
पोखरा / बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार ३२१ जनाको उद्धार गरेको छ । सेनाले हवाई तथा स्थल मार्गबाट उद्धार गर्नुका साथै प्रभावित क्षेत्रका लागि ६ हजार १७० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले एमआई-१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरी बाढी प्रभावित गोरखाका विभिन्न स्थानबाट उद्धार कार्य सञ्चालन गरेको हो ।
सोमबार फिलिम, चुम्लिङ, आरुघाट, दोभान र हुलचुकलगायत स्थानबाट हवाइ साधनमार्फत ३०८ जनाको उद्धार गरिएको छ । त्यस्तै, स्थल मार्गबाट थप १३ जनालाई सुरक्षित स्थानमा लगेको निर्देशनालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्रीको अभाव हुन नदिन सेनाले काठमाडौँबाट फिलिमसम्म ६ हजार १७० किलोग्राम राहत सामग्री ढुवानी गरेको छ । बाढीबाट वेपत्ता पाँच जनाको खोजीकार्य भइरहेको जनाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार नौ जना विदेशीसहित ९६ जनाको उद्धार गरिएको जनाएको छ । सोमबार थप १० जना विदेशी नागरिक उद्धार गरिएको छ ।
प्राधिकरणको विपद् प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीका अनुसार बाढीका कारण जोखिममा परेका तथा सडक सञ्जाल अवरुद्ध हुँदा आवत–जावत गर्न नसकी विभिन्न स्थानमा फसेका नागरिकलाई हवाइ साधनमार्फत उद्धार गरिएको हो ।
सडक सम्पर्क अवरुद्ध भएका कारण स्थलमार्गबाट राहत दिन कठिनाइ भएपछि हवाइ साधनबाट उद्धार तथा राहत ढुवानीलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ ।





