पोखरा / पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बोल्न माहिर छन् । एमालेको भातृ संगठन अखिलबाट राजनीति सुरु गरेका,लायन्स क्लबको शीर्ष नेतृत्वमा पुगेका आचार्यले मेयर भएपछि पनि बोल्न छाडेका छैनन् । फरक यत्ति छ,लायन्समा हुँदा हरेक बोलीमा ताली पाउने यी नेताले आजकल गाली सहनु परेको छ । २०७९ साल जेठ १२ गते फूल रोपेर कार्यकाल सुरु गरेका मेयर आचार्यले जनताबाट ताली र फूलको अपेक्षा नगरेका पनि हैनन् तर त्यस्तो भएको छैन ।
‘दिनमै मैलेमात्र चलाउने र गुनासाहरु पठाउनकै लागि सार्वजनिक गरेको मोवाइलमा दिनकै ६०÷७० वटा गुनासा आउँछन्, सडकका खाल्डाको फोटो पठाउँदै कहिले टालिन्छ भन्ने प्रश्न राख्छन्,’आइतबार राष्ट्रिय समाचार समितिले पोखरामा आयोजना गरेको सार्वजनिक कार्यक्रममा उनले भने,‘फेवातालको कुरा निकाल्छन् अनि कट्टु लगाएको छ कि छैन भन्ने प्रश्न गर्छन्, आलोचना पनि स्वस्थ तरिकाले गरे हुन्थ्यो नि, हेल्लो सरकारबाट पनि ३०÷३५ वटा उजुरी आएकै हुन्छन् ।’
उनी त्यत्तिकैमा रोकिएनन् । पृथ्वी राजमार्गको स्तरोन्नतिको काम ढिला भएपछि आफूले काम अगाडि बढाउन पहल गरेको तर त्यसमा पनि नकारात्मक टिप्पणी आएको उनले सुनाए ।
‘काम नभएपछि झण्डै पश्चिम खण्ड ( कोत्रेदेखि पोखरासम्म) को ठेक्का टर्मिनेट ( रद्ध) हुने अवस्थामा थियो,प्रकाश ज्वाला मन्त्री र म मेयर नभएको भए, टर्मिनेट नै हुन्थ्यो,’उनले भने,‘ठेक्का रद्ध भए यो काम फेरि ५ वर्ष धकेलिन्थ्यो,मैले फोटोसहित अब बन्ने भयो भन्ने कुरा लेखेँ, त्यहाँ पनि आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर बाटो बनाउने तँ को होस् भन्ने प्रश्न गरियो ।’
विवादित बनेको महेन्द्रपुलको झण्डा पार्कको विषयमा भएका टिका–टिप्पणी नबुझेर गरिएको पनि उनले बताए । ‘हामीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्धेश्यले त्यहाँ विद्यार्थीलाई इतिहास पठाउने गरी संरचना बनाएका छौँ,काम हेरेर विरोध गरे त हुने नि ।’ उनले भौतिक विकासमात्र सवै कुरा हैन भन्ने ठानेर महानगरले विभिन्न संस्कृति एवं खेलकुदको विकासको क्षेत्रमा खर्च गरेको तर त्यहाँ पनि विरोधले नछाडेको दुखेसो गरे । ‘ पोखरामा यत्रो म्याराथन भएको छ,फुटबल भएको छ,बाह्र भैरवको नाच भएको छ,बालन लोप हुन लागेको छ, यस्ता संस्कृति र खेलकुदको विकासमा महानगरले अपनत्व लिनुपर्दैन,’उनले प्रश्न गर्दै भने,‘त्यहाँ पनि किन पैसा खर्च गरेको भन्ने गुनासो आउँछ ।’
यद्यपि, आएका उजुरीहरुको तत्काल संवोधन गर्ने गरेको उनले जिकिर गरे । प्रक्रियागत रुपले अगाडि बढ्दा केही गुनासाहरु समयमै संवोधन गर्न नसकिएको पनि उनले स्वीकारे ।
स्वच्छ आलोचनाको पक्षपाति भएको बताउँदै उनले आफूलाई बन्द कोठामा बस्ने, त्यहीँबाट निर्णय गर्ने र प्रश्नदेखि भाग्ने व्यक्तिको रुपमा नबुझ्न आग्रह पनि गरे ।
सकारात्मकभन्दा नकारात्मक समाचार बढी आएकोमा चित्त दुखेको चाहिँ उनले लुकाएनन् । त्यसो त, गाली गर्नको लागि उनले व्यक्तिगत रुपले नै मोवाइल नम्बर उपलब्ध गराएका छन् । महानगरबाटै ‘हेल्लो मेयर’ कार्यक्रम संचालनमा ल्याएका छन् र सार्वजनिक बहसमा पनि सहभागिता जनाउँदै आएका छन् ।





