२२ वर्षमा छोरो बितेपछि चीनका सिकु बुले अवतार सिर्जना गर्ने कम्पनी गुहारे । छोराको तस्वीर,भिडियो र अडियो रेकर्डिङहरू जम्मा गरे । हजारौं डलर खर्चेपछि एआई कम्पनीले छोराको तस्वीर र आवाज क्लोन ग¥यो । अहिले उनका मृत छोरा चिहानभित्रबाट पितालाई सन्देश÷भिडियोहरु पठाउने गर्छन् ।
शोकविह्वल सिकु बुु एउटा चिहान अगाडि गएर टक्क रोकिन्छन् । गोजीबाट मोवाइल फोन निकाल्छन् अनि चिहानको ढुंगामा राख्छन् । मोवाइलको ‘प्ले बटन’ थिच्छन् । यो पूर्वी चीनमा रहेको एउटा निरस चिहानघारीको दृष्य हो ।
‘मलाई थाहा छ, तपाईं मेरो कारणले हरेक दिन ठूलो पीडामा हुनुहुन्छ । अनि दोषी र असहाय महसुस गर्नुहुन्छ ।’ आवाज थोरै यान्त्रिक लाग्छ ।
‘म फेरि कहिल्यै हजुरको साथमा हुन नसके पनि मेरो आत्मा अझै पनि यो संसारमा छ, जीवनभर म हजुरकै साथमा छु ।’
आवाज सिकुका छोरा सुआन्मोको हुन्छ । वास्तवमा उनका छोराले यी शब्द कहिल्यै बोलेनन् र बोल्ने सम्भावना पनि छैन । सत्य यो हो कि, त्यो चिहान सुनामोकै हो ।
र, बेलायतको एक्सेटर विश्वविद्यालयमा पढ्दै गरेका २२ वर्षीय सुआन्मोलाई अघिल्लो वर्ष नै हृदयघातले खासेको हुन्छ । लेखा र वित्त व्यवस्थापन पढ्दै गरेका एक्लो छोराको मृत्युपछि सिकु र उनकी श्रीमती शोकमा पर्छन् ।
‘ऊ कुशल खेलाडी थियो, मृत्युअगावै अंगदान गरेको थियो अनि सहयोगी थियो र सही र गलत के हो भन्ने छुट्याउने सामथ्र्य राख्थ्यो,’ सिकु छोराको स्मृतिमा फुस्फुसाउँछन् । पुत्र वियोगबाट मर्माहत सिकुले छोराको पुनर्जीवनबारे सोच्न थाले । च्याट जिपीटीजस्ता प्रविधिबाट छोराको पुनर्जन्म सम्भव छ भन्ने निचोडमा पुगे । छोराका तस्वीर,तस्बिर, भिडियो र अडियो रेकर्डिङहरू जम्मा गरे । हजारौं डलर खर्च गर्न राजी भए । एआई फर्महरुले अन्त्यमा सुआन्मोको अनुहार र आवाज क्लोन ग¥यो । सुआन्मो चिहानबाटै बुबासँग बोल्ने बने ।
सिकु र उनकी श्रीमती गुमेका प्रियजनलाई पुनर्जीवित देख्न चाहने धेरै चिनियाँमध्येका एक जोडी हुन् । एआईको प्रयोगबाट गुमेका प्रियजनको ‘अवतार’ चाहनेहरुको संख्या चीनमा बढ्दो छ । उनीहरुले त्यसका लागि हजारौं डलर खर्च गगरिरहेका छन् ।
सिकुकै कुरा गरौं न ! उनी आफ्नो छोराको एक पूर्ण यथार्थपरक प्रतिकृति निर्माण गर्न चाहन्छन् । जसले चिहानमै रहे पनि छोराजस्तै व्यवहार गरोस् ।
‘एकपटक हामीले वास्तविकता र मेटाभर्स सिङ्क्रोनाइज गरेपछि, मसँग मेरो छोरा फेरि हुनेछ,’उनले भने,‘म उसलाई तालिम दिन सक्छु । ताकि उसले मलाई देखेपछि म उसको बुबा हुँ भनेर उसलाई थाहा होस् ।’
सुरुवाति कामहरु आशालाग्दा छन् । उनले आफ्नो छोराको बारेका धेरै जानकारी समावेश गरी डाटाबेस बनाउनको लागि कार्यदल बनाएका छन् । छोराको सोच र बोलीको लवज दुरुस्तै हुने,तर्कपूर्ण एवं प्रतिलिपि भण्डारण गर्न सक्षम अवतार सिर्जना हुने आशा राखेका छन् ।
त्यसो त,केही चिनियाँ एआई फर्महरुले मृतकको ३० सेकेण्डको श्रव्यदृश्य सामग्रीबाट हजारौं डिजिटल व्यक्तिहरू सिर्जना गरेको दाबी गरिरहेका छन् । विज्ञहरु यो कार्यबाट आफ्ना प्रियजन गुमाएकाहरुले सान्त्वना प्राप्त गर्ने अपेक्षा गरिरहेका छन् ।
केही वर्षअघिदेखि अमेरिकालगायतका देशमा विकसित ‘घोस्ट बट’ कम्पनीहरु अस्तित्वमा रहेका छन् र उनीहरुले बेलायती टेलिश्रृंखला ब्ल्याक मिररजस्तो अस्वभाविक दृष्यहरु देखाइएको विश्वास गरिन्छ । तर, चीनमा पछिल्ला वर्षहरुमा अवतार निर्माता कम्पनीहरु फस्टाउँदै गएको पाइएको छ ।
‘एआई प्रविधिमा चीन विश्वमै अगाडी छ,चीनका धेरै मान्छेहरुलाई भावनात्मकक रुपले नै अवतारको आवश्यकता छ र बजारको माग बढी हुँदा कम्पनीहरुलाई स्वभाविक लाभ मिल्छ,’ चीनको पूर्वी सहर जिङजियाङमा रहेको कार्यालयमा रहेका सिकुका पूर्वसहयोगी तथा सुपर ब्रेन नामक एआई कम्पनीका संस्थापक झाङ जेबेई भन्छन्,‘सुपर ब्रेनले १० हजारदेखि २० हजार युआन (१४ सय अमेरिकी डलरदेखि २८ सय डलरसम्म शुल्क लिएर २० दिनभित्र ‘अवतार’ सिर्जना गर्छ ।’
मृत्युवरण गरेका छोराछोरीदेखि महिलाहरुका पूर्वप्रेमीसम्मका अवतार बनाएको उनले बताए । कम्पनीले आफ्ना ग्राहकलाई गुमेका आफन्तहरुसँग भिडियो संवाद गर्ने सुविधा पनि प्रदान गर्ने गरेको छ । वास्तविक आफन्तको स्वर र अनुहारलाई कम्पनीको कर्मचारीको स्वर र अनुहारमा जोडेर त्यो सम्भव भएको उनको भनाइ छ । ‘बितेर गएका व्यक्तिको डिजिटल भर्सन सधैंको लागि राख्न सकिन्छ,’उनी भन्छन् ।
नान्जिङमा सिलिकन इन्टेलिजेन्स स्थापना गर्ने सिमा हुआपेङको भनाइ मान्ने हो भने यो प्रविधिले ‘नूतन मानवतावाद’ ल्याउने छ । अवतारलाई उनले पेण्टिङ र तस्वीरसँग तुलना गरे ।
बेलायतको युनिभर्सिटी अफ बाथको सेन्टर फर डेथ एण्ड सोसाइटीका भिजिटिङ रिसर्च फेलो ताल मोर्स अवतार सिर्जनालाई गलत मान्दैनन् तर यसका मनोवैज्ञानिक र नैतिक प्रभावहरुबारे थप अनुसन्धान हुनुपर्ने बताउँछन् ।
‘मुख्य प्रश्न यो हो कि, भूत बटहरू व्यक्तित्वप्रति कति वफादार छन् ? जो उनीहरूलाई नक्कल गर्न डिजाइन गरिएको थियो । यदि उनीहरूले प्रतिनिधित्व गर्ने व्यक्तिको स्मृतिलाई दूषितु गर्ने कामहरू गरे भने के हुन्छ ?,’उनी प्रश्न गर्छन् ।
त्यसो त, कसैको अवतार बनाउनुअघि मृतकको सहमति आवश्यक हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि स्वभाविक रुपले उठ्ने विज्ञहरु बताउँछन् । ‘बोली वा व्यवहारको नक्कल गर्नको लागि सायद अनुमति अनावश्यक भए तापनि त्यस्तो नक्कलको लागि अन्य केही चिज आवश्यक हुनसक्छ,’हङकङ विश्वविद्यालयका एआई र यसको सामाजिक प्रभावहरूमा विशेषज्ञ दार्शनिक नेट शारादिनले भने ।
सुपर ब्रेन कम्पनीका संस्थापक झाङ चाहिँ हरेक नयाँ प्रविधि दुईधारे तरबारजस्तो हुने टिप्पणी गर्छन् । ‘जबसम्म हामी आवश्यक पर्नेहरूलाई मद्धत गर्दैछौं, म कुनै समस्या देख्दिन,’
छोरीको मृत्युपछि आत्महत्याको प्रयास गरिरहेकी एक महिलालाई उधृत गर्दै उनी भन्छन्,‘जसका लागि यसले नकारात्मक प्रभाव पार्न सक्छ, म त्यस्तासँग काम गर्दिन ।
शोक सन्तप्त सिकु बु चाहिँ आफ्नो छोरा सुआन्मो डिजिटल्ली पुनर्जीवित हुन इच्छुक हुने विश्वासमा छन् । ‘एक दिन, छोरा, हामी सबैको मेटाभर्समा पुनर्मिलन हुनेछ,’ उनले भने,‘ यो केवल समयको कुरा हो,प्रविधि दिनानुदिन राम्रो हुँदै गइरहेको छ ।’ उनी बोलिरहँदा भावविह्वल उनकी पत्नी छोराको चिहान अगाडि उभिएर आँशु झार्दै थिइन् ।
(एएफीबाट भावानुवाद )





