पोखरा / संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ काठमाडौँ अवतरण गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरे।
१४–१६ मंसिरमा भएको सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्डले शनिबार कोप–२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनुपर्ने’ बताएका थिए।
त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए। आइतबार उनको संयुक्त राष्ट्रसंघका महासचिप एन्टोनियो गुटेरेससँग पनि भेट भएको थियो।
यसैविच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए । उनले भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थेँ ।’
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए । ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ । उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्’, प्रपधानमन्त्री प्रचण्डले भने, ‘मैले साथीहरुलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ ।’





