पोखरा/ पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आधारभूत तालिम (७–०१) औँ समूहको तालिममा सहभागी ४७ जना नगर प्रहरी जवानहरूलाई दीक्षित गरिएको हो । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले संयुक्त रूपमा दीक्षित गरेका हुन् ।
४५ दिनसम्म चलेको आधारभूत तालिममा नगर प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट भइन् । तालिममा नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा सर्व–द्धितीय र नगर प्रहरी जवान सीमान्त थारु सर्व–तृतीय भएका छन् । अध्ययनतर्फ नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा, कवाजतर्फ नगर प्रहरी जवान मसिना राई, शारीरिक ब्यायामतर्फ नगर प्रहरी जवान सञ्जय क्षेत्री र खेलकुद तथा अतिरिक्त क्रियाकलापतर्फ नगर प्रहरी जवान लक्ष्मी कार्की प्रथम भएका छन् ।
उनीहरूलाई केन्द्रका तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सिना, प्लाटुन कमान्डर तथा प्रशिक्षक प्रहरी सहायक निरीक्षक सङ्गम हमाल, प्रहरी हवलदार गुरुप्रसाद कालुङ, प्रहरी जवान तथा प्रशिक्षक अमन चौधरी र प्रहरी जवान तथा प्रशिक्षक जानुका श्रेष्ठलगायतले प्रशिक्षण प्रदान गरेका हुन् । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम (६ दिन), दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भिड व्यवस्थापन (२५ दिन) र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका (१४ दिन) विषयमा प्रशिक्षण प्रदान गरिएको तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । तालिमको आन्तरिक मूल्याङ्कन प्रक्रियामा १३ जना महिला तथा ३४ जना पुरुषहरू मध्ये २९ जना क श्रेणी र १८ जना ख श्रेणीमा परेका छन् ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरी जवान पदमा सेवा करारका लागि महानगरपालिकाले गत २०७९ चैत्र १२ गते खुल्ला तर्फ २७ जना, महिला तर्फ ४, आदिवासी जनजातितर्फ ७, मधेसीतर्फ ६, दलिततर्फ ३ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४८ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो
पोखरा महानगरपालिकाको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरुको सुरक्षा व्यवस्थापन, महानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन् ।
यसैबीच हालै मात्र नगर प्रहरी निरीक्षकमा बढुवा भएका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी निरीक्षक थापालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।





