शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नपत्याउँदो ढंगले बढ्दै आत्महत्या दर

नपत्याउँदो ढंगले बढ्दै आत्महत्या दर


  • हरिकृष्ण गौतम
  • असोज १६ २०८०, मंगलबार

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका-५, का एक किशोरको शव पर्वतको लस्तीस्थित कालिगण्डकी नदीको बगरमा मृत भेटियो । गएको भदौ १५ गतेदेखि बेनी मंगलाघाटको कोठाबाट निस्किएका विकको कपडा बेनपा–१ रत्नेचौरको तटीय क्षेत्रमा फेला परेको थियो । ६ दिनदेखि परिवारको सम्पर्कमा नभएका किशोर बेनीकै एक निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

घटनाको प्रकृति हेर्दा कालिगण्डकी नदीमा हामफालेर आत्महत्या गरेको जस्तै देखिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रेमसम्बन्ध कारण रहेको देखियो । पश्चिम म्याग्दीकै मंगला गाउँपालिका–१, की एक छात्राले कक्षा १२ को परीक्षामा एक विषयमा राम्रो अंक नआएको भन्दै आत्महत्याको बाटो रोजिन् । यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन । आफ्ना साथीहरूलाई निराशा र प्रेमका कुराहरु सुनाउने गरेका ती किशोरको मृत्युको कारण नखुले पनि क्षणिक आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने घटनास्थलमा पुगेका प्रहरीको भनाइ छ । म्याग्दीमा पछिल्लो ५ वर्षमा १ सय १६ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मले रिस थाम्नै नसकेर,परिवार र समाजबाट अपमानित हुनु,परीक्षामा फेल, प्रेममा असफललगायतका कारणले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६÷०७७ मा २२ जना, २०७७÷०७८ मा २८ जना, २०७८÷०७९ मा ३१, २०७९÷०८० मा ३४ जना र २०८०÷०८१ मा २ जनाले आफ्नो जीवनको अन्त्य गरेको प्रहरीको रेकर्डमा छ । ५ वर्षको अवधिमा आत्महत्या गर्नेमा कलिला बालबालिकासमेत देखिएपछि प्रहरीले सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ ।

आत्महत्या बढेसँगै प्रहरीले न्यूनीकरणको लागि सहरदेखि गाउँसम्म जनचेतनामूलक , मनोवैज्ञानिक परामर्शलगायत विभिन्न कार्यक्रमहरूलाई प्राथमिकता दिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘सानो पासोमा जीवनको अन्त्य रोक्न समुदायका सबै सक्रिय हुनुपर्छ, क्षणिक आवेगलाई रोक्न सके आत्महत्याका घटना न्यून हुन्छ,’ प्रनाउ कुँवरले भने । आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने उनको भनाइ छ ।

विद्यालय, आमा समूह,जनप्रतिनिधिसहित समुदायस्तरमा प्रहरीले गरेको अभियानले आत्महत्याको बाटो गलत भएको र यसले आर्थिक, सामाजिक तथा परिवारमा समेत ठूलो क्षति भएको सन्देश प्रवाह गरेकाले न्यूीकरणको अभियानमा सघाउ पुग्ने म्याग्दी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले बताइन् । ‘यो अभियानलाई सधँै जारी राख्नुपर्छ,आत्महत्या गलत भएको सन्देश हरेक मान्छेलाई बुझाउन सकेमा न्यूनीकरणको अभियानमा बल पुग्छ,’ रेग्मीले भनिन् । उनले कलिलो उमेरका बालबालिका आत्महत्या गर्ने अवस्थामा कसरी पुगे भन्ने अनुसन्धानको विषय बनाउनुपर्नेमा जोड दिइन् । ‘हरेक वर्ष आत्महत्या गर्नेहरूको तथ्याङ्कमा कलिला अनुहार भेटिन्छन्, यो डरलाग्दो सामाजिक समस्या हो,’ उनले भनिन् ।

कलिला बालबालिकादेखि ७०–८० बर्षका बृद्धबृद्धाले आफंैले जानी–जानी गरिने आफ्नै हत्याले गर्नुको कारण खोतल्न चुनौती खडा भए पनि अशिक्षा, अनिच्छित गर्भधारण, मानशिक रोगीलाई उपचारको अभाव, गरिबी, घरायसी कलह, युवापुस्ताका मासिनसमा उच्च महत्वकांक्षा पूरा गर्न नसकेको, प्रेममा असफल, वैदेशिक रोजगारमा गएको बेला श्रीमतीले परपुरुषसँग गर्ने अनैतिक सम्बन्ध, सम्पत्तिको अपचलन, पारिवारिक सम्बन्धमा आएको तिक्तता जस्ता कारणहरू रहेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले समुदायस्तर र विभिन्न संघसंस्था, विद्यालय र क्याम्पसमा आत्महत्या न्यूनीकरण तथा रोकथामसम्बन्धी कार्यक्रमलाई तीव्रता दिएको छ । यस वर्ष आत्महत्या रोकथाम दिवसको अवसरमा प्रहरीको जिल्लाभित्रका सबै पालिकास्तरमा रहेका यूनिटलाई समुदायस्तरसम्म पुगेर अभियान सञ्चालन गरेको थियो ।

आत्महत्या गर्नबाट जोगाउन सकिन्छ

आत्महत्या गर्ने सोच आइरहेका व्यक्ति चिन्न सकिन्छ र उनीहरूलाई त्यो भयावह घटनावाट बचाउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा छैन । बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले जीवनप्रति चरम निराशाको भाव भएकाले आत्महत्या रोज्ने गरेको बताए । ‘धैर्य गर्ने क्षमताको विकास नहुँदा क्षणभरको निर्णयमा आत्महत्या गर्छन्,’ डा.पोख्रेलले भने । उनले कुनै पनि कारणले आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई बचाउन सकिने बताउँछन् ।

उत्पन्न पीडा र यातनाबाट उन्मुक्तिका लागि आत्महत्या बाहेकको विकल्प नदेख्ने गरेकाले पनि विकराल समस्या बनेको बताए । आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने, आत्महत्या गर्न खोजेको व्यक्तिले साथीहरूसंग निराशावादी कुरा गर्ने,आत्महत्याको बारेमा कुनै कुरा गर्ने, मर्न मन छ जस्ता कुरा गर्ने भएकाले यस्तो बेलामा सहानुभूति दिने, मद्दत गर्ने, स्थितिलाई गम्भीर रूपमा लिने र जोखिम आँकलन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

म्याग्दीमा यस्ता घटना न्यूनीकरण गर्न मनोपरामर्शदाताको आवश्यकता रहेको उनले बताए । तनाव, डिप्रेसन जस्ता मानसिक समस्याहरु आत्महत्याका मार्ग भएकाले यसलाइ्र्र रोकथाम गर्न परिवारबाटै पहिलो प्रयास हुनुपर्नेमा विज्ञहरुको जोड छ । विभिन्न अनुसन्धानका आधारमा जिल्लाका करिव १५–२० प्रतिशत आत्महत्या गर्नेले पटकपटक प्रयास गरेको देखिन्छ । आत्महत्या गर्न खोज्नेलाई सबैभन्दा धेरै माया गर्ने, एक्लो महसुस हुन नदिने, प्रशंसाको समेत आवश्यकता पर्ने परामर्शदाता बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->