पोखरा / पोखरामा विहिबारदेखी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता रहेको जानकारी दिए ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, नेपाल पुलिस क्लव, सात प्रदेश र मदन भण्डारी स्पोट्र्स क्लब रेड र ब्लुको सहभागिता रहेको छ ।
खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।
मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बीच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।
उपाधि विजेता टिमले नगद ५ लाख रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।







