सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

काठमाडौं / दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।

धबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

पाकिस्तानको जितमा अजान अवाइसले ६३ रन बनाए । उनले ८२ बलमा ६ चौका प्रहार गरे । सामयाल हुसेन र साहजैब खानले समान ३७ रन थपे । अहमद हसनले २९ र हरुन अर्सदले १५ रन जोडे ।

नेपालका आकाश चन्दले तीन विकेट लिए । दीपेश कँडेल र आकाश त्रिपाठीले समान एक विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानविरुद्ध नेपालका ओपनर विपीन रावलले ३९ रन बनाए । उनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरे । दीपक डुम्रेले २६ रन थपे । विपीन र दीपकले यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा मौका पाएका थिएनन् ।

यस्तै, नेपाली टिमको स्कोरबोर्डमा कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन थपे ।

यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका ओपनर अर्जुन कुमाल भने आज ६ रनमा आउट भए ।

नेपालविरुद्ध पाकिस्तानका अराफत मिनहारसले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अराफतले दुई मेडन फ्याक्दै २३ रन खर्चिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिँदा खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

आजको खेलमा नेपालका ब्याटरले दौडिएरै पाँच रन बनाएका थिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->