पोखरा / पोखरामा जारी केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न लुम्बिनी प्रदेशलाई जित्नैपर्ने दबाब गण्डकी प्रदेशलाई भएको छ । शनिबार हुने खेलमा गण्डकीले लुम्बिनीलाई जित्नै पर्ने भएको हो ।
शनिबार समूह ‘बी’ अन्तर्गत एपिएफ क्लबले लुम्बिनी प्रदेशमाथि ८४ रनको फराकिलो जीत निकाल्दा गण्डकीलाई जित्नै पर्ने दबाब भएको हो । समूह चरणमा गण्डकीले एपिएफलाई ४ विकेटको झिनो अन्तरले हराउँदा एपिएफले आफ्नो अन्तिम खेलमा लुम्बिनीमाथि फराकिलो जीत हासिल गर्दा गण्डकीलाई दबाब भएको हो ।
एपिएफ नेट रनरेटमा गण्डकी भन्दा अघि छ । एपिएफले जित्दा लुम्बिनीको समेत अन्तिम चारको आशा जिवितै छ । यदि लुम्बिनीले गण्डकीलाई ८४ रनभन्दा बढी रनले हराएको खण्डमा अन्तिम चारमा प्रवेश गर्न सक्नेछ । अन्यथा लुम्बिनीको यात्रा सकिने छ । लुम्बिनी र गण्डकीबीचको खेल आज (आइतबार) हुँदैछ । तर, गण्डकीको जीतको सम्भावना भने बलियो रहेको छ । गण्डकीलाई होम एडभान्टेज छ ।
शनिबार १५२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ६७ रनमा सीमित हुन पुग्यो । लुम्बिनीका लागि रोशन गुप्ता १३ रनमा अविजित रहे । उनले २७ बलमा १ चौका प्रहार गरे । रमेश कुर्मी ४ रनमा अविजित रहे । ओपनर सुशान्त थापा ६ रनमा बोल्ड भए । अर्का ओपनर मनिष थापा शून्यमै एल्बीडुब्लु भए ।
मिर्नल गुरुङ १४ रनमा क्याच आउट भए । उनले २२ बलमा १ चौका प्रहार गरे । विराट भण्डारी ५, कप्तान कृष्ण कार्की ६, सुमित नेवार २ रनमा र मोहम्मद हुसेन र अभिषेक गौतम शुन्यमै आउट भए ।
एपिएफका लागि अरुण ऐरीले ४ ओभरमा ७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यो प्रतियोगिताकै सबैभन्दा बढी विकेट हो । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै ५ हजार रुपैयाँ र बल पाए । यस्तै भुवन कार्कीले २ तथा अभिनाष बोहोरा र अमर राउटेलाले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पोखरा क्रिकेट मैदानमा ब्याटिङ थालेको एपिएफले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन जोड्यो । एपिएफका लोकेश बम ३२ रनमा अविजित रहे । उनले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर कप्तान प्रदीप ऐरी ३० रनमा क्याच आउट भए । उनले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । आसिफ शेख १३ रनमा बोल्ड भए । उनले १६ बलमा १ छक्का प्रहार गरे ।
पुर्ण विक २३ रन बनाउँदै रन आउट भए । उनले १४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सन्दिप जोरा ४ रनमा क्याच आउट, भुवन कार्की शुन्यमा बोल्ड, सुमित महर्जन १८ रनमा क्याच आउट र अरुण ऐरी २५ रन बनाउँदै रन आउट भए ।
लुम्बिनीका लागि रमेश कार्की र अभिषेक गौतमले समान २/२ विकेट लिए भने मोहम्मद हुसेनले एक विकेट लिए । यसअघि समूह ‘ए’ बाट बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । अब समूह ‘सी’ र ‘डी’ का खेल हुन बाँकी छन् ।





