शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भकिम्ली मुसुङमा टिमुर खेतीको परीक्षण पूर्ण रूपमा सफल

भकिम्ली मुसुङमा टिमुर खेतीको परीक्षण पूर्ण रूपमा सफल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

बेनी /म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लको मुसुङ गाउँमा टिमुर खेतीको परीक्षण पूर्ण रूपमा सफल भएपछि कृषक उत्साहित भएका छन् । पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढ्न थालेपछि मुसुङका लालबहादुर घर्तीले किबी खेती आसपासको क्षेत्रमा तीनबर्ष अगाडी लगाएकको टिमुर यस वर्षदेखि उत्पादन सुरू भएको हो । किबीसँगै औषधीय गुणी टिमुर खेतीलाई व्यावसायिकीकरण गर्ने उदेश्यले लालबहादुर बारीमा लगाएकोमा राम्रो फल दिन थालेपछि अब खेतबारी र पाखोमा समेत टिमुर खेती कृषक घर्तीले बताए ।

‘मुसुङ क्षेत्रमा टिमुर उत्पादन हुन्छ,अब खेर गएको जमिनको सदुपयोग समेत गरी खेती गर्नुपर्छ,केही वर्षमा टिमुरको पकेट क्षेत्र समेत बनाउन सकिन्छ।’स्वर्गाश्रम अर्गानिक कृषि समुहका अध्यक्षसमेत रहेका घर्तीले भने ।उनले यसवर्ष आफ्नो बारीमा ५ देखि ७ वटा बोटले उत्पादन दिएको बताए । पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यसवर्ष भने लटरम्म फलेका छन् । मुसुङका अगुवा कृषक घर्तीसँगै पहिलोपटक परीक्षणका लागि अन्य कृषकले लगाएको टिमुरले समेत उत्पादन दिएपछि अब गाउँलेले व्यावसायिक टिमुर खेती गर्ने योजना बनाएको वडा अध्यक्ष पदम पुनले बताए ।‘हावापानी अनुसारको उत्पादनमा गाउँले सक्रिय छन्, अब व्यक्तिगत र सामुदायिक क्षेत्रमा पनि विस्तारको योजना बनाएका छौँ,’ अध्यक्ष पुनले भने । मुसुङ गाउँमा अहिले आलु लगायतका अन्य तरकारी खेती र किबी उत्पादन हुन्छ ।

कुल ७४ घरधुरीमा हाल ६४ घरधुरी सक्रिय रुपमा कृषि पेशामा आवद्ध भएकाले हरेक घरघुरीलाई पाखा, खेतबारी र खेर गएको जमिनमा टिमुर खेती गरिने कृषक पृथबहादुर पुनले बताए । मानव स्वास्थ्यलाई अत्यन्त राम्रो मानिने, औषधिका रुपमा प्रयोग हुने भए पनि यसको खेती विस्तार गरी उपयोगिताका विषयमा गाउँका कृषकलाई चेतना नभएका कारण अहिलेसम्म रोपिएको थिएन । वडा कार्यालय, डिभिजन बन कार्यालय सहित अन्य कृषि क्षेत्रमा सक्रिय अगुवा कृषकको नर्सरीबाट समेत खरिद गरी टिमुर खेती गर्ने स्थानीय कृषकको भनाई छ । टिमुर थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुन्छ । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिन समेत टिमुर उत्पादन गर्न सकिन्छ । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–९ स्थित तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् भने जिल्लाभर करिब ५० हेक्टर जमिनमा टिमुर खेती हुन्छ । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय मानिन्छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले म्याग्दी टिमुर खेतीका लागि अत्यन्त सम्भावना भएको क्षेत्र भएकाले फूल फुल्ने र फल लाग्ने समयमा असिनाले क्षती नपुगे वार्षिक करिब ७ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताए। टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ। मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ। गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिकरुपले खेती विस्तार भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->