पोखरा / पोखरामा एफसी ‘सी’ लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सुरु भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको सहकार्य कोर्ष सुरु भएको हो ।
पहिलो पटक कास्कीमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रमा कास्कीको फुटबलप्रति चिन्ता समेत व्यक्त गरिएको छ । कुनै समय राष्ट्रिय फुटबल खेलाडीहरु उत्पादन गर्दै आएको कास्कीको पछिल्लो समय राष्ट्रिय खेलाडी उत्पादन हुन छाडेको छ ।
उक्त कोर्षको उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले कास्कीको फुटबलमा सेभेन ए साइड, नाइन ए साइडमात्र हुने गरेको तर फुटबलकै प्रतियोगिता भने नहुने गरेको बताए । उनले सेभेन ए साइड र नाइन ए साइड फुटबलले खेलाडी उत्पादन नहुने सुनाए ।

यस्तै राज्यले खेलकुदमा लगानी न्युन गरेको र यसलाई बढाउनुपर्नेमा जोड दिए । निर्वाचको समयमा खेलकुदका बारेमा ठुला कुरा गर्ने तर बजेट दिदाँ कन्जुस्याई गर्ने गरेको उनको भनाइ छ । ‘निर्वाचनको बेलामा उम्मेदवारहरुले खेलकुदको बारेमा ठुला कुरा गर्छन्, खेलकुद सामग्री समेत वितरण गर्छन् तर, जितेर गएपछि खेलकुदमा बजेट नै छुट्याउन खोज्दैनन्’ उनले भने, ‘अब प्रश्न गर्ने बेला आएको छ ।
खेलकुदमा बजेट किन छैन किन नहाल्ने भनेर ।’ उनले राज्यले खेलकुदको क्षेत्रमा कुल बजेको पाँच प्रतिशत मात्र दिएपनि नेपालको खेलकुदले ठुलो फड्को मार्ने र खेलाडीलाई जिविकोपार्जन गर्न सहज हुने बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनियाले पछिल्लो समय कास्कीको फुटबलले गति पाउन नसकेको सुनाए ।
फुटबल प्रति चिन्ता व्यक्त गर्दै कास्की जिल्ला लामो समय देखि फुटबलको उर्वरभूमी रहे पनि त्यो निराशा चिर्न प्रशिक्षण कार्यक्रमले भूमिका खेल्ने उनको भनाई छ ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवं प्रशिक्षक हरि खड्काले नेपाली फुटबल विकासका लागि एफसी द्वारा एन्फा मार्फत यो कार्यक्रमलाई देशव्यापी बनाउने गरि अघि बढाएको सुनाए ।
प्रशिक्षणमा कास्कीका १४ सहित विभिन्न जिल्लाका गरि २४ जना फुटबल प्रशिक्षकहरुको सहभागिता छ । आज बाट सुरु भएको उक्त प्रशिक्षण एक साता चल्ने छ भने अर्को चरणको एक महिना पछि पुनः सुरु हुने छ ।
(तस्वीर : सुदर्शन रञ्जित)





