पोखरा/ पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले गण्डकी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । पोखरा १७ विरौटास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा शनिबार भेलाको आयोजना गरिएको हो । भेलामा बोल्दै वक्ताहरुले गण्डकीमा पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालयमा बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पब्लिक क्याम्पसलाई राज्यको तीनै तहले सहयोग नगर्दा धरासायी बन्दै गइरहेको र यसका लागि विश्वविद्यालयको आवश्यकता रहेको औल्याएका छन् ।
भेलाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले पब्लिक कलेजमात्र नभइ सरकारी र निजी कलेजमै समस्या रहेको सुनाए । पछिल्लो समय विद्यार्थीहरु देशको विश्वविद्यालय छाडेर विदेशिनुले ठूलो संकट आइरहेको उनको स्वीकारोक्ति थियो ।
‘कुनै समय प्राविधिक विषयमा पढ्न होडबाजी चल्ने नेपालमा पछिल्लो समय विद्यार्थी नै पाउन मुस्किल हुँदै गइरहेको छ । देशको शैक्षिक नीतिमै गम्भीर ध्यानाकर्षण आवश्यक देखिएको छ,’मुख्यमन्त्रीले पाण्डेले भने । उनले गण्डकी प्रदेश सरकार स्वयंले संचालन गरेको गण्डकी विश्वविद्यालयको औचित्य के भन्ने पनि आफूले नबुझेको बताए ।
‘मैले हामीले नै खोलेको गण्डकी विश्वविद्यालयको औचित्य के हो पत्ता लगाउन सकिरहेको छैन् । मैले विश्वविद्यालय संचालनका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छु । त्यहाँ एक विद्यार्थीको खर्च सात लाख रुपैयाँ आउने गर्छ । त्यहाबाट उत्पादित जनशक्तिको के काम हो भन्ने पनि मैले बुझ्न सकिरहेको छैन,’ उनले भने, ‘यो भनिरहँदा मलाई शिक्षा विरोधी पनि भन्लान्, शिक्षामा लगानी गर्न नखोज्ने मुख्यमन्त्री भन्ने आरोप पनि आउनेछ यो विषयमा चर्चा गर्दा नकरात्मक सन्देश आउँछ तर के हो भने वर्तमान बजारलाई हेरेर प्रविधियुक्त शिक्षा हुनुपर्छ । अहिले बालुवामा पानी हालेजस्तो भइरहेको छ ।’ तत्कालै विश्वविद्यालयको अवस्था सुध्रिने स्थितिमा नरहेको र यसका लागि थप छलफल आवश्यकता रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेशभरका पब्लिक विश्वविद्यालयको अनुसन्धानका लागि तत्कालै अध्ययन कार्यदल गठन सम्भव रहेको र त्यसका लागि संस्थागत रुपमा आउन उनले प्राध्यापकहरुसँग आग्रह गरे । संघीय संरचनामा रहेको शिक्षा पद्धति अहिले वेवारिसे भएको पनि उनले जिकिर गरे ।
पोखरा विश्वविद्यालयका उपकुलपति तथा पूर्वपब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रेमनारायण अर्यालले पब्लिक क्याम्पसहरुको छुट्टै विश्वविद्यालय हुन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले पछिल्लो समय तराइ भेगमा विश्वविद्यालय खोल्ने बढ्दो प्रतिस्पर्धाले देश डुब्ने अवस्था आएको जिकिर गर्दै व्यवस्थित तरिकाले विश्वविद्यालय खोल्नुपर्नेमा जोड दिए । विद्यार्थीका लागि पढ्दै–कमाउँदै गर्ने योजना नल्याएसम्म देशमा क्याम्पसहरुको हालत राम्रो नहुने उनले बताए ।
प्रदेशका क्याम्पस प्रमुखहरुको तर्फबाट बोल्दै शिवालय बहुमुखी क्याम्पस पर्वतका क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले पब्लिक क्याम्पसमा पुर्वाधार भए पनि विद्यार्थीहरु नभएको गुनासो पोखे । पब्लिक क्याम्पसलाई तीनवटै तहका सरकारले अपहेलना गरेको उनको भनाइ थियो । प्राध्यापक बैकुष्ठ न्यौपानेले पब्लिक क्याम्पसहरुको विश्वविद्यालय आवश्यकता रहेको औल्याए । पब्लिक क्याम्पसमा विधार्थी, शिक्षक र संरचना भए पनि संस्थागत विकास हुन नसक्दा भविष्य नै अन्योलमा रहेको उनको भनाइ थियो ।
भेलामा मुख्यमन्त्री पाण्डेलाई विभिन्न मागहरुसहित मागपत्र समेत बुझाइएको छ । साथै भेलामा विभिन्न प्राध्यापकहरुलाई सम्मान समेत गरिएको थियो ।





