म्याग्दी/प्रथम म्याग्दी विद्यालयस्तरीय छात्र–छात्रा भलिवल प्रतियोगिताको उपाधी प्रकाश मावि र शिख माविले जितेको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको प्रतियोगितामा छात्रतर्फ बेनी नगरपालिका–७,स्थित प्रकाश मावि र छात्रातर्फ अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित किसानी मावि प्रथम भएको हो ।
पहिलो सेटमा २६–२८ ले पछाडी परेको प्रकाश माविले दोस्रो सेटमा २५–२१,तेस्रो २५–२१ र चौथोमा २५–१८ अङ्कले विजयी हुँदै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो सेटमा किसानी माविका खेलाडीको तालमेल नमिल्दा प्रकाश माविले फाइदा लिएको थियो । त्यस्तै छात्रातर्फ प्रकाश माविले पहिलो दुई सेट लगातार जितेपनि बाँकी तीन सेट लगातार गुमाउँदा उपविजेतामा चित्त बुझाउनुपर्यो । प्रकाश माविका खेलाडीको कमजोरीको मौका शिख माविका खेलाडीलाई अवसर मिल्यो । दुई सेट गुमाउँदा समेत शिखका खेलाडीले कठिन परिस्थितीमा गरेको पुनरागमनलाई अन्तिम सेटसम्म निरन्तरता दिए ।
पहिलो सेटमा ७–२५ को फराकिलो अन्तरले पराजित भएको शिख मावि दोस्रो सेट १८–२५ अंक बटुल्न सफल भए पनि तेस्रो सेटमा भने २५–२२ को जित निकाल्न सफल भयो । तेस्रो सेट जितेपछि खेलाडीको खेलको शैली परिवर्तन र योजनाबद्ध तालमेलका कारण शिख माविले चौथो सेटमा २५–२० र अन्तिम सेटमा १५–१२ पछि पादैं चमत्कारी खेल प्रर्दशन गदैं उपाधि चुमेको हो । प्रतियोगितामा बिजेता र उपविजेतालाई छात्रछात्रा टोलीलाई गण्डकी प्रदेशसभाका सांसद हरि भण्डारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
त्यस्तै जिल्लामा पहिलो आयोजना भएको शिक्षक÷शिक्षिकाको भलिवल प्रतियोगितामा शिक्षक तर्फ मंगला गापा–२ बाबियाचौर स्थित डनिङ आवसिय माविले नगद २० हजारसहित ट्रफि पहिलो बनेको छ । शिक्षक तर्फ बेनी नपा–९ तोरिपानी स्थित गलेश्वर मावि उपविजेता बन्दै नगद १० हजारमा चित्त बुझाएको छ । त्यस्तै शिक्षिकातर्फ बेनी नगरपालिका–७ महरानीथान स्थित माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित शिख माविका शिक्षिकाहरुले२० हजार सहित उपाधि जितेका थिए । उपविजेता माउण्ट एभरेष्ट आवसीय माविका शिक्षिकाले नगद १० हजारसहित ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय बिच भएको मैत्रीपूर्ण भलिबलमा विजेता जिल्ला प्रहरीलाई नगद १० हजार पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा छात्रातर्फ शिख माविकी कमला पाइजा र छात्रतर्फ प्रकाश माविका प्रेमबहादुर विक सवोत्कृष्ट घोषित भएका थिए । उत्कृष्ट खेलाडीलाई महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, मुख्य प्रायोजक गौमती विकास कोषका सन्दिप खत्रीले नगद ५ हजार सहित ट्रफी प्रदान गरेका थिए । त्यस्तै प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो । प्रतियोगितामा शिक्षकतर्फ २०, शिक्षिकातर्फ ९ र छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालय सहभागि भएका थिए । म्याग्दी जिल्लाको विद्यालयस्तरमा रहेका भलिबल खेलाडीको खेल पहिचान तथा नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउन प्रतियोगिताको आयोजना गरिएको भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।





