बागलुङ / नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटनलाई खेलकुदमार्फत प्रर्वधन गर्ने उद्देश्यले बागलुङको ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ सुरु भएको छ ।
गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार-२०२३’ शनिबारसम्म संचालन हुनेछ ।
सेमिनारको उदघाट्न गर्दै संघीय सांसद देवीप्रकाश भट्टचनले खेलाडी राष्ट्रको गहना भएको र उनीहरुले नेपाललाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।ढोरपाटन धेरै हिसाबले संभावना बोके पनि अहिलेसम्म विकासका हिसाबले पछाडि परेको हुँदा यहाँको विकासका लागि आफू निरन्तर लाग्ने र यस किसिमका कार्यक्रमले पनि यसको प्रवद्र्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।

गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रलाई चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । खेल क्षेत्र राष्ट्रको प्राथमिकतामा पर्न नसकेको भन्दै उनले यसको क्षेत्रको विकासका लागि संसदमा आवाज उठाउने वताए ।
कार्यक्रममा गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका अध्यक्ष तथा नेपाल टेक्वान्दो महासंघका केन्द्रीय महासचिव घमबहादुर थापाले ढोरपाटनको पर्यटन प्रवद्र्धन गर्नका लागि यहाँ सेमिनारको आयोजना गरेको जानकारी दिए। विगतदेखिनै राज्यको नजर पर्न नसकेको ढोरपाटनमा खेलकुदमार्फत प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि यो सेमिनारले मद्दत पु¥याउने उनले वताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवहाक प्रमुख धनबहादुर कायत, नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष बासुदेव भट्ट, गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका सदस्य विशाल बुढा लगायतले मनतव्य ब्यक्त गरेका थिए ।
सेमिनारमा मार्सल आर्टस्का पवर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पेसियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिनेछ । सेमिनारबाट देशभरबाट ४०० खेलाडीको सहभागिता रहेको थियो ।





