पोखरा/कास्की प्रहरीले बालिका तथा महिलाहरुलाई जवर्जस्ती यौन धन्दामा लगाउने तीनजनालाई पक्राउ गरेको छ भने दुईजना बालिकासहित एक महिलाको उद्धार गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ८,जाल्पारोडमा काभ्रेली खाजा घर संचालन गर्ने पोखरा ९, पृथ्वीचोक बस्ने व २९ वर्षीय प्रविन गुरुङ, पर्वत स्थायी घर भइ हाल जिल्ला काठमाडौं शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७, बिरौटा बस्ने वर्ष २६ वर्षीय राजेश ठकुरी रहेका छन् ।
बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाईदिन्छु भनि ल्या सुरुमा होटलको सरसफाइको काम लगाइदिएको र केही समयपछि राम्रो कमाई हुन्छ भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरु सँग भेट गराइ पोखराका विभिन्न होटलहरुमा लगी यौनशोषण गराउँदै आइरहेको प्रहरीले जानकरी दिएको छ । पक्राउ पर्नेहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी अपराधमा मुद्दा दायर गरिएको छ ।





