आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थी मारिएको पुष्टि

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थी मारिएको पुष्टि


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८०, आइतबार

काठमाडौं / प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् । राजदूत रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण-३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा-८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर-९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी-१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति-४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

राजदूत रिजालले भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’

आइतबार विहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->