पोखरा / सामान्यतयाः म्याराथनका लागि दूरी पार गर्ने समय ६ घण्टाको हुन्छ । तर, पछिल्लो समय समयको निर्धारण फरक–फरक हुने गर्दछ सो अनुसार चार घण्टासमेत भनिने गरिन्छ । धावकहरुले दुई घण्टा ३५ सेकेण्डमा दूरी पार गरेको रेकर्डसमेत छ । जुन केन्याली धावकको नाममा रहेको छ । २०२३ मा सिगागो म्याराथनमा केल्भिन किप्टमले उक्त रेकर्ड राखेका हुन् । यो त भया,े युवाहरुको लागि । विश्व रेकर्डर केल्भिनको केही समय अघिमात्रै कार दुर्घटनामा मृत्यु भएको छ ।
दुई घण्टामा दूरी पार गर्ने होडबाजी विश्वमा चलिरहँदा पोखरामा भने साढे सात घण्टामा दूरी पार भएको छ । सुन्दा अचम्म लागे पनि यो सत्य हो । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा साढे सात घण्टामा निर्धारित ४२.१९५ किलोमिटरको दूरी पार गरिएको छ । तर, यो कुनै युवाले पार गरेको दूरी भने होइन् । रिटायर्ड जीवन बिताइरहेका पूर्वखेलाडी ७५ वर्षीय खड्ग रानाभाटले पार गरेको समय हो । युवाहरुलाई खेलकुदमा लाग्नुपर्छ भन्ने सन्देशका साथ रानाभाटको यो शाहसी कार्य गरेका हुन् । उमेर ढल्किए पनि उनको अठोटले त्यो सम्भव भएको हो । उनी युवाहरुले आँट गर्न नसक्ने म्याराथनमा सहभागी मात्र भएनन्, दूरी नै पूरा गरे ।

आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च तथा पोखरा म्याराथनका संस्थापकसमेत रहेका रानाभाटले दूरी पूरा गर्दा गौरव महसुस गरेको सुनाए । म्याराथन बिहान सात बजे सुरु भएको थियो । रानाभाटले दूरी पूरा गर्दा साढे दुई बजेको थियो । उमेरले नेटो काटे पनि आफैंले जन्माएको म्याराथनमा सहभागी भएर युवाहरुलाई म्याराथनप्रति आकर्षित गर्न चाहेको उनले बताए । रानाभाटले आफ्नो परिवारको नाममा म्याराथनको गण्डकी प्रदेशतर्फको विजेताको पुरस्कार ५० हजार रुपैयाँसमेत सहयोग गरेका छन् । उनले म्याराथनले आफ्नो स्वास्थ्यको समेत जाँच गरेको सुनाए ।
१९७२ को म्युनिक ओलम्पिक छनोटको समयमा र १९७४ मा काठमाडौंमा दौडिएका थिए । त्योबाहेक एभरेष्ट म्याराथन, लुम्बिनी म्याराथन, अन्नपूर्ण म्याराथन समेत दौडिएका छन् । युवाहरुका लागि प्रेरणा रहेको र ७५ वर्षको मान्छेले दूरी कटाउँदै गर्दा युवा उमेरकाले दौडिएमा खेलाडी उत्पादन हुने उनको भनाइ छ ।
‘यो म्याराथन, आफ्नो म्याराथन हामीले हुर्काएको म्याराथनमा म नदौडने हो भने मलाई मनले मानेन् । ७५ वर्षका मान्छेले पनि म्याराथन दौडियो भने कम्तिमा भर्खरका उमेरका मान्छेहरुलाई प्रेरणा मिल्छ,नयाँ खेलाडी जन्मिँदा त्यसको श्रेय भूपू खेलाडी मञ्चले पाउनेछ । त्यसकारण पनि मैले आँट गरेर दौडिएँ,’ उनले भने ।
खेलाडीमा अघि बढ्न चाहना हुने र पछाडी हट्न नचाहने उनले बताए । ‘पाँच किमी त जो पनि दौडिन सक्छन् । मेरो यो उमेरमा मैले टेष्ट पनि गरेको हुँ म कत्तिको फिट छु भनेर । फिट नै रहेछु,’पाका उमेरका खेलाडीको लागि तय गरिएको ५ किलोमिटर दौड नरोजेका उनले भने,‘यो दौडले आम नागरिकमा के सन्देश जान्छ भन्ने ठूलो कुरा हो । आखिर ७५ वर्षसम्म पनि दौडिन सक्छ भन्ने कुरा त प्रमाणित भयो नि । हामी स्वास्थ्यलाई ख्याल ग¥याँै भने सकिँदो रहेछ ।’
केन्याली धावकको दबदबा
म्याराथनमा केन्याली धावकहरुले आफ्नो दबदबा कायमै राखेका छन् । १६ औं संस्करणदेखि पोखरा म्याराथनमा केन्याली धावकहरुले उपाधिमा दबदबा कायम गर्दै आएका छन् । यसपटकसमेत केन्याकै पोल्टामा उपाधि रह्यो । जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो हुँदा इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दूरी पार गरी तेस्रो भए । तीनै जना केन्याका हुन् ।
किप्लीगाट १७ औं सस्करणका विजेता थिए । त्यस्तै नेपाली धावक किरणसिंह बोगटी चौथों स्थानमा रहे । उनले २ घण्टा २३ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे । किरणले नेपालगंजमा दुई घण्टा २५ मिनेटमा दौड पूरा गरेका थिए । यस्तै बंगलादेशमा दुई घण्टा २४ र पोखरामा म्याराथनमा दुई घण्टा २३ मिनेटमा दूरी पुरा गरेको बताए । किरणले आफ्नो टाइमिङमा सुधार गरेको सुनाए । उनीहरुले क्रमशः ५ लाख, ३ लाख, २ लाख र ३० हजार नगद हात पारे ।


त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै नगद १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दूरी पार गरेकी फुलमती राना चौथो भइन् ।





