पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रको नाममा संवोधन गर्दा सुरुमै भने,‘म आजको सम्बोधनलाई समाचारका कस्ता शीर्षक दिइएला भन्ने चिन्ता नगरी आफ्ना केही विश्लेषण, केही समीक्षा, केही अनुभूति र केही संकल्प खुला हृदयले यहाँहरूसामु राख्ने अनुमति चाहन्छु ।’
अघिल्लो वर्ष प्रधानमन्त्रीको कुर्सीमा बसाल्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना, सत्ता गठबन्धनभित्रकै नेपाली कांग्रेसका नेताहरुको असन्तुष्टि सुन्दै आएका प्रचण्ड भावुक हुनु स्वभाविकै थियो । कमजोरीलाई भावुकताको जलप लगाउन माहिर प्रधानमन्त्रीले एक वर्षमा प्राप्त उपलब्धिहरुलाई उराले,कमजोरीलाई स्वीकारे र समग्रमा आफू सत्ताको चाहभन्दा माथि उठेको सन्देश प्रवाह गर्ने प्रयत्न गरे । काम गर्ने हुटहुटी र सत्ता हाँक्ने लालसा बाँकी रहेको आशयसहित उनले भने,‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन ।
कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’
देशमा आशा जाग्न नसकेको चाहिँ उनले सुरुमै स्वीकारेका थिए । तर,उनको स्वीकारोक्तिमा अहिले प्राप्त उपलब्धिहरुलाई कम आँकिएकोमा रोष पनि थियो । उनले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको स्वीकार्दे सरकारको कार्यशैली बदल्ने, केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नजाने घोषणा पनि गरे ।
नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिरहेको बताउँदै उनले एकथरि तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेको आरोप पनि लगाए ।
त्यसपछि उनले आफ्नो एकवर्षै कार्यकालमा भएका उपलब्धिहरुको बेलीबिस्तार लगाए । विद्युत आयात गर्नुपर्ने अवस्थाबाट देश निर्यातको नयाँ युगमा प्रवेश गरेको बताउँदै उनले भारतपछि अब चीन र बंगलादेशलाई पनि बिजुली बेच्ने तयारी भएको जिकिर गरे । उनले त्यसपछि प्रश्न गरे,‘ म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिल्यै थियो र ? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धि होइन र ?’
यस वर्ष ७७६.६१ किलोमिटर कालोपत्रे र ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको, १८१.२९ किलोमिटर नयाँ ट्रयाक खोलिएको बताउँदै उनले पूर्वाधार निर्माणमा दुई सिफ्ट काम हुने ‘ब्यारेक मोडल’मा लैजाने गरी मैले नीतिगत र व्यवहारिक छलफल गरिरहेको पनि बताए ।
उनले शीर्ष नेतृत्वबीचपको बैठक सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने उद्घोष पनि गरे । त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने बताए ।
सुशासन कायम गराएको दाबी
प्रधानमन्त्री प्रचण्डले उच्च पदस्थहरुलाई कानूनले छुँदैन भन्ने आम मनोविज्ञानलाई तोडेको जिकिर पनि गरेका छन् । भ्रष्टाचार ‘भीआइपी कल्चर’ बनेको बताउँदै उनले भने,‘सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारवाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ । कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानूनको नियन्त्रणमा आए ।’ उनले आफ्नो यो अभियानलाई लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणको रुपमा अथ्र्याए ।
‘यो क्रम निरन्तर जारी रहनेछ । मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेका छन् । वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिवद्ध छ । एनसेलको शेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानविन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ। समितिले छानविन तथा अध्ययनको काम अघि बढाइरहेको कुरा यहाँहरूलाई अवगत नै छ ।’
दलितमाथि गर्ने व्यवहारमा परिवर्तन नभएको,सेवाग्राहीले समयमा सेवा पाउन नसकेका विषयदेखि श्रमिकका ज्याला,भूकम्पपीडितको राहत प्याकेजबारे पनि प्रधानमन्त्रीले गरेर देखाउने प्रतिवद्धता जनाए । उनले अन्त्यमा भने,‘आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर म एकपटक राष्ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध छु ।’





