बागलङ / चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले ‘चिल्ड्रेन लाईफ कप’ फुटबलको तेस्रो संस्करण गर्ने भएको छ । क्लबले अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता तीन बर्षदेखि गर्दै आएको छ । सोमबार पत्रकार सम्मेलन गरेर क्लबले उक्त जानकारी दिएको हो ।
फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने प्रतियोगितामा १५ विद्यालय सहभागि हु्ने अनुमान गरिएको क्लबका अध्यक्ष नवराज पौडेलले बताए । कक्षा १२ सम्मका विद्यार्थीले खेलमा भाग लिन पाउने व्यवस्था गरिएको खेलका लागि टिम दर्ता शुरु भैसकेको छ ।
२०७१ सालमा स्थापना भएको क्लबले शिक्षक र विद्यार्थीहरुको विद्यालय स्तरीय फुटसल, विद्यालय स्तरीय शिक्षकहरुको डबल व्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ ।
बाङगेचउर मैदानमा हुने खेलमा प्रथम हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ, नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । द्वितिय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै खेलमा बिधागत उत्कृष्ठ खेलाडी पुरस्कार समेत दिइने श्रेष्ठले जानकारी दिए ।
प्रथम पुरस्कारका लागि अमेरिका बस्ने सागर थापा र प्रकाश पौडेल तथा द्वितिय पुरस्कारलाई बेस्ट वान कन्सल्टेन्सी, राज्यलक्ष्मी सुनचाँदी गहना पसल, उपहार फेन्सी, राजकुमार केसी र दिपक रिजालले सहयोग गर्ने भएका छन् । खेलमा जिल्ला भित्रका विद्यालय मात्र सहभागि हुने व्यवस्थापन मिलाइएको छ ।
खेलका लागि क्लबले ४ लाख २४ हजार रुपैयाँको लागत अनुमान गरेको छ ।





