सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेलाडीको अनिश्चित र अन्यौलपूर्ण भविष्य !

खेलाडीको अनिश्चित र अन्यौलपूर्ण भविष्य !

तीनवटै तहका सरकारहरु खेलाडीको भविष्य सुनिश्चित गर्न असफल हुँदा क्षमतावान खेलाडीहरु कि विभागीय टोलीमा पुगेका छन् कि विदेशिन अभिषप्त छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०८०, आइतबार
तस्वीर : पोखरामा हालै सम्पन्न केपी ओली टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत मैदानमा रहेका खेलाडीहरु ।

पोखरा/ पोखरामा शुक्रबार राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सम्पन्न भयो । विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेश च्याम्पियन बन्यो । घरेलु खेलकुद प्रतियोगिताहरुमा विभागीय क्लब नै हाबी हुने गर्दछन् । पहिलोपटक विभागीय क्लबलाई हराउँदै मधेश प्रदेशले ऐतिहासिक जित निकाल्यो । मधेश प्रदेशको यो पहिलो राष्ट्रिय उपाधि हो । राष्ट्रिय खेलाडीले भरिपूर्ण विभागीय क्लबमाथि मधेसले जित हासिल गर्दै गर्दा यो जित मधेसको मात्र नभइ समग्र सातै प्रदेशको थियो । क्रिकेटमा विभागलाई हराउँदै प्रदेशले राष्ट्रिय उपाधि जितेको नै यो पहिलो हो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सातै प्रदेशको प्रदर्शन उत्कृष्ट रह्यो । घरेलु क्रिकेटमा राज गरिरहेका आर्मी, एपिएफ र पुलिसमाथि यस पटक प्रदेशले राम्रै चुनौती दिए । प्रतियोगितामा बागमती प्रदेश र मधेश प्रदेश तथा आर्मी र एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो । उपाधि जित्दै गर्दा विभागीय क्लबहरुबाट समेत खेलिसकेका राष्ट्रिय खेलाडी अनिल शाहले प्रदेश सरकारले प्रदेश टिमलाई संरक्षण गर्न नसकेको सुनाए । विभागीय क्लबमा जस्तो प्रदेशबाट खेल्दा नहुने उनको भनाई छ । प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा विभागमा जाने सबै खेलाडीको चाहाना हुने उनी बताउँछन् । ‘प्रदेशबाट खेल्दा केही पनि छैन् । यही प्रतियोगिताकै कुरा गरौं, प्रदेशको नाममा आउँदा हामीलाई न भत्ता छ, न केही छ । न हामीले राम्रो सँग प्रशिक्षण गर्न पाएका थियौँ ।

न त खेलाडी छनोट नै । हामी पुरानै टिम खेल्न आएका छौं,’ उनले भने, ‘प्रदेशमा खेलाडीको भविष्य अन्यौलपूर्ण छ । प्रदेशमा एक्पोजर धेरै हुँदैन । विभागमा जुन हिसाबको स्थायित्व छ । खेलाडीहरुको आर्थिक होस् या खेल कौशल प्रदर्शन गर्ने अवसर नै किन नहोस् त्यो निकै कम छ प्रदेशमा ।’ राज्यले खेलकुदलाई त्यति चासो नदिएको उनको गुनासो छ । प्रदेशस्तरीय प्रतियोगितालाई क्यालेन्डरकै रुपमा राखे क्रिकेट मात्र नभई हरेक खेलमा प्रदेश अब्बल हुने उनी बताउँछन् । उनका अनुसार मधेशको ८ जिल्लामै क्रिकेट क्रेज छ । ‘हाम्रो प्रदेशमा धेरे खेलाडीहरु छन् । जस्तै ८ वटै जिल्लामा क्रिकेट

खेल्ने खेलाडीहरु छन् । क्रिकेटको लागि एकदमै क्रेजवाला जिल्ला हो । हाम्रा लागि जति धेरै गेम पायो त्यति धेरै राम्रो हुन्छ । हामीलाई अगाडीको दिनमा टिमलाई विल्ड गर्न धेरै मद्धत पुग्छ ।’
यस्तै राष्ट्रिय खेलाडी तथा मधेशका कप्तान हरिशंकर शाहले पनि प्रदेशले क्रिकेटका लागि सोच्नु पर्ने बताउँछन् । उनले पोखरा क्रिकेटका लागिमात्र नभई अन्य खेलका लागि समेत उत्कृष्ट रहेकाले पोखरामा अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्ने बताए । ‘पोखरा निकै सुन्दर छ । अन्य ठाउँको भन्दा यहाँको मौसम राम्रो छ । हिमालको काखैमा मैदान छ तर राज्यले पूर्वाधार बनाउन सकिरहेको छैन्,’ उनले भने, ‘पूर्वाधार सँगै राज्यले प्रदेशका खेलाडीकाल लागि समेत केहि गर्नुपर्छ ताकी प्रदेशका खेलाडी विभागमा नजाओस् ।’

गण्डकी प्रदेश क्रिकेट टिमका प्रशिक्षक रिजन प्रजुले प्रदेशका टिमहरु पछिल्लो समय धेरै माथिल्लो स्तरमा उठेको सुनाए । उनले प्रदेश वा स्थानीय सरकारको साथ नहुँदा समेत स्थानीय खेलाडीको मिहेनतले प्रदेशहरु अब्बल भएको बताए । ‘विभागीय टोलीका खेलाडी राम्रो पिचमा खेलिरहेका हुन्छन् । प्रदेशका खेलाडी यही पिचमा खेलिरहेका छन् । प्रदेशको टिम पहिलाको दाजोमा अहिले राम्रो छ । अहिले प्रदेश सरकार छ, स्थानीय सरकार छ । यी दुई सरकारले प्रदेशका खेलाडीलाई संरक्षण गर्न सक्ने हो भने विभागीय क्लबमा जादैनन् ।’

राष्ट्रिय खेलाडी तथा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले खेलाडीहरु प्रदेशबाट खेलिरहने वातावरण नेपालमा नरहेको बताए । विभागभन्दा पहिला प्रदेशमै खेलाडी उत्पादन हुने र पछि उज्जवल भविष्यका लागि विभागमै जानुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । ‘प्रदेशका टिम पनि राम्रो छ । तर, प्रदेशबाट प्लेयर कहिलेसम्म खेल्ने भन्ने हुन्छ । प्रदेशले खेलाडीलाई हेरिदियो भने विभागमा जान बाध्य हुने थिएनन्,’ उनले भने, ‘अब अहिले विभागमा सबै सुविधा छ र खेलाडीहरु आइरहेका हुन्छन् । विभागमा एउटा प्लस पोइन्ट भनेको बाह्रै महिना प्रशिक्षण हुन्छ । त्यसले प्रदेश भन्दामाथि देखिन्छ । प्रदेशले समेत बाह्र महिना नै प्रशिक्षण गराउने हो भने विभाग र प्रदेशमा केहि फरक रहँदैन् । प्रदेशले खेलाडीलाई हेर्नु पर्छ ।’

खेलाडीहरुका अनुसार प्रदेशले खेल गतिविधिलाई बढाउनुपर्छ । निरन्तर खेल गतिविधि हुने र प्रदेशमै खेलाडी राख्नका लागि स्वरोजगार तथा रोजगारको अवसर सिर्जना गर्न सकेमा खेलाडी बाँच्ने आधार हुने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->