पोखरा/ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार तस्करको नियन्त्रणमा रहेको आरोप लगाएका छन् ।
उनले तस्करले नै राज्य चलाएको हुनाले नै सरकार लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको पनि जिकिर गरे ।
‘हाम्रो १७ खर्बको बजेट हो । १३ खर्व बढी राजश्व उठाउन पर्छ तर अहिले ३५ प्रतिशत पनि राजश्व उठ्न सकेको छैन,’ शनिबार पोखरामा नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम प्रदेश सभालाई संवोधन गर्दै गुरुङले भने,‘ चुनावको समयमा यिनीहरुले भ्रष्ट र तस्करसँग साठगाँठ गरे । सबै ठाउँमा सेटिङ गरे अनि राजश्व उठ्न नसक्दा अर्थतन्त्र चलायनमान हुन सकेन ।’
गण्डकीमा संस्थापक मुख्यमन्त्रीसमेत रहेका उपमहासचिव गुरुङले
उनले नेकपा नेतृत्वको सरकार हुँदा ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर रहेको तर त्यसलाई वर्तमान सरकारले ध्वस्त बनाएको पनि बताए ।
सोही कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले अहिलेको सरकारका गलत आर्थिक नीतिका कारण देश मन्दीमा गएको जिकिर गरे । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण लिएर तलब खुवाएको बताउँदै उनले सरकार नै उधारोमा चलेको टिप्पणी पनि गरे ।
‘राजश्वमा सेटिङ भइरहेको छ । सरकारले राखेको लक्ष्य अनुसार राजश्व संकलनमा हुनेमा शंका छ,’ डा. खतिवडाले भने,‘अर्थतन्त्र चलायमान हुन नसक्दा सरकारले निर्माण व्यवसायी देखि कृषि अनुदान, बीमामा अनुदान दिन सकेको छैन ।’
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिवबहादुर कोइरालाले निजी क्षेत्रलाई संकुचित बनाएर देश अगाडि नबढ्ने बताए ।





