बागलुङ/ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनमा हुने महासमिति बैठक भावी नेतृत्व, सरकारका मन्त्रीको पुर्नगठन र कांग्रेसको रुपान्तरणको कोषेढुंगा हुने बताएका छन् ।
नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले महासमिति बैठकले देशकै भविष्यसमेत निर्माण गर्न सक्ने बताए । उनले अब मिसन ८४ भन्दापनि १५ बर्षको सपना देख्नुपर्ने बताए । उनले भिजन ९५ भनेर सबै दल, नेता र कार्यकर्ता मिलेर देश निर्माण गर्नुपर्ने बेला आएको धारणा राखेका थिए ।
शर्माले आलोपालो प्रधानमन्त्री बन्ने कुराको सहमति अनुसार अबको पालो कांग्रेसको भएपनि ततकाल सरकारको बिकल्पमा भने नसोचेको बताए । आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेसबाट शेखर कोइरालादेखि धेरै नयाँ अनुहार आउन सक्नेमा भने उनले संकेत गरे । कांग्रेस सभापति शेरबहादुर देउवाको बिकल्पबारे छलफल हुनुलाई अनौठो मान्न नहुने पनि उनले बताए ।
लामो इतिहास बोकेको, ५ पटक प्रधानमन्त्री भैसक्नु भएको सभापति देउवालाई अझै कति भारी बोकाउने भन्ने आम कार्यकर्ताको पनि धारणा छ । ‘उहाँले धेरै योगदान गर्नुभयो, धेरैपटक प्रधानमन्त्री हुनुभयो, दुइपटक सभापति हुनुभयो’ शर्माले भने, ‘अब बिश्राम लिएर सल्लाह दिएपनि राम्रो हुन्छ ।’ महामन्त्री शर्माले प्रधानमन्त्री बन्न सक्ने एकसेएक नेता कांग्रेसमा भएको पनि बताए ।
कांग्रेस तन्नेरी बन्न चाहेको उनले खुलासा समेत गरे । देउवाको बिकल्पमा प्रधानमन्त्री बन्न सक्ने उनले आधादर्जन नामको खुलासा गरे । प्रकाशमान सिंह, बिमलेन्द्र निधीसहित गतबर्ष संसदीय दलमा प्रतिक्ष्पर्धा गरेका अर्का महामन्त्री गगनकुमार थापा र सशांक कोइराला पनि प्रधानमन्त्रीका संभावित उमेदवार हुने उनको धारणा थियो ।
उनले तत्काल सरकारको बिकल्प भने नखोजेको बताए । ‘लोकतन्त्रको बिकल्प सुधारिएको लोकतन्त्र हो, तर सरकारहरुका धेरै बिकल्प हुन्छन्’ शर्माले भने, ‘केन्द्रीय समिति र महासमिति बैठकमा कांग्रेसका मन्त्रीहरुको गम्भिर समीक्षा हुनेछ ।’ पुस दोश्रो साता हुने केन्द्रीय समितिको बैठकमै मन्त्रीहरुलाई एकबर्षको कार्यसम्पादन ल्याउन भनेको उनले बताए । महासमिति सम्ममा गम्भिर समीक्षा गरेर कांग्रेसबाट मन्त्री भएकाहरुको भविष्य निर्धारण हुने स्पष्ट पारे ।
अर्को प्रसंगमा शर्माले कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा अगुवाई गर्ने बताए । ‘अख्तियार ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी अपराध संहिता कांग्रेस नेतृत्वमा आएको हो’ उनले भने, ‘ती ऐन जारी गर्ने कांग्रेसकै नेता पनि थुनिएका छन् ।’ कोही पात्रले के गरे भन्ने कुरा र अदालतले के निर्णय ग¥यो भन्ने कुरा टिकाटिप्पणीको बिषय नभएको उनले बताए । पोखरा र भैरहवा जस्ता अन्तराष्ट्रिय बिमानस्थल चलाउन नसक्दा राज्यले अर्बौ नोक्सानी व्यहोरेकोमा उनले चिन्ता व्यक्त गरे ।





