालनमा ल्याउने र नेपालमा २०–२५ लाख पर्यटक ल्याउने उद्घोष गर्दा व्यवसायीले थपेको लगानी अहिले जोखिममा पुगेको उनले बताए ।

यस्तै, यही हप्ता पोखरा आएका अर्थमन्त्री प्रकाश शरण महतलाई पनि उनीहरुले विमानस्थलको बारेमा ध्यानाकर्षण गराएका थिए । उनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नसके अर्थतन्त्रलाई टेवा पुग्ने भन्दै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->