पोखरा/ गएको महिनामा कास्कीका निजी विद्यालयहरुको संस्था प्याब्सन र उच्च माध्यमिक विद्यालयहरुको संस्था हिसानले जिल्लास्तरीय ‘स्पोर्टस् मिट’ अर्थात् खेलकुद प्रतियोगिताको आयोजना गरे । निजी विद्यालयहरुले आयोजना गरेका दुवै प्रतियोगितामा पोखरा रंगशाला खचाखच थियो । प्रतियोगिता सकियो । पुस लाग्यो । कास्की जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना ग¥यो । खेलकुदको लागि जिल्लाको सर्वोच्च संस्थाले आयोजना गर्ने प्रतियोगितामा देशकै सर्वोच्च संस्था राष्ट्रपतिको नाममात्र जोडिएको थिएन, कास्कीका ५ वटा पालिकाको तर्फबाट निजी तथा सामुदायिक दुवैतर्फका विद्यार्थीहरुले प्रतिस्पर्धामा सामेल हुन पाउने व्यवस्था गरिएको थियो ।
हरेक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड आफंैमा स्तरीय प्रतियोगिता पनि हो । स्थानीय तह छनोटहुँदै जिल्ला, प्रदेश र केन्द्रीय (संघीय) स्तरको प्रतियोगिता सञ्चालनका लागि निर्देशिकासमेत बनेको छ । सोही अनुरुप प्रतियोगिताको व्यवस्थापन र संचालन गरिन्छ । निर्देशिका अनुसार जिल्लास्तरीय प्रतियोगितामा जिल्ला खेलकुद विकास समितका अध्यक्षको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक तथा निजी विद्यालय, पूर्वखेलाडी, खेल संघहरु, खेलकर्मी, शिक्षा विकास तथा जिल्ला समन्वय समिति (जिसस) का प्रतिनिधि हुने व्यवस्था छ । त्यसका अलावा सल्लाहकार समिति पनि हुन्छ । यति दरिलो संयन्त्र भएको तथा राज्यकोषको रकमबाट संचालन हुने प्रतियोगिता भव्य हुनुपर्ने हो । नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्ने थलो बन्नुपर्ने हो । तर, पोखरामा शुक्रबार र शनिबार आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रपति नामक संस्थाकै गरिमामात्र घटाएन, कसरी झारा टार्ने प्रतियोगिता आयोजना गरिन्छन् भन्ने दृष्टान्त पनि प्रस्तुत भयो । लाग्थ्यो, प्रतियोगिता हतारमा आयोजना गरिएको थियो अनि आयोजकलाई प्रतियोगिता सक्नै हतार थियो ।
प्रतियोगितामा पोखरा महानगरसहित कास्कीका ५ पालिकाले सहभागिता त जनाए तर सबै खेलका खेलाडी भने उपस्थित भएनन् । जिल्लाकै उत्कृष्ट खेलाडीहरु सहभागी हुनुपर्ने प्रतियोगिता हेर्न दर्शक पनि ओइरिएनन् ।
प्रतियोगिता जसोतसो सकियो । डिफेन्डिङ च्याम्पियन पोखरा महानगरपालिका २८ स्वर्ण, १५ रजत र २ कास्य पदककसहित पोखरा महानगरपालिका च्याम्पियन बनेको हो । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका १ स्वर्ण, ६ रजत र १० काश्य पदकका साथ दोश्रो हुँदा माछापुच्छ्रे गाउँपालिका ३ रजत र ९ रजतका साथ तेश्रो स्थानमा रह्यो । च्याम्पियन पोखरा महानगरले रनिङ शिल्डका साथ नगद १२ हजार, उपविजेता अन्नपूर्णले ट्रफीका साथ नगद ७ हजार र माछापुच्छ्रेले नगद ५ हजारका साथ ट्रफी प्राप्त ग¥यो ।
पोखरा महानगरले छात्र÷छात्रा भलिबल, कबड्डीमा छात्र छात्रा दुवै तथा एथलेटिक्सको समग्र इभेन्टमा पोखरा महानगरले नै स्वर्ण हासिल गरेको हो । तेक्वान्दो, उशु र करातेमासमेत महानगरकै दबदबा रह्यो । प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि ६ खेलबाट १०८ जना खेलाडीहरु छनौट गरिएको छ । प्रतियोगितामा ३६६ जना खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए । उनले खेल नियमानुसार नै सम्पन्न भएको, महानगरबाट ६ वटै विधामा प्रतिस्पर्धी सहभागी हुँदा अन्नपूर्णले ४,रुपा,मादी र माछापुच्छे«ेले ३ विधामा मात्र प्रतिस्पर्धा गरेका उनले बताए । रुपा,मादी र माछापुच्छे«ले तेक्वाण्डो,उसु रकरातेमा सहभागिता जनाएनन् भने अन्नपूर्णले तेक्वादोमा भाग लियो । उनले खेलाडी छनोट प्रतियोगिता भएकाले भीड जम्मा गर्नेभन्दा पनि आफ्नो उद्धेश्य अनुरुप प्रतियोगिता सफल भएको जिकिर गरे ।
खेलाडीलाई खेल्न दिने हो, भाषण सुनाउने हैन
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुक्रबार कास्की जिल्लास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिन् । ३६६ जना खेलाडी,सीमित प्रशिक्षक र आयोजक । ठूलो भीड हुने कुरै थिएन । मन्त्रीको बोल्ने पालो आयो । उनी बोल्दा मञ्च अगाडिपट्टि स्रोता खेलाडी थिएनन् । मार्चपासपछि खेलाडीहरु प्रतिस्पर्धाको तयारीमा जुटेका थिए संवोधनको क्रममा उनले भनिन्, ‘माछापुच्छे«को काखमा रहेको पोखरा रंगशालामा उद्घाटन हुँदै गर्दा खेरी, १४ औं राष्ट्रपति रनिङशिल्ड आज भब्य र सभ्य रुपमा सम्पन्न हुन गइरहेको छ । म सर्वप्रथम त यो आजको यो खेल जुन माहोलमा उद्घाटन भइरहेको छ, जुन माहोल बनिरहेको छ, यो माहोल भोलिसम्म पनि रहिरहोस् र अन्तिमसम्म पनि ।’
एकजना व्यक्तिले मन्त्रीको मन्तव्यको फोटो÷भिडियो खिचिरहेका थिए । प्रतियोगिता सकिएपछि मन्त्रीको सो फोटो चर्चामा आयो । दर्शक नै नभएको ठाउँमा मन्त्रीले भाषण गरेको भन्दै खिसीट्यूरी गरियो ।
दर्शक र स्रोताबिना पनि भाषण हुन्छ र ?
उत्तरमा मन्त्री सिम्खडाले आफूले जानाजान दर्शक र श्रोताबिना नै मन्तव्य दिएको बताएकी छन् । उनले भनिन्, ‘त्यो सभा हैन, खेलकुदको कार्यक्रम हो, घण्टौं भाषण गर्ने ठाउँ हैन । खेलाडीलाई अगाडि उभ्याएर भाषण गर्ने पनि हैन । साना नानीबाबुलाई ठड्याएर÷घाममा टट्याएर राख्ने मेरो नियत हैन । मैले नै दुई दिनको कार्यक्रम रहेछ । खेल सुरु गर्नू भनेको हो । मान्छे उतारेर भाषण सुनाउने अरु ठाउँ हुन्छन् । प्रतिस्पर्धा एकातिर छ, खेलाडीलाई खेल्न दिने हो । भाषण सुनेर बस्ने हो र ? म राजनीतिक मान्छे, खेलकुद के हो भन्ने थाहा छ । चाहिनेलाई सुनाउने हो ।’





