सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

चार जिल्लाले होल्ड गर्छ ५३ प्रतिशत मत, २१ वटा होटल बुक

चार जिल्लाले होल्ड गर्छ ५३ प्रतिशत मत, २१ वटा होटल बुक


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८०, सोमबार

पोखरा / आजदेखि सुरु हुने एमाले गण्डकीको प्रदेश अधिवेशनको अन्तिम तयारी सकिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले गण्डकीले तयारी सकिएको र सोमबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने जानकारी दियो । एमालेले गण्डकीमा ९ गते प्रतिनिधि टुंग्याएको थियो ।

प्रदेशका ८५ पालिका मध्ये ८४ पालिकामा प्रतिनिधि छनोट सर्वसम्मत भयो । तर, कास्कीको रुपा गाउँपालिकामा खुला प्रतिनिधिमा भने मतदानबाट प्रतिनिधि छनोट गर्नुपरेको थियो ।
अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन ।

गण्डकीमा ११ जिल्ला भएतापनि चारवटा जिल्लाले ५० प्रतिशतभन्दा बढी मत होल्ड गर्छन । प्रदेश राजधानी रहेको कास्कीमा सबैभन्दा धेरै १४६ प्रतिनिधि छन । स्याङजाबाट ११३ प्रतिनिधि आउँदा प्रदेशको सबैभन्दा सानो जिल्ला पर्वतबाट ११० र कान्छो जिल्ला नवलपुरबाट १०९ प्रतिनिधि छनोट भएका छन ।

यी चार जिल्लाका प्रतिनिधिको संख्या जोड्दा ४७८ हुन आउँछ । यो संख्या कुल मतदाता संख्याको झन्डै ५३ प्रतिशत हो । अर्थात, चार जिल्लाका प्रतिनिधिको मत मात्र पाउन सके उम्मेदवारले निर्वाचन जित्न सक्छन । गणितीय रुपमा बहुमत देखिएतापनि एमालेभित्रको गुटगत राजनीतिका कारण प्रतिनिधि पनि सोही अनुसार छानिएका छन ।

बाँकी जिल्लामध्ये बागलुङबाट ७२, तनहुँबाट ८२, गोरखाबाट ५३, मुस्ताङबाट १६, लमजुङबाट ६५ प्रतिनिधि छनोट भएका छन । मनाङबाट १४ जना प्रतिनिधि छानिँदा म्याग्दीबाट ४२ जना र एमालेको जनसंगठनबाट ८६ प्रतिनिधि छनोट भएका छन ।

एमाले गण्डकीका उपसचिव एवम प्रचारप्रसार उपसमितिका संयोजक रश्मि आचार्यका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन ।पोखरा अमरसिंह चोकमा १५ र १६ गते हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट ¥याली हुनेछ ।

एमालेले प्रदेश अधिवेशनकै लागि भनेर पोखराका २१ वटा होटल बुक गरेको छ । सचिव धनञ्जय दवाडीका अनुसार अधिवेशन निर्वाचनतर्फ धकेलिए विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहितको १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->