पोखरा/ कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्क्षय दीलिपविक्रम शाहीले बताए ।
घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापूर्व कालदेखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् । यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारीसहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो ।
बडा दशैंको फुलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेलसमेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विर्सजन हुनेछ । यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरूलगायत तोपहरूकोसमेत प्रदर्शन गरिने मन्दिरका अमाली खिमबहादुर कार्कीले बताए ।





