सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सामान बुझाउन ठेकेदारलाई पाँच दिने निर्देशन, भएका सामान वेवारिसे

सामान बुझाउन ठेकेदारलाई पाँच दिने निर्देशन, भएका सामान वेवारिसे


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८०, बुधबार

पोखरा/युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङ बनाउने दुई ठेकेदार कम्पनीलाई पाँच दिनभित्र सामान बुझाउन निर्देशन दिएको छ । ०७९ सालमा तत्कानीन युवा तथा खेलकुद मन्त्रालयले बनाएको करिब १५ लाखको मार्सलआर्ट रिङको सामान नभेटिएपछि मन्त्रालयले उक्त रिङको सामान पाँच दिनभित्र बुझाउन श्री के.डी सप्लायर्स र नव शुभम सप्लार्यसलाई निर्देशन दिएको हो । हाल खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । पुस ९ गते सोमबार तत्कालीन युवा तथा खेलकुद मन्त्रालय तथा हालको सामाजिक विकास मन्त्रालयअन्तरगत रहेको प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय मुवाँथाई च्याम्पियसिपको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा मन्त्रालयले निर्माण गरेको १५ लाखको मार्सलआर्ट रिङ प्रयोग गर्ने योजना परिषद्को थियो तर, परिषद्ले आयोजना गरेको प्रतियोगिताका दौरान रिङ प्रयोगगर्दा रिङको पुरा सामान भेटिएको थिएन् । ती दुई ठेकेदार कम्पनीले परिषदलाई रिङको सामान नदिएपछि कास्की जिल्ला बक्सिङ संघसँग रहेको रिङको सामान प्रतियोगितामा प्रयोग गरिएको थियो । परिषदका सदस्य तथा प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार मन्त्रालयले बनाएको रिङमा पूरै सामान थिएन् । सामान नभएपछि बक्सिङ संघबाट ल्याएर प्रतियोगिता संचालन गरेको थियो ।
तत्कालीन युवा तथा खेलकुद मन्त्रालयका स्टोर किपर तथा हालका सामाजिक विकास मन्त्रालय सचिवालयका कर्मचारी जिवन शर्माले ठेकेदार कम्पनीलाई रिङका सबै सामान पाँच दिनभित्र बुझाउन निर्देशन दिएको जानकारी दिए । उनका अनुसार केहि सामानहरु नभेटिएपनि अधिकांश सामान ठेकेदार सँगै रहेको छ । तत्कालीन समयमा उक्त रिङ बनाएर राख्ने स्थान नभएकाले ठेकेदार कम्पनीमै राखेको उनको भनाई छ । तर, मन्त्रालयका कमर्चारी स्रोतका अनुसार रिङका सामानमा केहि घोटला भने रहेको छ । त्यो सामान दुई ठेकेदार बिचको लेनदेन वा अन्य कारण वा उनीहरुले नै लुकाएर राखेको समेत आशंका छ ।
तत्कालिन युवा तथा खेलकुदमन्त्री राजिव गुरुङको नेतृत्वमा रिङ बनाउने निर्णय भएको थियो । ०७८ चैत २२ गते पहिलो पटक १५ लाख ३० हजार रुपैयाँको इविडिङ टेन्डर आह्वान गरिएको थियो । एक पनि निवेदन नपरेपछि ०७९ वैशाख १२ गते दोस्रो पटक सोही टेन्डर आह्वान गरिएको थियो । त्यस समयमा समेत कसैले निवेदन नदिएपछि तेस्रो पटक ०७९ जेठ ४ गते टेन्डर आह्वान गरिएको थियो । तेस्रो पटक आह्वान गर्दा ब्रेक डाउन गरी दुई कम्पनीलाई उक्त टेन्डर दिइएको थियो ।
प्रदेशले सम्पन्न गरेको प्रतियोगितामा रिङका सामान कर्नर व्यारेष्ट ४ सेट, प्याडिङ म्याट १सेट, फ्लोर कभर एन्टीसिल्प क्याभास १ सेट, ३ सेमी नोइज रिडक्सन प्लाईवुड फ्लोरिङ १ सेट, गार्लिङ वाटर सिस्टम २ सेट, प्लेयर सिट २ सेट, हुक एण्ड रिङ स्कृट १ सेट गरी कुल ८ लाख ३२ हजार एक सय चार रुपैयाँको सामान भेटिएको छैन् । अब यी सामान ठेकेदार कम्पनीले बिहिबार भित्र बुझाउनुपर्नेछ । प्रतियोगिता पश्चात हाल उक्त रिङ पोखरा महानगरपालिका वडा ६ बैदाम स्थित नेपाल ट्रष्टको मैदानमा वेवारिसे अवस्थामा रहेको छ । मन्त्रालयको रिङ कहाँ लैजाने भनेर अन्योल परेका कारण त्यहीँ छाडेको संयोजक क्षेत्रीले सुनाए । उता मन्त्रायका कर्मचारी शर्माले सामान मन्त्रालयलाई बुझाउन अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->