बागलुङ/ राष्ट्रिय शहीद दिवस मनाइएको छ । बागलुङ नगरपालिकाको आयोजनामा सदरमुकाममा प्रभातफेरी र प्रवचन तथा शहीदको शालिकमा माल्यार्पण गरी दिवस मनाइएको हो ।
प्रजातन्त्रप्राप्तिका प्राण आहूति दिएका शहीदको सम्झनामा हरेक वर्ष माघ १६ गते राष्ट्रिय शहीद दिवस मनाउने गरिन्छ । राणा विरोधी आन्दोलनमा फाँसीको सजाय पाएका ४ शहीदलाई यो दिवसमा सम्मान अर्पण गर्ने चलन छ ।
शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द ठकुरीले राणा विरोधी आन्दोलनमा १९९७ साल माघमा फाँसीको सजाए पाएका थिए । त्यस्तै २००७ सालको वीरगंज आन्दोलनमा शहादत प्राप्त गरेका थिरबम मल्ललाई पनि नेपाल सरकारले शहीदको पद दिएको छ । उनीहरुको स्मृतिमा बागलुङमा श्रद्धाञ्जली सभा, प्रभातफेरी र प्रवचन कार्यक्रम गरिएको हो ।
बागलुङस्थित शहीद स्मृति पार्कमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा कर्मचारीले दिवस मनाएका हुन् । बागलुङ नगरपालिकाबाट सुरु भएको प्रभातफेरी वडा नं. १ रामरेखाको शहीद पार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
उक्त कार्यक्रममा शहीदलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले राज्यका लागि केही दिन सक्नु नै मानव जीवनको सार्थकता भएको बताए ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख राजु खड्काको स्वागत र नगर शिक्षा अधिकृत गौरव रानाको संचालनमा भएको कार्यक्रममा नेकपा माओवादी गण्डकी प्रदेशकी सचेतक कुशुम बुढा मगर, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मन्तव्य राखेका थिए । २०५४ सालमा गठन भएको बागलुङ नगरपालिकाको संस्थापकहरुले रामरेखा सामुदायिक वन क्षेत्रमा जग्गा लिएर शहीद पार्क निर्माण गरेका थिए । पार्कमा ५ शहीदको शालिक राखिएको छ ।





