बागलुङ/बाक्लो बस्ती बसाइँसराइले पातलो भएको छ । केही वर्ष पहिलेसम्म रैथाने बाली लहलह झुल्ने खेतबारी बाँझै छन् । बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ? बलिया–बाङ्गा विदेशिएका छन्, बुढाबुढी र केटाकेटी गाउँमा छन् । जसोतसो खेती लगाऊँ न त भने घरघर डुल्ने बाँदरबाट जोगाउनै मुस्किल । बागलुङका अधिकांश गाउँको साझा पिरलो नै यही छ ।
गाउँमा बाँदरबाट खेती जोगाउन र बाँझो जग्गाको उपयोग गर्न खोज्नेहरु पनि बाँकी नै छन् । तर, भरपर्दो उपाय सुझेको छैन । प्रयोग भने भइरहेको छ । बाँदरले नखाने खेती के हुन्छ भन्ने खोजी भइरहेको छ । यही उपक्रममा बागलुङ ९, तित्याङको उच्च भेगका किसानहरु अहिले ओखर र किबी खेतीमा किसान तानिएका छन् ।
किसानको मागलाई बुझेर बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा नगरका पाँच वडामा ओखरखेतीको सुरुवात गर्दैछ । यो वर्ष नै एक हजार ३ सय ५० बिरुवा किसानलाई उपलव्ध गराइने बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए । बजारमा दाँते ओखरको माग उच्च छ । स्थानीय बजारमै बजारीकरण गर्न सकिने भएकाले पनि किसानले ओखरको माग गरेको सापकोटा बताउँछन् । बागलुङ नगरपालिकाको वडा नं. ५ देखि ९ सम्म एक हजार ६ सय मिटरभन्दा माथिको भूभागमा खेती गर्नेगरी नगरपालिकाले योजना बनाएको छ ।
‘किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा ओखरखेती कार्यक्रम सञ्चालन गर्न थालिएको हो,’ सापकोटाले भने ‘अधिकतम बाँझो जग्गाको उपयोग गर्ने र किसानलाई आम्दानीसँग जोड्ने हाम्रो अभियान हो ।’
कास्मीरी थिनलेस जातको ओखर लगाउने तयारी छ । बैतडी जिल्लामा उत्पादन भएका बिरुवा बागलुङ ल्याएर लगाउने तयारी भइरहेको उनले बताए । ‘बाँदरले कम क्षति गर्ने भएकाले किसानको माग उच्च छ, हामिले कार्यक्रमलाई निरन्तरता दिने सोचमा छौं,’ सापकोटाले भने ।
ओखरसँगै किबी खेतीलाई पनि प्रवद्र्धन गरिने उनले बताए । यो वर्ष पाँच सय किबीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराइने छ ।
फलफूल प्रवद्र्धन कार्यक्रमका लागि नगरले २० लाख रुपैयाँ विनियोजन गरेको छ । कुल बजेटको ७० प्रतिशत नयाँ बाली बिस्तारमा खर्च गरिने छ । बागलुङ नगरपालिकामा जस्तै जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।
‘दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो,’ जैमिनी ३ का किसान प्रेमबहादुर छन्त्यालले भने, ‘मेरो बारीमा भएका दुईवटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् ।
यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीनभाइले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले १० लाख अनुदान दिएको हो ।





