पोखरा/ तामाङ पत्रकार संघको २०औं स्थापना दिवसको अवसर पारेर तामाङ पत्रकार संघ कास्कीले पोखरामा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले आफ्नो समुदायको भाषा, संस्कृतिको जगेर्नाको पहल गर्दै पत्रकारको क्षमता अभिवृद्धिमा पनि जोड दिन तामाङ पत्रकार संघलाई सुझाए ।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले प्राविधिक विषयमा तालिम गर्न चाहेमा सहजीकरण गर्न तयार रहेको बताए ।
नेपाल तामाङ घेदुङ संघका संघिय उपाध्यक्ष दीपक तामाङले लामो इतिहास बोकेको यस संस्थाले कास्कीमा भने आफ्नो पाइलालाई बिस्तारै गति दिएकोमा खुसी व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ संघ कास्कीका अध्यक्ष भक्त तामाङले कास्कीमा तामाङ पत्रकारको संख्या र गुणस्तरमा सहयोग गर्न संघ तयार रहेको बताए ।
तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन रसमाया तामाङले गरेकी थिइन् ।





