पोखरा /नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सु्वेदी‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन । सम्झनामा सधै अजर अमर मेरो आफ्नु मान्छे । हार्दिक श्रद्धासुमन ।’
मनरुपाले राखेको तस्वीर श्रीमान विजय सुवेदी ( विकास) को थियो भने व्यक्त भावना धेरै वर्ष अर्थात् २०६१ साल मंसिर १७ गतेसँगै जोडिएको थियो । भएको के थियो भने,स्याङ्जाको सिर्सेकोटमा खानान खाँदै गरेका विजयसहित ५ जनालाई तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर मारेको थियो । मारिनेमा विजयसहित कृष्ण गौतम,कुविजा पराजुली,मोहनसिंह गाहा मगर र खड्ग कुँवर थिए ।
मनरुपाको विहे भएको धेरै भएकै थिएन । विजय र मनरुपा दुवै माओवादीका पूर्णकालीन कार्यकर्ता नै थिए । युद्धको समयमा मनरुपाको काम पार्टीको लडाकु पंक्तिलाई सघाउनु नै हुन्थ्यो । पति गुमाएपछि उनी निरन्तर पार्टीकै काममा लागिन् । कयौंपटक मृत्युको मुखबाट फुत्किइन्,वेनीसहितका युद्धमा लडाकुको सहयोगमा खटिइन् ।युद्धकालीन समयमा स्याङ्जाकै मग्याम चिसापानीमा सेनाको घेरामा परेको र बल्लतल्ल फुत्किएको घटना अहिले पनि उनलाई ताजै लाग्छ । सँगैकी साथीलाई सेनाले समातेपछि उनी गाउँलेजस्तो बनेर त्यहाँबाट फुत्केकी थिइन् रे !
पार्टी शान्ति प्रक्रियामा आयो । शहीद परिवारकी सदस्य मनरुपालाई पहिलो संविधान सभा चुनावमा पर्वतबाट उम्मेदवार बनायो । तर,उनी नेपाली कांग्रेसका अर्जुन जोशीसँग पराजित बनिन् । त्यसपछिका हरेकजसो चुनावमा उनी पार्टीबाट उम्मेदवार सिफारिस भइन्÷समानुपातिकको सूचीमा रहिन् तर सिंहदरवार छिर्ने साइत भने जुरेन ।
‘उहाँ शहीद परिवारको सदस्यमात्र नभएर पार्टीको अगुवा नेतासमेत हो,’माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङले भने,‘त्याग र क्षमताको आधारमा उहाँ राष्ट्रिय सभाको लागि योग्य उम्मेदवार हो । उहाँप्रति पार्टीले न्यायमात्र गरेको छैन, आशा पनि गरेकै छ । ’
माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी उनलाई पार्टीले जिल्लाको नेतृत्व सुम्पियो । जिल्ला नेतृत्व नै पाउने सीमित महिलामध्ये एक बनेकी मनरुपाले पार्टीको कामलाई सधैं केन्द्रमा राखिन् । पार्टीले संचालन गरेको रुपान्तरण अभियान होस् कि संगठन बिस्तार निरन्तर मोर्चामा खटिइरहिन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १०, वडा नम्बर १०,पिपलटारीकी उनै मनरुपालाई पार्टीले यसपटक राष्ट्रिय सभाको उम्मेदवार बनाउने घोषणा गरेको छ । महिला समूहबाट माघ ११ गते हुने राष्ट्रिय सभामा उम्मेदवार घोषणा भएसँगै जीत लगभग पक्का भएको छ । कारण,उनको पछाडि सत्ता गठबन्धन रहेको छ । गठबन्धनमा आबद्ध भएका दलहरुको मतभार ३ हजार ८२७ रहेको छ । गठबन्धन यतिबेला प्रमुख प्रतिपक्षी एमालेभन्दा झन्डै एक हजार ४ सय मतभारले अगाडि रहेको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । गण्डकी प्रदेशमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन ।यी तीनजना अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यक क्लष्टरबाट राष्ट्रियसभामा प्रवेश गरेका थिए ।
गठबन्धनकै मतभार बढी
गण्डकीमा ६० प्रदेशसभा सदस्य, १७० स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष छन् । राष्ट्रियसभा निर्वाचनका लागि मतदाता यिनै हुन । जसको कुल मतभार छ हजार १४० हुन आउँछ ।
२०७८ को जनगणनापछि प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ कायम भएको छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ पुगेको छ । कांग्रेसबाट प्रदेश सभामा २७, स्थानीय तहमा नगर प्रमुख १५, उपप्रमुख ११, गाउँपालिका अध्यक्ष २१, उपाध्यक्ष २० जना निर्वाचित भएका छन् । प्रदेश सभाका २७ सदस्यको मत भार एक हजार ४३१ हुन्छ । स्थानीय तहको प्रमुख, उपप्रमुखको एक
हजार २७३ हुन आउँछ । दुवै जोड्दा राष्ट्रिय सभामा कांग्रेसको मत भार दुई हजार ७०४ हुन्छ ।
सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रसँग गण्डकीमा ८ जना प्रदेशसभा सदस्य छन । उनीहरुको मतभार ४२४ हुन आउँछ । माओवादीबाट गण्डकीमा दुईवटा नगरप्रमुख, सात उपप्रमुख, नौ जना गाउँपालिका अध्यक्ष र १२ जना उपाध्यक्ष छन । उनीहरुको मतभार ५७० हुन आउँछ ।
प्रदेश र स्थानीय तह गरी माओवादीसँग कुल ९९४ मतभार रहेको छ । गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीसँग ७२ मतभार छ ।
राष्ट्रिय जनमोर्चासँग प्रदेशसभा नभएता पनि एक नगरप्रमुख, गाउँपालिका अध्यक्ष एक र उपाध्यक्ष पनि एक जितेको छ । यी तीन जनप्रतिनिधिको मतभार ५७ हुन आउँछ ।
यो मतभारलाई आधार मान्ने हो भने गण्डकीका तीनवटै सिटमा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित छ ।
प्रतिपक्षमा रहेको नेकपा एमाले गण्डकी प्रदेशसभाको दोश्रो ठूलो दल हो । एमालेसँग २२ जना प्रदेशसभा सदस्य छन । आठ वटा नगरप्रमुख, नौ वटा उपप्रमुख, २७ गाउँपालिका अध्यक्ष र २४ जना उपाध्यक्ष एमालेका हुन ।
एमालेसँग प्रदेशसभा सदस्यको मात्रै एक हजार १६६ र स्थानीय तहका जनप्रतिनिधीको एक हजार २९२ मतभार छ । स्थानीय तह र प्रदेशको गरि एमालेसँग कुल दुई हजार ४५८ मतभार रहेको छ । तर, एमालेबाट निर्वाचित भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने निलम्बित छन । उनको १९ मतभार घटाउँदा एमालेसँग दुई हजार ४३९ मतभार रहन्छ ।
प्रतिपक्षमा नै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई प्रदेशसभा सदस्य छन । उनीहरुको मतभार १०६ हुन आउँछ ।गण्डकीमा मनाङ निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङ भने स्वतन्त्र निर्वाचित हुन् ।





