म्याग्दी / म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङको उपल्लो जलजलामा हाइअल्टिच्यूड खेलकुदका लागि अधिक सम्भावना रहेको छ ।
गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा पहिलोपटक आयोजित तिनदिने ‘प्रथम ढोरपाटन हाइअल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ मा समथर भूभाग र नजिकै हिमश्रृंखला देखिने माथिल्लो जलजला उच्च क्षेत्रमा आयोजना हुने खेलकुद गतिविधिका लागि प्रसस्तै सम्भावना रहेको बताइएको थियो ।
समुन्द्री सतहदेखि करिब ३७ सय मिटर उचाइमा रहेको उक्त स्थानमा विभिन्न खेलकुद गतिविधि सञ्चालनको उच्च सम्भावनाका बारेमा चर्चा र पूर्वाधार विकासमा समेत ध्यानार्कषण गराउने उदेश्यले गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय र ढोरपाटन नगरपालिकाको सहयोगमा सेमिनार गरिएको थिउो ।

शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म सञ्चालन भएको सेमिनारमा बागलुङका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले हाइअल्टिच्यूड खेलकुदका लागि जलजला क्षेत्रलाई ट्रेनिङ सेन्टर बनाउन सकिए गण्डकी प्रदेशकै खेल जगतको गौरव हुने बताए । पहिलोपटक हाइअल्टिच्यूडमा गरिएको सेमिनारले खेलाडीमा आत्मबल बढ्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत सघाएको अध्यक्षद्धय बुढा र गर्बुजाको भनाई छ ।
नेपालकै एक मात्रै आरक्ष केन्द्र ढोरपाटनको प्रवद्धन र खेलाडीहरुमा विभिन्न प्राविधिक ज्ञान हासिल गर्न सकिने स्थान भएकाले पूर्वाधार विस्तारमा तीनवटै तहका सरकारको संलग्नता आवश्यक रहेको बताइएको थियो । सेमिनारमा मार्सल आर्टका पावर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पे सियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिएको आइटीएफ गण्डकीका सचिव प्रतिक घर्ती मगरले बताए ।
नेपाल आइटीएफ तेक्वान्दो महासंघका महासचिव तथा गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले यसपटकको सेमिनारले उपल्लो जलजला क्षेत्रको सम्भावनालाई प्रचारप्रसार गरेको बताए । उपल्लो जलजलाबाट म्याग्दीमा पर्ने पुथा, चुरे, गुर्जा, धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरी हिमाल लगायतका हिमश्रृंखलासहितको प्राकृतिक दृष्यसमेत अवलोकन गर्न पाइन्छ ।





