पोखरा/ सुदुरपश्चिम प्रदेशसंग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसंग ४ विकेटले पराजित भएको थियो ।
पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । मधेशले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।
पुलिसले पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको थियो । बराबर अंक रहेका मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको -३.२२९ छ ।
यसअघि बागमती प्रदेश र शसस्त्र प्रहरी बल (एपीएफ) मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप टि-20 क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
मंगलबार नै हुने दोस्रो खेलले सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्नेछ । त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबिचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
उक्त खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बिचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।





