पोखरा / नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त खेल मैदान अभाव भएको बताएका छन् । नेपालमा अन्तर्राष्ट्रिय तरका खेल मैदान नहुँदा पनि खेलाडीले अभावमै भएपनि प्रतिस्पर्धा गरिरहेको उनले बताएका छन् ।
पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको आफ्नै नामको टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उनले राज्यले घोषणा गरेको पुरस्कार रकम नपाएपनि खेलाडीले उत्साह र मनोबलका साथ क्रिकेटमा उचाइ छोएकोसमेत बताए । खेलाडीले पाउनुपर्ने वक्यौता रकम दिन सरकारलाई आग्रह समेत गरे ।
‘हामीसँग उपयुक्त खेल मैदान छैन् । हामी निर्माणधीन खेल मैदानमा आज पनि प्रतिस्पर्धा गर्छौ, प्रतियोगिता खेल्छौं,’ ओलीले भने,‘क्रिकेटको क्षेत्रमा सफलतापूर्वक हामी अघि बढिरहेका छौं । हामीले क्रिक्रेटमा विश्वसँग प्रतिस्पर्धा गर्ने भइसकेका छौं । सरकारले घोषणा गरेको पुरस्कार बाँकी होला, वक्यौता । त्यो राम्रो कुरा होइन तर हाम्रा क्रिकेट खेलाडीहरुको उत्साह र मनोबलमा कुनै कमी आएको छैन,’ ओलीले भने, ‘यस्ता नकरात्मक कुराले कमी आउन पनि हुँदैन ।’
उनले पोखरा क्रिकेट मैदानलाई उपयुक्त ढंगले निर्माण गर्दै त्यसलाई स्तरीय बनाउनेसमेत बताए । एमालेको सरकार भएको समयमा देशभर रहेका पुराना खेल पूर्वाधारको पुनः निर्मााण्को कार्य सम्पन्न भएको उनले जिकिर गरे । पोखरा, जनकपुरलगायतका स्थानमा रंगशाला नभएको र एमाले सरकारले त्यहाँ रंगशाला निर्माण गरेको ओलीको जिकिर थियो ।
ओलीले नेपालका लागि विशेषगरी तराई क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न सकिने बताए । रंगशाला बनाउनका लागि सानो ठाउँले नहुने र ठूलो ठाउँको आवश्यक रहेकाले त्यो तराई क्षेत्रमा मात्रै सम्भव रहेको उनको तर्क थियो ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने बताउँदै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेकपा एमाले नेतृत्वको सरकारका समयमा खेल क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताए ।
कार्यक्रममा मदनभण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, उपाध्यक्ष राजेश गुरुङ लगायतले धारणा राखेका थिए । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु. पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु. दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद रु पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
‘सबैका लागि खेलकुद’ को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो ।





