टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि टाइगर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला÷पुरुष भलिबल च्याम्पियनसिप सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकीले राष्ट्रिय खेलाडीले भरिभराउ रहेको साविक च्याम्पियन त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ ।
यो पुरुषतर्फको खेल हो । गण्डकी दुई पटकको च्याम्पियन हो भने आर्मी एक पटकको । आर्मी र गण्डकीको हरेक खेल निकै रोमाञ्चक हुँदैछन् । नेपालमा आयोजना हुने हरेक क्षेत्रमा यी दुई टिमको भिडन्तमा कसले बाजी मार्छ भन्ने कुरा यकिन गर्नै मुस्किल हुने गरेको छ ।
टाइगर कपमा भने गण्डकीका केहि खेलाडी परिवर्तन देखिनेछन् । यस अघि गण्डकीमा खोमप्रसाद (हरि) पाण्डे (कप्तान), हिमाल सुनारी, सुजन चोखाल, इन्द्रबहादुर विक, जिवन सुनार, विश्वास अधिकारी, विष्णु खत्री, सरोज वर्देवा, रवि केसी, विश्वास आले मगर, कुञ्जन शाहि ठकुरी, किरण गुरौ खेल्दै आएपनि टाइगरकपमा भने सुजन चोखालको स्थानमा अमित गुलिया, विश्वास आले मगरको स्थानमा अंगमुथु, किरण गुरौको स्थानमा अप्पु रहेका छन् । यी तीनैजना विदेशी खेलाडी हुन् ।
यस्तै आर्मीमा मानबहादुर श्रेष्ठ (कप्तान), इश्वर थापा, दुर्गा प्रसाद महतो, हान अधिकारी, हर्देश प्रसाद चौधरी, दुर्गाबहादुर खड्का, शरण सनम क्षेत्री, सम्राट भण्डारी, सनोज चौधरी, धनपति कुवँर, राजेन्द्र विष्ट र मनिष मानन्धर रहका छन् ।
आज चार खेल, टिकट शुल्कमा वृद्धि
प्रतियोगितामा भने विहानैदेखि खेल हुनेछन् । आजबाट सुरु खेलको पहिलो दिन चार खेल हुनेछन् । विहान महिलातर्फका खेलहरु हुनेछन भने दिउँसो पुरुषतर्फका खेल हुनेछन् । महिला तर्फ एपिएफले पुलिस र त्रिभुवन आर्मीले हरियाना टिम भारतको सामना गर्दैछन् । यस्तै पुरुषतर्फ नै एपिएफले नेपाल पुलिसको सामना गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् ।
चौथो संस्करणको टिकटको मुल्यमा वृद्धि गरिएको छ । यसपटक समूह चरणका खेलको दुई सय रुपैयाँ तोकिएको छ भने सेमिफाइनल र फाइनलको चार सय रुपैयाँ तोकिएको अध्यक्ष शर्माले बताए । उनका अनुसार पुरस्कार राशी र सहभागि टिममा समेत वृद्धि भएको बताए । अघिल्ला संस्करणको महिला तथा पुरुषमा पाँच÷पाँच टिमको सहभागिता रहेपनि हाल ६–६ टिमको सहभागिता छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लबको सहभागिता रहेको उनको भनाई छ ।
प्रतियोगिताको विजेताले (महिला÷पुरुष) ले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक् लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार ५ सय ५५ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले एक्सटिप फेसनको जुत्ता प्राप्त गर्नेछन् । दर्शकका लागि यसपटक अस्थाई प्यारापिटको क्षमतामा समेत वृद्धि गरिएको छ । प्रतियोगित हेर्न आउने जेष्ठ नागरीक र फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने हरेक दिन टिकट काटेर आउने दर्शकमध्ये गोलाप्रथाबाट एक जनालाई यसअघि केल्मेको भनिएपनि एक्सटेप फेसनको टिसर्ट प्रदान गरिने छ भने फाइनलमा एक दर्शकलाई सामसुङको मोबाइल प्रदान गरिनेछ ।
प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।





