पोखरा / क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेलमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्यो ।
नेपालका ओपनर कुशल भुर्तेल १३ रनमै आउट हुन पुगेका थिए । कुशल आउट हुनु अघिसम्म नेपाल ४५ रनको स्थितिमा रहेको थियो ।
तर दोस्रो विकेटका लागि आएको भीम सार्की । अनिल कुमार शाहले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।
यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वे विरुद्ध कुशल भुर्तेल र असिफ शेखको नाममा रहेको थियो । उक्त खेलमा पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।
अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने, भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पुरा गरे । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।
नेपालका डेब्युटेन्ट हेमन्त जिसीले ३ विकेट लिए भने कुशल मल्लले २ तथा पवन सरार्फ, आकाश चन्द र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।





