सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सम्झौता जिल्लासँग रकम क्षेत्रीयको खातामा

सम्झौता जिल्लासँग रकम क्षेत्रीयको खातामा

सुरक्षा गार्ड दुई जना मात्रै, रकम आउँछ पाँच जनाको


  • विजय नेपाली
  • मंसिर २१ २०८०, बिहिबार

पोखरा/ पोखरा रंगशालाको आम्दानीमा हिनामिना हुने गरेको खुलेको छ । पोखरा रंगशालाको हाताभित्र भाडामा लिएका जग्गाको रकममा अनियमितता देखिएको हो । पोखरा रंगशालामा संचालन भइरहेका जिम हल, रसुवा कन्स्ट्रक्सन प्रालिको निर्माण सामग्री राख्ने, लाहुरे टे«निङ, नर्सरीलगायतबाट हुने आम्दानीमा चलखेल हुने गरेको पाइएको हो । उनीहरुसँग जिल्ला खेलकुद विकास समितिले सम्झौता गरेको भएपनि रकम उठाउने काम भने क्षेत्रीय खेलकुद विकास समितिले गरेको छ । यतिमात्र होइन,सम्झौतामा बैंक खाता नम्बर एउटा र भाडामा लिएकाले दिने खाता नम्बर नै अर्कै छ ।
पोखरा रंगशालाभित्रको जग्गा जिल्ला खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषदको नाममा छ । जिल्ला खेलकुदको नाममा ८२ रोपनी जग्गा छ भने बाँकी राखेपको नाममा छ । सम्झौता अनुरुप रकम दाखिला जिल्लाकै खातामा हुनुपर्ने भए पनि त्यहाँ कार्यरत कर्मचारी र राखेपकै केही व्यक्तिका कारण क्षेत्रको खातामा जम्मा हुने गरेको छ । पोखरा रंगशालाभित्र संचालित ट्रेनिङ सेन्टर, नर्सरी, चमेनागृह, जिमहल, तथा जग्गा भाडाबाट आउने रकम र विभिन्न प्रतियोगिताबाट हुने आम्दानीमा हुने गर्दछ ।

पोखरा रंगशालामा सेक्युरिटी गार्डको नाममासमेत अनियमितता भइरहेको छ । रंगशालामा संचालित ट्रेनिङ सेन्टर र रसुवा कन्स्ट्रक्सनबाट सेक्युरिटि गार्डको नाममा रकम लिइन्छ । ट्रेनिङ सेन्टर र हालै मात्र जग्गा भाडामा लिएको रसुवा कन्स्ट्रक्सनले गरी कुल पाँच सेक्युरिटी गार्ड बराबरको रकम क्षेत्रीय खेलकुदको बैंक खातामा पठाउने गर्छ । टे«निक सेन्टरले ३ सेक्युरिटी गार्ड अर्थात मासिक ६० हजार र रसुवा कन्स्ट्रक्सनले २ सेक्युरिटि गार्डअर्थात् ४० हजार रुपैयाँ दिने गरेको छ । यी दुई सम्झौता अनुसार पोखरा रंगशालामा पाँच जना सेक्युरिटी गार्ड हुनुपर्ने हो । तर, त्यहाँ २ जनामात्रै सेक्युरिटी गार्ड रहेका छन् । स्रोतका अनुसार राखेपका सदस्य र कर्मचारीको मिलेमतोमा गार्डको भनेर रकम माग्ने र आफैले गार्डको व्यवस्थापन गराउने भन्दै बैंकमा रकम दाखिला गर्न लगाउँछन् । उनीहरुले जिल्लाको खातामा रकम दाखिला गर्नै दिदैँनन् । ‘यो पनि भ्रष्टाचारकै पाटो हो । अब त प्रदेश खेलकुद परिषद् छ तर यहाँ क्षेत्रीयकै खातामा रकम जम्मा गर्न लगाउँछन्,’ स्रोतले भन्यो । प्रदेश खेलकुद परिषद्ले आफ्नै खर्चमा एकजना सेक्युरिटि गार्ड खटाएको छ । यसरी हेर्दा पोखरा रंगशालामा ३ जनामात्रै छन् । क्षेत्रीय खेलकुद विकास समितिले ३ जना सेक्युरिटी गार्डको रकम कहाँ लैजान्छ केही अत्तोपत्तो छैन् ।

रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले २०७९ पुष २७ गते क्षेत्रीय खेलकुद विकास समितिलाई जग्गा उपलब्धका लागि पत्र काटेको थियो । पत्रअनुसार क्षेत्रीयले माघ २९ गते राखेपलाई स्विकृतको लागि पत्र पठायो । उक्त पत्रका आधारमा राखेपले फागुन ५ गते क्षेत्रीयलाई सहमति दिएको पत्राचार ग¥यो । त्यो पत्र क्षेत्रीय खेलकुद विकास समिति प्रमुख लक्ष्मण योगीको नाममा आएको थियो । सो पत्र अनुसार क्षेत्रीय खेलकुद विकास समितिले सार्वजानिक खरिद ऐन अनुसार सार्वजानिक सूचना निकाल्नुपर्ने थियो तर विना सूचना सम्झौता गरेको देखिन्छ । यस्तै सम्झौता अनुसार सम्झौता अवधिभर कम्पनीले भाडा स्वरुप दुई जना सेक्युरिटी गार्ड बराबरको तलब दिनुपर्नेछ ।

उता बुल्समेन इन्टप्राइजेज र कास्की जिल्ला खेलकुद विकास समिति बिच १० वर्षका लागि ६ बुँदे लिखित सम्झौता भएको देखिन्छ । बुल्समेनका लागि २०७६ साउन १ गते जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र वुल्समेन क्लब पोखराका अध्यक्ष नुना गुरुङबीच सम्झौता भएको देखिएको छ । उक्त सम्झौता १० वर्षका लागि अर्थात् २०८६ असार मसान्तसम्मका लागि छ ।
उक्त सम्झौताको बुदा नम्बर १ मा भनिएको छ, ‘उल्लेखित जिम हल संचालन वापत प्रति महिना रु १८ हजार मात्र प्रत्येक महिनाको १५ गतेभित्र यस समितिको कृषि विकास बैंकमा रहेको खाता नं ०३१६४००२१६८६६०१० मा दोस्रो पक्ष (बुल्समेन) ले जम्मा गर्नुपर्नेछ । तर, सम्झौता अनुसार बुल्समेनले ०८० असारसम्म भाडा तिरेको छैन् ।

यस्तै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र ओम बुद्ध नर्सरीका संचालक दिलबहादुर पाख्रिनबीच २०७६ पुस १ गते सम्झौता करिब ३ रोपनी जग्गाको सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार जिल्ला खेलकुद समितिकै सोही खातामा रकम जम्मा गर्ने सम्झोता भएको छ । उक्त सम्झौता ०८० मंसिर मसान्तसम्मका लागि छ ।

यसरी पोखरा रंगशालामा जिल्ला सँग सम्झौता भएपनि रकम भने क्षेत्रीय खेलकुद विकास समितिको खातामा जाने गरेको छ । सम्झौता विपरित कृषि विकास बैंकमै रहेको पश्चिमाञ्चल केन्द्रिय खेलकुद विकास समिति नामक खाता नं.०३१६४००२०७४२६०१६ नंम्बरको खातामा रकम जम्मा हुँदै आइरहेको छ । अनियमितताकै चंगुलमा रहेको पोखरा रंगशालाको गतवर्ष अडिट रिर्पोटसमेत तयार गरेको छैन् । यस्तै क्षेत्रीय खेलकुद विकास समितिले दिएको वार्षिक आम्दानी तथा खर्च अनुसार आर्थिक वर्ष २०७९÷०८० मा सुरक्षा गार्ड, कार्यालय सहयोगी तथा कुचिकार भनि तीन लाख, ८१ हजार तीन सय ४६ रुपैयाँ खर्च भएको देखिन्छ ।

सागर नर्सरीका संचालक दिल बहादुर पाख्रिनले सम्झौता भएको मितिबाट नै क्षेत्रीय खेलकुद विकास समितिको खातामा रकम पठाउने गरेको जानकारी दिए । उनले हरेक महिनामा सम्झौताको महिना मर्नुभन्दा एकदिनअघि नै रकम जम्मा गर्ने गरेको सुनाए । यस्तै रसुवा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजरलेसमेत क्षेत्रीय खेलकुदकै खातामा रकम पठाउने गरेको जानकारी दिए ।

सम्झौतामा त्रुटि देखियो : सदस्य सचिव

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरा रंगशालालाई व्यवस्थित गर्ने अभियानमा आफुहरु लागि परेको बताए । उनले पोखरा रंगशालामा कहीँकतै गलत भएको भेटिएमा कानून अनुसारको कारवाही गरिने सुनाए । शर्माका अनुसार आफुहरुले सम्झौता पत्र हेर्दा सार्वजानिक खरिद ऐनअन्तर्गत हुनुपर्ने भाडा वृद्धि नभएको हो ।

‘सार्वजानिक खरिद ऐनले वार्षिक रुपमा भाडा वृद्धि गरे पाँच प्रतिशत र दुई वर्षमा वृद्धि गर्ने भए १० प्रतिशतले गर्नु पर्ने हो । तर, यहाँ भाडा वृद्धिदरको कुनै कुरा उल्लेख नै गरिएन् । सम्झौता जिल्ला खेलकुदको नाममा छ तर रकम क्षेत्रीय खेलकुदमा गइरहेको छ,’ उनले भने ।

शर्माले चमेना गृह, ओम बुद्ध नर्सरी, बुल्समेन जिम, रसुवा कन्स्ट्रक्सन र नेपाल फिजिकल टे«निङ एसोसिएसनलाई सम्झौताको पत्र सहित परिषद्मा उपस्थिति हुन अनुरोध गरेको जानकारी दिए । उनका अनुसार प्रखेपले २०८० मंसिर ६ गते पत्राचार गरेको थियो । क्षेत्रीयले रसुवाबाट दुईजना गार्ड बराबरको तलब र टे«निङ सेन्टरबाट तीन जना बराबरको रकम लिने गरेको उनले बताए । तर ट्रेनिक सेन्टरले करिब तीन लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको उनले जानकारी दिए ।

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम खेलकुद क्षेत्रको संरचनाको रुपमा केन्द्रअन्तर्गत राष्ट्रिय खेलकुद परिषद, प्रदेश अन्तर्गत प्रदेश खेलकुद परिषद्, जिल्लामा प्रदेश अन्तर्गत जिल्लामा जिल्ला खेलकुद विकास समितिहरु र स्थानीय तहमा समेत खेलकुद संरचना रहने व्यवस्था गरेको छ । प्रदेश सरकारले समेत प्रदेश खेलकुद ऐनको व्यवस्था गरेको छ । सोही ऐनको प्रयोग गरेर हामीले सातदिनको म्याद राखेर पत्राचार गरेका हौं,’ उनले भने, ‘सबै अध्ययन गरेर के कसो हामी बुझ्छौं । त्यसपछि बाँकी काम हुन्छ ।’ गण्डकी प्रदेशको खेलकुदलाई नीति नियममा ल्याउन अग्रसर रहेको उनले सुनाए ।

क्षेत्रीयको खातामा रकम जम्मा गर्छौं : रसुवा कन्स्ट्रक्सन

राष्ट्रिय खेलकुद परिषदअन्तर्गत मैले सम्झौता गरेको हो, त्यतिखेर । यहाँका राजेश गुरुङ, लक्ष्मण योगीहरु हुनुहुदो रहेछ त्यतिखेर । त्यतिखेर राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नै हो भन्ने बुझेको थिए, मैले त्यही भएर यहाँ यो सेती पुल निर्माणको लागि मलाई जग्गा उपलब्ध गराइदिनु मैले अन्यत्र जग्गा पाइन यहाँ जग्गा भएकाले मैले लिखित निवेदन दिएको थिए । लिखित निवेदनको आधारमा उहाँहरुले हामीले यसै दिन त मिल्दैन एक पटक केन्द्रमा सोध्छौ भनेर केन्द्रमा सोध्नुभएको छ । राखेपको टिमले यहाँ नै अधिकार दिनुभएको रहेछ । अर्को पत्र लेख्नुभएको छ र त्यो आधारमा उहाँहरु र मैले एउटा सम्झौता गरेका छौं । सम्झौता गरेपछि उहाँहरुले दुईवटा वाचमेन बराबरको पैसा हामीलाई ४० हजार मासिक जम्मा गर । वाचमेन चाँहि हामीहरुले मिलाएर राख्छौ । तिमिहरुले केही गर्न पर्दैन भनेर भन्नुभयो र फागुनदेखि मैले रकम जम्मा गर्ने सम्झौता गरेको हो । पश्चिमाञ्चल खेलकुद परिषद भन्नेमा खाता नं. रहेछ हामीले त्यहि खातामै रकम हाल्ने गरेका छौं ।

यो रकम प्रदेशमा जम्मा गर्ने हो कि क्षेत्रीयमा हो हामीले त बुझेकै छैनौ । यता राजेश दाई प्रदेशमा नगर है भन्नुहुन्छ । श्रीधर सर आएर उहाँहरुको कुनै पनि अधिकार छैन, हाम्रो मातहात आइसक्यो भन्नुहुन्छ । अब पैसा त्यता होइन हामीलाई जम्मा गरिदिनुस् भन्नुहुन्छ । यो त म दोधारमा परिराखेको छु । अब कहाँ जम्मा गर्ने गर्ने के हो यो मैले बुझ्दै बुझिन ।’

मासिक ४० हजार र भ्याट जोडेर पाउँछौं : गोर्खा ल्याण्ड

पोखरा रंगशलालाई सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको गोर्खा ल्याण्ड सेक्युरिटी ग्रुप प्रालिका मोर्केटिङ म्यानेजर प्रभुनाथ रोकाले दुई जनाको मासिक २०÷२० हजारका दरले रकम पाउने गरेको जानकारी दिए ।

उनले सुरक्षा गार्ड व्यवस्थापन गरेको बताए । ‘दुईवटा रंगशालामा छ, एउटा प्रदेशमा छ । हामीलाई त रंगशालबाटै सरहरुले दिनुहुन्छ । अनि हामीले कर्मचारीलाई दिन्छम् । दुई जनाको ४० हजार र भ्याट जोडेर आउँछ ।’ उनको भनाई अनुसार कम्पनीले ४५ हजार दुई सय रुपैयाँ मासिक पाउने गर्छन् ।

वेवारिसे जस्तो भयो, कार्यविधि ल्याउँदैछौं : तोरण बानियाँ

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरा रंगशाला वेवारिसे जस्तै भएको प्रतिक्रिया दिए । उनले पोखरा रंगशालामा रहेको सुरक्षा गार्ड समितिको सम्झौतामा नरहेको समेत प्रष्ट पारे । ‘जिल्ला खेलकुदसँगको सम्झौता विना नै सुरक्षा गार्ड राखिएको छ । कोसँग सम्झौता गरेको हो, त्यसको कागजात वा नयाँ सम्झौता के छ भनेर मागेका छौं,’ उनले भने, ‘पोखरा रंगशाला त वेवारिसेजस्तै भयो । यहाँ नीति नियम केही छैन् । अहिले प्रदेशले गर्ने प्रयास गरिरहेको छ । हामीले पनि रंगशाला संचालनको आन्तरिक कार्यविधि बनाउँदै छौं ।’ रंगशाला संचालन एकद्धार प्रणालीबाट जाने तयारी भइरहेको उनले सुनाए । उनका अनुसार पोखरा रंगशालामा राज्य पक्षको पहँुचलाई दब्याउने काम भइरहेको छ । उनले आफूहरु गर या मरको स्थितिमा रहेको सुनाउँदै अब व्यवस्थित गर्न नसके झन ठूलो खाडलमा रंगशाला पर्ने टिप्पणी गरे ।

जिखेपविरुद्ध मुद्दा परेपछि क्षेत्रको खाता चलेको हो : डिवी नेपाली

क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपालीले २०७८ चैत २४ पछाडी जिल्लाको खातामा नभई क्षेत्रीयको खातामा रकम आएको बताए । उनले जिल्ला खारेज भएपछि रंगशाला संचालनको लागि त्यसो गरिएको सुनाए । तर, त्यसका लागि सम्झौता संशोधन भने भएको देखिदैन । उनले जिल्लाको मुद्दा परेपछि बताए पनि सम्झौता गरिएका फर्महरुले भने सम्झौताकै मितिदेखि क्षेत्रको खातामा रकम गरेको बताएका छन् । ‘पहिला जिल्लाकै खाता संचालनमा थियो । पछि जिल्लाको मुद्दा प¥यो । तोरण बानियाँ अध्यक्ष हुँदा उहाँहरु खारेज हुनुभयो र क्षेत्रको खाता संचालन भएको हो,’ नेपालीले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->