आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पार्टीका नेता २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग

पार्टीका नेता २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग

४ पटक सांसदको टिकट र समानुपातिकमा १ पटकमात्र अवसर दिनुपर्ने ।


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८०, बिहिबार

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशको पहिलो बैठकले पार्टीको तर्फबाट एउटै व्यक्तिलाई २ पटकभन्दा बढी प्रधानमन्त्री र ४ पटकभन्दा बढी प्रतिनिधिसभा तथा प्रदेशसभामा टिकट नदिने व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला ‘मधु’ का अनुसार २ दिने सम्मेलनले सभापति शुक्रराज शर्माबाट प्रस्तुत अवधारणा सुझावसहित पारित गर्दै यो सुझाव केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको बताए ।
उनका अनुसार बैठकले समानुपातिकतर्फ एकपटकमात्र मनोनित हुने अवसर दिनुपर्ने तथा क्रियाशिल सदस्यको मतदानमार्फत् स्थानीय तह र अन्य चुनावको उम्मेदवार छान्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

मंगलबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाबाट उद्घाटन भएको प्रदेश सम्मेलनमा गण्डकी सभापति शर्माले ३४ सयभन्दा बढीको अवधारणा पत्र प्रस्तुत गरेका थिए । उनको अवधारणा पत्रमा विधान र कार्यपद्धतिमा सुधार,जनअपेक्षाको संवोधन,नयाँ पुस्तालाई विशेष आह्वान,युवा लक्षित कार्यक्रम र नेतृत्वमा शुद्धीकरण शीर्षक समेटिएको थियो । सभापतिबाट प्रस्तुत अवधारणालाई बुधबार सुझावसहित पारित गरिएको पार्टीका अर्का नेता शिरोमणि बरालले जानकारी दिए ।

बैठकले सवै तहको नेतृत्व कार्यकर्तामैत्री नभएको र हैकमवादी प्रवृत्ति हावी भएको निष्कर्ष निकाल्दै नेतृत्वको कार्यशैली परिमार्जन हुनुपर्ने निर्णय गरेको उनले बताए ।

उनका अनुसार कांग्रेसको सदस्यता संसारका जुनसुकै कुनाबाट पनि विद्युतीय माध्यमबाट लिन सकिने व्यवस्था गर्न, जिल्ला, प्रदेश र सङ्घका पदाधिकारीको निर्वाचन क्रियाशिल सदस्यबाट गरिनुपर्ने सुझावलाई पनि बैठकले पारित गरेको छ ।

सभापति शुक्रराज शर्माबाट प्रस्तुत अवधारणापत्रमा भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति लिन, प्रजातन्त्र प्राप्तिपछिका सबै प्रमुख भ्रष्टाचारका काण्डहरु र उच्च पदस्थहरुको सम्पत्ति छानबिन गरी कारवाही गर्ने कार्यको नेतृत्व कांग्रेसले लिनुपर्ने प्रस्तावलाई पनि बैठकले पारित गरेको छ । कांग्रेस नेतृत्व नै भ्रष्टाचार र कुशासनको मतियार बनेको निष्कर्ष निकाल्दै बैठकले सामान्य मानिस नेपाली कांग्रेसको नेतृत्वमा पुुग्नै नसक्ने र इमान्दार मानिस टिक्नै नसक्ने दुुखद अवस्था सिर्जना हुन पुगेको भन्दै त्यसमा सुधारको माग गरिएको छ । ‘पथप्रदर्शक बन्नु पर्ने नेतृत्व पथभ्रष्ट बन्न पुुग्यो,’ अवधारणापत्रमा भनिएको छ ।

बैठकले महामन्त्री किरणबाबु श्रेष्ठको सांगठनिक प्रतिवेदन,अर्का महासचिव विष्णुप्रसाद लामिछानेको राजनीतिक प्रतिवेदन र कोषाध्य वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->