सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

तीन यात्रु बोकेर आएको विमान ४२ यात्रु लिएर फर्कियो

तीन यात्रु बोकेर आएको विमान ४२ यात्रु लिएर फर्कियो


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८०, आइतबार
भुटानबाट आएको ड्रुक एयर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै ।

पोखरा/भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भयो । १५० सिट क्षमता भएको उक्त जहाजमा नेपाली,अमेरिकी र भियतनामका गरी ३ जना यात्रु थिए ।

फर्कंदा भने सो विमानले पोखराबाट ४२ जना यात्रु लिएर गयो । पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन् ।

‘आज पोखरा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए, पोखरा विमानस्थलका प्रमुख देवेन्द्रलाल कर्णले भने, ‘यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो । ’

भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको उनको भनाइ छ । नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए ।

उनका अनुसार पोखरा अवतरण गराएको ड्रुक एयरका पाइलट भुटानको वरिष्ठ पाइलट हुन् । जहाज ल्याण्डिङ गर्दा पनि कुनै समस्या नभएको उनले बताए । ‘उहाँले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गरेपछि ‘बेष्ट’ भन्नुभयो,’ कर्णले भने ।

भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको सुरूवात नेपाल एयरलायन्सले गर्नुपर्ने परिषदको अध्यक्ष पोमनारण श्रेष्ठले बताए । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न देशसँग कुटनीतिक पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->