पोखरा/भवन निर्माण संहिता पालना गर्ने र सुरक्षित आबास निर्माणमा पहल गर्न सकेमा जोखिम न्यूनीकरण गर्न सकिने सरोकारवालाले सुझाएका छन् । २६ औं भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी, प्राविधि तथा विज्ञहरुले भूकम्पीय जोखिमबाट कम क्षति हुने गरी संरचना बनाउन सुझाव दिए ।
स्थानीय श्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं भन्ने नाराका साथ मंगलबार भूकम्प सुरक्षा दिवस मनाइएको थियो । दिवशको अबसरमा आयोजित बिपत जोखिम न्यूनीकरणमा भूकम्प प्रतिरोधी संरचनाको आवश्यकता विषयक अन्तरक्रियामा भवन नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रशासन कार्यालय र सघन सहरी तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
दिवसको अबसरमा इन्जिनियर योगेन्द्र बस्ताकोटीले प्रस्तुतिकरण गर्दै भूकम्पका प्रकार, अहिलेसम्म नेपालमा आएका भूकम्प र त्यसको क्षति तथा आगामी दिनमा हुन सक्ने जोखिमको बारेमा जानकारी गराए । उनले भूकम्पले भन्दा हाम्रा संरचनाले मानिसको ज्यान लिएको बताए । घरेलु प्रविधिको घर बनाउँदा काठलाई बलियो गरी बाँध्ने,बीचबीचमा र झ्यालढोकामा लिन्टे राख्नेलगायतका सुझाव पनि उनले दिए । आरसिसि भवन बनाउँदा पनि जथाभावी नबनाउने, स्ट्रक्चरल एनलाइसिस् गर्ने उनले सुझाए । भवन बनाउँदा त्यसको जमिनको अबस्था, सामग्री र कति तलाको बनाउने, अनिवार्य नक्सापास गर्नेलगायतका विषयमा उनले जानकारी गराए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले भूकम्पको कारण आउने जोखिम र त्यसपछिका सोच बनाउन नसकिएको बताए । उनले जाजरकोट भूकम्पमा पुग्दा अधिकांश पीडितले जोखिम न्यूनीकरणको योजना नबनाएको भेटिएको बताए । उनले जोखिम न्युनिकरणकालागि सुरक्षित स्थान बनाउनुपर्ने सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय श्रोत साधनलाई प्रयोग गर्न सघाउने, प्राविधिक रुपमा त्यसको जडान बारे जानकारी दिने काममा प्राविधिकहरु सहभागि बन्नुपर्ने बताए । ‘जाजरकोट घटना जस्तै बागलुङमा भैदिएको भए कति क्षति हुन्थ्यो ? अनुमान लगाऔं,’ रिजालले भने, ‘अबका दिनमा कुनै घटना नहुने गरी काम गरौं ।’ आम नागरिकलाई प्राविधिक विषय र जोखिम न्यूनीकरणका ज्ञान बाड्नुपर्ने उनले औल्याए ।
कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बराल, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, लायतले भूकम्पीय सुरक्षा बारे नागरिक स्तरमा बहस र सल्लाह चाहिएको बताए । प्रजिअ रिजालको अध्यक्षता सहायक प्रजिअ बरालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच मंगलबारै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा भूकम्प सुरक्षा दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सोसाइटीका कोषाध्यक्ष जीवननाथ शर्माले बागलुङ रेडक्रसले गरेका काम र गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बरालले भूकम्प बाजा बजाएर नआउने भन्दै जुनसुकै बेला पनि आउने जोखिम बाट बच्ने गरी हाम्रा संरचना बन्नुपर्ने धारणा राखे ।





