सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एथ्लेटिक्सकी च्याम्पियन १४ बर्षिया शर्मिलाको लक्ष्य

एथ्लेटिक्सकी च्याम्पियन १४ बर्षिया शर्मिलाको लक्ष्य


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८०, शनिबार

बागलुङ / कक्षा-८ मा पढ्ने शर्मिला विक बल्ल १४ बर्षकी भइन् । आमालाई घरको काममा सहयोग गरेर पढ्न स्कुल जान्छिन् । पढाईमा मध्यम उनी खेलकूदमा भने विशिष्ट प्रतिभा बनेर देखा परेकी छिन् ।

बागलुङ सदरमुकामबाट १ सय २० किमी पश्चिमको निसीखेला गाउँपालिका-५ की शर्मिला एथ्लेटिक्सकी च्याम्पियन खेलाडी हुन् । कलिलो उमेरमै उनले विद्यालय र गाउँपालिका क्षेत्रमा मात्रै होइन, जिल्ला, प्रदेश र राष्ट्रियस्तरमै अब्बल खेलाडीको परिचय बनाएकी छन् ।

विद्यालय र गाउँपालिकाबाट छनोट भएर १२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता खेल्न आएकी उनी १५ सय र ३ हजार मिटर दौडमा च्याम्पियन बनिन् । दुवै दौडमा स्वर्ण जित्दै उनी प्रदेशका लागि छनोट भएकी छन् ।

प्रतियोगितअन्तर्गत शनिबार भएको दौडमा १३ मिनेट ४ सेकेण्डमा ३ हजार मिटर दुरी पार गरेकी उनी गतवर्ष नै प्रदेश र राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेकी खेलाडी हुन् ।

गाउँ खेती किसानी गरेर दैनिकी चलाउने गजबहादुर बिककी माइली छोरी शर्मिला खेलकै लागि लगानी गर्ने वा निरन्तर अभ्यास गर्न पाउने अवस्थामा छैनन् । बरू नियमित विद्यालय गएर पढ्नलाई समेत धौ–धौ पर्ने अवस्था छ उनलाई ।

राष्ट्रपति रनिङ शिल्ड खेल्नकै लागि उनी पहिलो पटक जिल्ला सदरमुकाम, प्रदेश मुकाम र काठमाडौंसम्म पुगेकी हुन् ।

१५ सय र ३ हजार मिटर दौडमा गतवर्ष नै जिल्ला च्याम्पियन बनेकी उनले गण्डकी प्रदेश च्याम्पियन बनेर राष्ट्रिय प्रतियोगितामा समेत सामेल भएकी थिइन् । राष्ट्रव्यापी प्रतियोगितामा भने उनी दोश्रो भएकी थिइन् । यसपटक देशव्यापी प्रतियोगितामा स्वर्ण जित्ने उनको लक्ष्य छ ।

‘मैले आफ्नै स्कोरमा प्रतिष्पर्धा गर्नुपर्नेछ,’ उनले भनिन्, ‘यसपटक प्रदेशको जित कायम राखेर राष्ट्रव्यापी प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्य छ ।’

शर्मिलाका बाबु गजबहादुरका ४० वटा भेडा र ४ वटा भैंसी छन् । उनका पशुचौपाया निसेलढोर र बुकीसम्म चराउन लैजानुपर्छ । त्यतिबेला शर्मिला बाबुलाई खानेकुरा छोड्न नियमित बुकी जान्छिन् ।

‘बर्षमा १० देखि १२ पटक सम्म बुकी जाने गरेकी छु’ उनले भनिन्, ‘निसेल ढोरबाट एकै दिनमा बुकी पुगिन्छ ।’ ४ हजार ७ सय मिटर उचाइको बुकी लेकमा शर्मिला छिमेकी साथीहरुसँग भारी खेप्दै नियमित पुगिरहनुपर्छ ।

हाइ अल्टिच्युटमा सहजै यात्रा गरेकोले उनलाई दौडमा पनि सहज भएको देखिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काले बताए ।

गाउँको सामान्य परिवार जन्मिएर खेलकूदमा विशिष्ट प्रतिभा देखाएपनि शर्मिलाले नियमित अभ्यास र त्यसैकालागि लगानी गर्ने अवस्था भने छैन । गाउँघरको उकाली ओरालीले मात्रै उनलाई यतिसम्मको सक्षम बनाएको उनका खेलक शिक्षक लोकेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->